झापामा पहिलोचरणमा झण्डै ४० हजार परिवारलाई राहत सामग्री

झापा । झापा जिल्लामा पहिलो चरणमा अति विपन्न आर्थिक अवस्था भएका ३९ हजार ३६१ घरघुरीका लागि एक लाख ६० हजार ४१३ व्यक्तिलाई लक्षित गरेर राहत स्वरूप खाद्यन्न वितरण गरिएको छ । प्रति परिवार ७ देखि १२ दिन खान पुग्ने गरी सात लाख ३५ हजार ७४४ केजी चामल, ९२ हजार २०० केजी दाल, ५६ हजार १५९ केजी नुन, ३६ हजार २३८ लिटर तेल र २७ हजार ६८२ वटा साबुन राहत स्वरूप वितरण गरिएको हो ।

सदरमुकाम स्थित भद्रपुर ९ र १० नम्वर वडा कार्यालयले दैनिक ज्यालादारीमा गुजारा चलाउने अतिविपन्न वर्गका लागि पहिलो चरणमा ११ सय घरधुरीलाई खाद्यान्न राहत स्वरूप वितरण गरेका छन् । देश कोरोना संक्रमण त्रासका कारण लकडाउनमा रहेको अवस्थामा श्रमजीवि अतिविपन्न परिवारले वडा भित्र खाद्यान्न अभावले भोकै मर्ने अवस्था आउन नदिन नगर सरकारको विपत व्यवस्थापन कोष तथा स्थानीय संघ संस्था र दातासित सहकार्य गरी वडा नम्वर ९ ले ५ सय ५ परिवारका २१५० व्यक्ति लाभान्वित हुने गरी र वडा नम्वर १० ले ५ सय ६३ अति विपन्न परिवारका २३४४ व्यक्ति लक्ष्तित गरी दाल, चामल, नुन र तेल, साबुन लगायत आधारभूत आवश्यकीय सामग्री सहयोग स्वरूप वितरण गरेका हुन् । दुवै वडा साविकको चन्द्रगढी गाविसका अधिकाम्स वडा समेटिएका तथा दैनिक ज्यालादारी, सुकुम्बासी तथा विपन्नहरूको बाक्लो बस्ती भएका वडा हुन् । पहिलो चरणमा अति विपन्न गाँस बस्ने अवस्थाका परिवार टोल विकास संस्था मार्फत पहिचान गरी कम्तीमा १० दिन देखि १५ दिन खान पुग्ने गरी खाद्य सामग्री प्रदान गरिएको वडा कार्यालयहरूले जानकारी दिएका छन् ।
भद्रपुर ९ का कार्यवाहक वडाध्यक्ष राम दाहालका अनुसार नगर सरकारको विपत कोषबाट १ लाख ६७ हजार, वडा विपत कोषबाट ४० हजार, वडा भित्र रहेका विभिन्न सहकारी, वन समिति, उद्योग, व्यवसाय, सामाजिक संघ संस्थाबाट प्राप्त रकम जम्मा ३ लाख ३९ हजार वरावरको खद्यान्न राहत सहयोगका लागि वितरण गरिएको हो । वडा सदस्य नेत्रप्रसाद पौडेल नुतनका अनुसार आवश्यकताका आधारमा स्थलगत पहिचान पश्चात अति विपन्न वर्गका लागि मात्र राहत सामग्री वितरण गरिएको हो ।
यस्तै भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीका अनुसार नगरपालिकाबाट १ लाख ४८ हजार तथा विभिन्न संघ संस्था, दाता लगायतसित जुटेको सहयोगबाट २ लाख ३५ हजार १३० रूपैया गरी ३ लाख ८३ हजार १३० रूपैयाको खाद्य सामग्री राहत स्वरूप वितरण गरिएको छ ।
पहिलो चरणमा १० देखि १५ दिन पुग्ने गरी अति विपन्नका लागि टोल विकास संस्था मार्फत खाद्यन्न राहत स्वरूप बाँडिएको वडा सचिव मनकुमार डाँगीले जानकारी दिए । विभेद रहित पारदर्शी विधि मर्फत राहत संकलन र वितरण भएको समेत सचिव डाँगीको भनाइ छ । पहिलो चरणमा भद्रपुर नगरपालिकाको समग्र वडा क्षेत्रमा ४२३९ घर परिवारलाई राहत बाडिएको नगर प्रशासनले जनाएको छ । यसबाट १७ हजार व्यक्ति लाभान्वित भएको जनाइएको छ ।
लगकडाउन कहिलेसम्म लम्बिने हो ? निश्चित नभएकाले दैनिक ज्यालादारीमा जीविका चलाउने सुकुम्बासी तथा सर्वहारा श्रमजीविको अवस्था दयनीय बन्दै गएपछि केही दिनका लागि स्थानीय सरकारले चुल्हो बाल्ने वातावण बनाइ दिए पनि आगामी दिन झन कष्टकर बन्ने देखिएको छ । कसलाई कति सहयो जुटाउने ? भन्ने अन्यौलता थपिदै गएपछि स्थानीय सरकार एक्लैको पहलले मात्र भोकमारी थाम्न नसक्ने अवस्था आएको हो । जनप्रतिनिधिहरू अब भोकमारी रोक्न टोल छिमेकनै अगाडि बढ्नु पर्ने अवस्था आएको बताउँछन् । गरी खाने वर्गका विपन्न परिवारका व्यक्तिहरू काम बन्द भएपछि बाँच्नका लागि सरकारी ढोकाको विकल्प नभएको बताउने गर्छन् ।
यसैगरी झापाका स्थानीय तहले दोस्रो चरणको राहत बाँड्ने तयारी गरेका छन् । जिल्लाका पन्ध्र स्थानीय तहमध्ये गौरादह, शिवसतासी, मेचीनगर र कनकाई नगरपालिकाले बन्दाबन्दीको समयावधि बढेसँगै नगरभित्रका अति विपन्न समुदायलाई भोकमरी हुन नदिन तत्कालै दोस्रो चरणको राहत वितरणको तयारी गरेका हुन् ।
गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले दोस्रो चरणको राहत वितरणका लागि एक लाख २० केजी चामल, १० हजार केजी दाल, चार हजार लिटर तेल र चार हजार केजी नुनको बोलपत्र आह्वान गरिसकेको बताए । उनका अनुसार अब चार हजार परिवारलाई राहत वितरण गरिनेछ ।
शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बन्दाबन्दी लम्बिएकाले नगर कोषबाट पुनः राहत वितरणको तयारी गरिएको बताइन् । दाताहरूबाट समेत सहयोग आइरहेको उनको भनाइ छ ।
कनकाई नगरपालिकाले दोस्रो चरणको राहत वितरणका लागि ६० हजार केजी चामल, सात हजार केजी दाल, पाँच हजार लिटर तेल, सात हजार केजी नुन र सात हजार साबुनको बोलपत्र आह्वान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।
मेची नगरपालिकाले पनि दोस्रो चरणको राहत वितरणका लागि तयारी सुरू गरेको छ । नगरमा विभिन्न सामाजिक संस्थाहरुले सङ्कलन गरेका राहत सामग्री विपन्नका लागि सहयोग गर्न नगरपालिकालाई बुझाएका छन् । अन्य स्थानीय तहमा पनि आवश्यकता अनुसार दोश्रोचरणको राहत सामग्री वितरणका लागि तयारी भइरहेको जनाइएको छ ।