म भएको भए अहिले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँथें: प्रचण्ड
काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर जानुपर्ने कुरा आफूले गरेको दोहोर्याएका छन् । ‘राष्ट्रिय सहमति आवश्यक छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीकै नेतृत्वमा संयन्त्र बनाएर जान सकिने कुरा गरेको हो । त्यसो भन्दैगर्दा मैले साथसाथै के पनि भनेको छु भने मुख्य कुरा सरकार हो । सरकारले बनाउने संयन्त्र जो बनेको छ ठीक छ, त्यसले नै काम गर्नुपर्छ,’ प्रचण्डले भने, ‘तर राजनीतिक समझदारी र सहमति बनाउन प्रमुख प्रतिपक्षी दललगायतका दलहरूलाई पनि विश्वासमा लिएर जाने सन्दर्भमा मैले भनेको हो ।’ आफूले भनेका कुरा सरकारलाई आवश्यक छैन भन्ने लाग्छ भने जबरजस्ती गर्न नखोजेको उनले बताए । ‘मैले भनेका कुरा यदि सरकारलाई अहिले आवश्यक छैन भन्ने लाग्छ भने मैले फेरि जबरजस्ती गर्न खोजेको त होइन,’ उनले भने, ‘मैले भन्ने त फेरि त्यस्तो बन्ने हो भने पनि प्रधानमन्त्रीकै नेतृत्वमा हो है भनेको थिएँ । यदि म भएको भए त त्यसो गर्थें ।’ ‘सरकार हाम्रो अर्को अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा छ । उहाँलाई जे सजिलो लाग्छ त्यही गर्ने हो,’ उनले भने, ‘मुख्य कुरा राष्ट्रिय सहमति, राष्ट्रिय एकता बनाउन हामी सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’