नकुल काजीदेखि गौंथलीको बाऊसम्म
द्रोण अधिकारी “गुयेली”
भद्रपुर १०, चन्द्रगढी झापा ।
वि.सं. २००२ साल मङ्सीर २९ गते साँगादिन ताप्लेजुङ्मा जन्मिएका नकुलकाजी नेपाली साहित्य लेखनमा वि सं २०१९ सालमा यौवन तृष्णा कविता संग्रह मार्फत देखा परेका साहित्यिक सर्जक हुन् । पेशाले पत्रकारिता रोजेका काजी विज्ञान विषयमा स्नातक भए पनि नेपाली भाषा साहित्यको उत्थानमा जीवनको उत्तराद्र्द चरणमा पनि उत्तिकै सक्रियताका साथ लागि रहेका छन् । २०१९ को यौवन तृष्णादेखि २०६९ सालको गणतन्त्र र गौंथलीको बाऊ (निबन्ध संग्रह) सम्म आइपुग्दा काजीले डेढ दर्जन पुस्तककार कृति नेपाली साहित्यलाई उपहार दिइ सकेका छन् । काजीका हालसम्म प्रकाशित कृतिहरुको सूचिलाई हेर्ने हो भने यौवन तृष्णा (कविता संग्रह २०१९ ) जीवन प्रश्न (कथा संग्रह) , मुना (खण्काव्य २०२०) सागर (उपन्यास २०३५), समस्या (उपन्यास २०२५), शान्ति, (उपन्यास २०३६), गौरी (उपन्यास २०२७), विद्रोह बोल्छ (खण्डकाव्य २०३७), मेरो देशको कविता (कविता संग्रह २०३६), सगरमाथाको शान्ति सन्देश (२०३१), युद्धको दुव्र्यसन (कविता संग्रह २०६६) क्रान्तिको पहिलो चरण (उपन्यास २०६८) र गणतन्त्र र गौंथलीको बाऊ ( निबन्ध संग्रह २०६९) जस्ता गहकिला कृति नेपाली साहित्य जगतमा आइसकेका छन् ।

वि.सं २०२२ सालमा भारतको दार्जीलिङबाट पुष्प–पल्लव साहित्यिक पत्रिका मार्फत पत्रकारिता आरम्भ गरेका काजीले एक दर्जन साहित्यक तथा समचार पत्रपत्रिकाको सम्पादन प्रकाशन गरी सकेका छन् । पछिल्ला केही वर्ष यता व्यवसायिक पत्रकारिताबाट अलग्गिएर विशुद्ध साहित्य एवम् धर्म संँस्कृति र नेपाली मौलिक कलाको अध्ययन अनुसन्धानमा रहेका काजी वि.सं २०२७ सालदेखि झापा जिल्लामा व्यवसायिक पत्रकारिता शुरू गरेर महा—विद्यालयका रूपमा रहन पुगे । स्तरीय भाषा , चोटिलो व्यङ्ग्य, समसामयिक विकृति विसंगतिप्रति प्रहार गर्न खप्पिस काजी राष्ट्रवादी स्वर उराल्ने शसक्त सर्जकका रूपमा आफूलाई दर्याउन सफल स्रष्टा हुन् । पछिल्लो समय पूर्वी तराइको सन्थाल समुदायमा आधारित प्रगतिशील आञ्चालिक परिवेशको उपन्यास लेखेर चर्चा बटुलेका काजीको क्रान्तिको पहिलो चरण एकचालीस वर्षको अन्तरालमा नेपाली साहित्यमा विशुद्ध नेपाली माटो , जाति सँस्कृति र पेशाको आख्यानलाई समेटिएको उपन्यास पनि हो । यो उपन्यास प्रकाशनको एक वर्ष नवित्दै आएको अर्को नयाँ कृति र्हो गणतन्त्र र गौंथलीको बाऊ’ । हाँस्यव्यंग्य निबन्ध संग्रहका रूपमा आएको यस कृतिले नेपाली समाज र राजनीतिक अवस्थाको चित्रण गरेको छ । विकृत रूपमा अलमलिएको नेपाली राजनीतिले बाटो बिराएको प्रति व्यंग्यात्मक प्रहार गरी तयार भएको यस कृतिले लोकतन्त्रान्त्रि गणतन्त्रमा नागरिक अधिनायकवादी शासकबाट शोषित हुनु पर्ने विडम्बनालाई चित्रण गर्ने प्रयास समेत गरेको छ ।

