भद्रपुर ५ लाई अष्ट्रेलियाबाट ८० हजार सहयोग

भद्रपुर । भद्रपुर नगरको सवैभन्दा बढी विपन्न नागरिकको बसोवास रहेको भद्रपुर ५ नम्वर वडा कार्यालयलाई अष्ट्रेलियामा रहेका भद्रपुरका युवाहरूले ८० हजार नगद सहयोग गरेका छन् ।

अष्ट्रेलिया झापा सरोकार समाजका अध्यक्ष समेत रहेका भद्रपुरका युवा उमेश पोखरेल तथा समाजका सल्लाहकार भूपाल सिटौलाको पहलमा भद्रपुरका अष्ट्रेलियाबासीबाट संकलन भएको ८० हजार नगद रकम वडाका विपन्न वर्गका नागरिकको गाँस जुटाउन सहयोग गरेका हुन् ।
भद्रपुरका अष्ट्रेलियाबासीबाट जुटेको रकम उमेश पोखरेलका पिता बाशुदेव पोखरेलले नगर प्रमुख जीवनकुमार श्रेष्ठको रोहवरमा वडाध्यक्ष बन्धु कार्कीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमा नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल, सामाजिक व्यक्तित्व जगदिश जोशी, राजन भट्टराई, बाबुराम उपाध्याय लगायतको उपस्थिति थियो ।

सो वडामा १२ सय बढी घर परिवार अति विपन्न रहेका छन् । लकडाउन बढ्दै गएपछि ती परिवारले छाक टार्न नसक्ने अवस्था आएपछि वडा कार्यालयले दाता गुहार्न थालेको थियो । अधिकाम्स श्रमजीवि दैनिक ज्यालादारीमा जीविका चलाउने अति विपन्न नागरिक मेची नदी किनारामा सुकुम्बासीका रूपमा बस्दै आएका छन् । पछिल्लो पटक वडाध्यक्ष बन्धु कार्की, काँग्रेस क्षेत्रीय सभापति गणेश पोखरेल, सामाजिक अगुवा बाबुराम उपाध्याय लगायतले भद्रपुरका अष्ट्रेलियाबासीसित आर्थिक सहयोगको अपिल गरेपछि उमेश पोखरेल तथा भूपाल सिटौलाले नगद संकलन गरी पठाएका हुन् । ती युवाले नगर विपत कोषका लागि पनि आर्थिक सहयोग पठाउने बचन दिएको अभियान्ता बाबुराम उपाध्यायले जानकारी दिएका छन् ।