कोरोनालाई परास्त गरेर कैलालीका युवक पनि अस्पतालबाट घर फर्किँदै

काठमाडौँ– कोरोना संक्रमणको तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि कैलालीको लम्कीका युवालाई अस्पतालबाट डिस्चार्जको तयारी भइरहेको छ।

लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकलाई १६ दिनपछि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्जको तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।

दोस्रो र तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमित भएर निको भएकाहरुको संख्या चार पुगेको छ।

तीनजना स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् भने कैलालीका युवालाई डिस्चार्जको तयारी भइरहेको छ।

नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको छ। उपचाररत २७ जनाको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । – देश सञ्‍चार