अरू धेरै कृतिहरू छापिएका भए पनि पत्रकार , उपन्यासकार, कवि , समीक्षक तथा व्यङ्ग्यकार नकुल काजीको ‘गणतन्त्र र गौथलीको बाऊ’ नामको यो कृति नै पुस्तकको आकारमा निस्केको पहिलो हाँस्य र व्यङ्ग्यको संग्रहित कृति हो । यसमा काजीका २४ ओटा गद्य रचनाहरू छन् । शीर्षकरहित अवस्थामा भए पनि शीर्षक दिएरै यही प्रकतिका रचनाहरू ‘विवेचना दैनिक’ र झापाका कतिपय छापाहरूमा पनि उनले लगातार लेख्ने गर्दै आएका हुन् । यस अर्थमा यी रचनाहरूको साइनो ‘विवेचना’ लगायतका झापाका दैनिक–साप्ताहिकहरुसंग पनि गाँसिन सक्छ । यो कृति २४ भाग लामो सिरियल वा श्रृङ्खला भएको एक धारावाहिक आलेख हो । २४ अध्याय लामो उपन्यास पनि हो भन्दा फरक पर्दैन । बेग्लाबेग्लै राखेर अध्ययन गर्दा पनि हुने तर भित्र भने एकै कथासूत्रले उनिएका यस संग्रहभित्रका यी रचनाहरू कथात्मक निबन्ध वा निबन्धात्मक कथाहरूका रूपमा पनि पाइन्छन् । यसमा वक्ता र श्रोताको आयोजना गरेर लेखिएको छ । लेखक तटस्थ छ , पाँडे र गौथलीको बाऊ यसका मूल पात्र हुन् । तिनको गतिविधिको द्रष्टा लेखक हो वा नकुल काजी हुन् । कृतिभित्र नाटकीयता पनि छ । यसको सूत्रधार गौँथलीको बाऊ हो भने दर्शक वा श्रोताको रूपमा यसमा पाँडे उपस्थित छ । नकुल काजीले उपस्थित गराएका छन् । यिनै पाँडे र गौथलीका बाऊका माझको तारतम्यबाट वा सम्वादात्मकताबाट व्यङ्ग्य धाराबाहिक र गतिशील हुन्छ । विषयवस्तु अघि बढ्दै जान्छ, उपन्यास बढ्दै जान्छ , निबन्ध बाटिदै जान्छन् ।
विषयवस्तुको कुरा उठाउँदा कुनै पनि साहित्यकार वा कवि कलाकार राजनीतिबाट विमुख हुनु सम्भव छैन । जुन देशको राजनीति जति स्वस्थ हुन्छ त्यस देशको कला–साहित्य पनि त्यत्तिकै चोखो र कलात्मक हुन्छ । राजनीति जति घिनलाग्दो हुन्छ उति नै कलासाहित्यमा पनि त्यो विकृतिको प्रभाव पर्दछ । चाहे सम्वादको प्रयोगमा होस, चाहे पात्रको स्वभाव, आनीबानी र बोली वचनमा नै किन नहोस, राजनीति कमीहरु र कलासाहित्यका साधकमा फरक कति हुन्छ भने कतिपय राजनीति कमीहरू देश, भाषा, कला, संस्कृति, पत्रकारिता आदिको क्षेत्रमा उन्नति र प्रगतिको दीर्घकालीन सोच राख्ने हुन्छन् भने कति कम पनि हुन्छन् । तर , कलाकार वा साहित्यकारहरूले त्यस्तो गलत राजनीति गर्नेहरुको राजनीतिक दुर्गन्धलाई व्यङ्ग्य मार्फत सुधर्ने काम गरेका हुन्छन् । चोखिन सचेत गराइरहेका हुन्छन् । अनि तिनलाई सचेत गराएर उभिन्डो काम नगर्न परोक्ष–प्रत्यक्ष सुझाइरहेका हुन्छन् । यही कुरा ‘गणतन्त्र र गौथलीको बाऊ’–मा नकुल काजीले उठाएका छन् । नकुलकाजीको यो कृति धारावाहिक रूपमा आएको औपन्यासिक निबन्ध संग्रह हो । दुई दर्जन हाराहारीमा साहित्यिक कृति नेपाली साहित्यमा दिएका काजीको विधागत रूपमा हेर्दा पहिलो निबन्ध संग्रह पनि रहेर्को गणतन्त्र र गौथलीको बाऊ’ व्यङ्ग्यहरुको संग्रह पनि हो ।
निष्कर्षमा भन्नु पर्दा दल निरपेक्ष साहित्यिक अभिव्यक्ति दिने नकुल काजी साहित्यका अन्य विधामा झै निबन्ध विधाको हास्यव्यङ्ग्य क्षेत्रमा पनि सफल देखिएका छन् । लेखन आरम्भ गरेको पाँच दशक पछि कृति प्रकाशन गरेका काजीर्को गणतन्त्र र गौंथलीको बाऊ’ झापाली व्यङ्ग्य निबन्ध साहित्यको अमूल्य कृति पनि बन्न सफल छ । यस कृतिले तत्कालीन नेपाली राजनीति भित्रको विकृति , विसंगतिलाई प्रहार गर्न सफल भएको छ ।