भद्रपुरको समृद्धिसित जोडिएको भवन निर्माण नभई ५ वर्ष वित्यो

झापा । मृत स्वरूपको भद्रपुर नगरलाई चलायमान बनाउने उद्देश्यले तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाको नेतृत्व सरकारले चन्द्रगढीमा निर्माण थालनी गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभा गृहको निर्माण सुरू भएको ५ वर्षे अवधि पार गर्दा पनि आधा काम भन्दा अगाडि बढ्न सकेको छैन । गएको दुई आर्थिक वर्ष वजेट निकासामा सरकारले आनाकानी गर्दा निर्माण ठप्प छ भने यस आर्थिक वर्षमा पनि समयमा वजेट नआउँदा काम थानली नै नभइ रोकिन पुग्दा भवन निर्माणको अवस्था आधा काममा सिमित भएको हो ।

दोस्रो संविधान सभा निर्वाचनमा नेपाली काँग्रेस पहिलो दल भएपछि नेतृत्व गरेको काँग्रेस सरकारले लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण भूमिका रुपमा चन्द्रगढी स्थित ट्रेड युनियन चौक दक्षिणको जिल्ला समन्वय समितिको खाली जग्गामा अन्तराष्ट्रिय स्तरको भवन बनाउने निर्णय गरेको थियो । त्यस निर्णय बिरुद्ध तत्कालीन नेकपा एमाले झापाले कडा प्रतिवाद गरेर निर्माण आरम्भ नभई भवन निर्माण विवादमा परेपछि निर्माण हुने नहुने अलमल भएको थियो तर तत्कालीन स्थानीय विकास अधिकारी फणिन्द्र दाहाल र प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले राजनीतिक दलहरु बीच सहमति कायम गराएर सो भवन निर्माण कार्य अघि बढेको थिए ।
वि.स.२०७२ असार २८ गते शिलान्यास भएको सो भवनको शिलान्यास समारोहमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ का संसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार र नेकपा(एमाले) का प्रमुख सचेतक अग्नि खरेलको सामूहिक उपस्थितिमा भवन निर्माण सुरु भएपछि विवाद अन्त्य भएको सन्देश स्थानीय स्तरमा देखिएको थियो ।
अत्याधुनिक एवं अन्तराष्ट्रिय स्तरको निर्माण सम्पन्न हुने सो सभागृह .१२ करोड ७२ लाख ६९ हजार लागतम दुई वर्ष भित्र निर्माण कार्य पूरा गर्ने गरी प्रेरा–शाहा जेवी निर्माण कम्पनिले ठेक्का लिएको छ । नवनिर्मित भवनको लम्वाई ५३ मिटर र चौडाई ३४ मिटर रहने छ भने पहिलो तलामा ब्यावसायिक उद्देश्यका लागि २७ वटा कोठा, दोस्रो तलामा दुई वा तीन वटा बैंक अट्ने कोठा र तेस्रो तलामा सभाका लागि एक हजार मानिस अट्न सक्ने क्षमताको अत्याधुनिक सभा भवन बन्ने छ । संभवतः पूर्वाञ्चलमा सरकारी स्तरबाट यति बलियो भवन पहिलो पटक बन्न लागेको अनुमान छ । जसको ९६ वटा पिलर र प्रत्येक पिलर दुई फिट दुई इन्चको बर्गाकारमा फैलिएका छन् । सो भवन निर्माण गर्न तत्कालिन जिल्ला विकास समितिले सो स्थानलाई खाली गराउन करिव आठ महिना समय खर्चेपछि निर्माण कम्पनिले भवन निर्माण सुरु गरेको थियो ।
निर्माण कम्पनीले समयमा पाउनु पर्ने भूक्तानी नपाएकोले निर्माण काममा केही ढिला हुन गएको प्राविधिक पक्षको नियामक कार्यालयको भनाइ छ । भवन निर्माण कम्पनिका प्रोप्राइटर रञ्जित साहले तोकिएकै समयमा भवन निर्माण गर्न आफू दिनरात गरेर काम गरिरहे पनि केही प्राविधिक कारणले भवन निर्माणमा ढिलाई भएको जानकारी दिए । यसका लागि जिल्ला समन्वय समितिले बजेट निकासा र जग्गा खाली गराउन गरेको ढिलाईमा सुरूवातको समय विना कारण खर्च भएको उनको भनाइ छ । निर्माण अवधि पूरा भइसकेको तथा पटक पटक म्याद थप गरे पनि सरकारले भुक्तानी रोकेपछि काम सम्पन्न हुन नसकेको निर्मार्ण कम्पनीको भनाइ छ । अब वजेट निकाशा भए एक वर्ष समय थपको माग गरेको कम्पनीका सञ्चालक साहले जानकारी दिए । यस वर्ष कामको सिजनमा लकडाउन हुनु र वजेट निकासा नआउनुले निर्माण रोकिएको साहले जानकारी दिए ।
भवनले भद्रपुर नगरलाई नै बाह्य पर्यटकको केन्द्र बन्न भौतिक संरचनाका कारण आकर्षण गर्ने स्थानीय नागरिकले विश्वास व्यक्त गरेका छन् । भवनसंँग जोडिएर रहेको मेची रंगशाला र महेन्द्रपार्क नजिकै भएकोले थप आकर्षणका लागि भवन वरपर घेरावेरा हुनु पर्ने, पार्क बन्नु पर्ने, फरक ढंगका केही मौलिक संरचना बन्ने वातावरणका निम्ति राज्यले थप बजेटको व्यवस्था गर्नु पर्ने स्थानीय बताउने गर्छन् ।
नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल भन्छन् ः काँग्रेसले जितेर विगतमा झापा क्षेत्र नम्बर ३ मा केही गरेन भन्नेहरुले यस भवनको पूर्णता पछि के उत्तर देलान् ? हुलाकी सडक, मेची पुल र गिरिजाप्रसाद स्मृति सभा गृह निर्माणका लागि नेपाली काँगेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले खेलेको भूमिका विर्सनु नहुने पोखरेलले प्रष्ट पारे । विकासमा राजनीति गरेर आरोप प्रत्यारोप गर्ने परम्पराको अन्त्य हुनु पर्ने सन्देश दिएको यस स्मृति भवनले लोकतान्त्रिक आन्दोलनको सफलतापछि सहिद सुरज विश्वास र राजन गिरीको रगतले जनतालाई दिइएको एउटा सम्बृद्धिको सानो उपहारका रूपमा भद्रपुर नगरबासीले बुझेका छन् । भवन निर्माणमा गुणस्तरीयताको खवरदारी पनि अझै आवश्यकता महसुस गरिएको छ ।