कोरोना संक्रमितलाई १५ दिनभित्र ४४ प्रकारका औषधी

नयाँ सन्दर्भ
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न आवश्यक ४४ प्रकारका औषधीको सूची तयार गरेको छ । कम्तिमा १५ दिन सघन उपचार कक्ष (आइसीयू) मा राख्नुपर्दा कोरोना संक्रमितका लागि यी ४४ थरीका अत्यावश्यक औषधी प्रयोग गर्नुपर्ने छ । विज्ञ टोलीसँग छलफल गरेरै औषधीको सूची तयार पारेको मन्त्रालयले जनाएको छ । हालको अवस्था र पछि पर्न सक्ने आपत्कालिन अवस्थालाई दृष्ट्रिगत गरी सूची बनाइएको विज्ञ समितिका एक सदस्यले जानकारी दिए । मन्त्रालयले तयार पारेको सूचीलाई उच्चस्तरीय समितिले अनुमोदन गरिसकेको छ । आइसीयूमा राखिने बिरामीका लागि अत्यावश्यक औषधी अभाव हुन थालेकाले सो समस्या समाधान गर्न व्यवसायी र सरकारले कति परिमाणमा खरिद गर्ने भन्ने निर्क्यौल पनि यही सूचीका आधारमा गरिने मन्त्रालयस्रोतले जानकारी दियो ।
तत्कालका लागि कम्तिमा १,००० संक्रमितलाई पुग्ने गरी औषधी राख्न विज्ञ समितिले सरकारी अधिकारीहरूलाई सुझाव दिएका छन् । संक्रमितका लागि अत्यावश्यक यी अधिकांश औषधी नेपालमा बन्दैनन्। उत्पादन हुने गरेका केही औषधी तत्काल बनाउनका लागि पनि अहिले आवश्यक सामग्री (कच्चापदार्थ) पर्याप्त नभएको औषधी उत्पादक कम्पनीहरूले जानकारी गराएका छन् । अहिलेसम्म कोरोना भाइरसविरूद्धको खोप या कुनै औषधी बनिनसकेकाले विश्वभरका चिकित्सकहरूले संक्रमितमा देखिइने लक्षणका आधारमा औषधी चलाउने गरेका छन् । अहिलेम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । त्यसमध्ये २८ जना अस्पतालमै उपचाररत छन् । उपचाररत अधिकांशको स्वास्थ्य अवस्था सामान्य नै छ । गत माघ १० गते पहिलोपटक नेपालमा चीनबाट आएका व्यक्तिमा कोरोना संक्रमित रहेको पुष्टि भएको थियो । ती संक्रमित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । ९ चैतमा काठमाडौँकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो । उनी फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा काठमाडौँ आइपुगेकी थिइन् । संक्रमणको तेस्रो केस गत ११ चैतमा देखिएको थियो । युएईको सारजाहबाट एयर अरेवियाको उडानबाट गत ६ चैतमा काठमाडौँमा ओर्लेका धादिङका ३४ वर्षीय पुरुष संक्रमित पाइएका थिए । अहिले दोस्रो र तेस्रो संक्रमित टेकु अस्पतालमा उपचाररत छन् । चौथो संक्रमित धनगढीका हुन् । ३४ वर्षीय ती पुरुष गत ७ चैतमा दुवईबाट भारतको नयाँ दिल्ली हुँदै काठमाडौं आएका थिए । उनमा संक्रमण भएको १४ चैतमा थाहा भएको थियो । पाँचौ संक्रमित बेल्जियमबाट आएकी बाग्लुङकी १७ वर्षीया युवती हुन् । उनीसँगै आएकी ६५ वर्षीया वृद्धालाई २० चैतमा संक्रमण भएको थियो ।२२ चैतमा कैलाली २ र कञ्चनपुरका १ गरी थप ३ जनामा कोरोना संक्रमण भएको पाइएको थियो । संक्रमितमध्ये दुईजना भारत र एकजना धनगढीकै स्थानीय महिलामा भएको पाइएको थियो । तर हाल सम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित (३१ जना) भइ अस्पतालमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।