‘शव नजिक जान सकेका छैनौं, अझै बमजस्तो देखिने वस्तु छ´
दाङ- बाख्रा चराउन गएका चार जना बालबालिकाको बम पड्किएर मृत्यु भएपछि रोल्पाको त्रिवेणी गाउँपालिका शोकमा डुबेको छ।
बिहीबार साँझ साढे ६ बजेतिर त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा बम पड्किएर चार बालबालिकाको मृत्यु भएको हो।
घटनास्थलमा बमजस्तो देखिने बस्तु अझै रहेकाले शवनजिक कोही पनि जान सकेको छैन। डिएसपी चित्रबहादुर गुरुङका अनुसार शुक्रबार बिहान घटनास्थलमा भेटिएको बिस्फोटक पदार्थकाे डिस्पोजल गरिने छ।
घटनास्थलमा पहिला स्थानीय बासिन्दा र जनप्रतिनिधि पुगे। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली पुगेकाे छ।
घटनास्थलमा पुगेका त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कविराज बुढाले शवकाे छेउमा बिस्फोटक पदार्थ अझै भएका कारण कोही पनि शवनजिक जान सकेका छैनन्।
‘एउटा मेसिनगनकाे गाेली जस्तो देखिने चम्किलाे बस्तु छ। शव नजिक गएका छैनौं´,उनले सञ्चारकर्मी सँग भने, ‘सेनाकाे टाेली आयो भने डिस्पाेजल गर्ने छ। हामीले सेनालाई पर्खिरहेका छाैं।’
बाख्रा चराउन गएका उनीहरुकाे बेलुका साढे ६ बजे बिस्फोटक पदार्थ पड्किँदा मृत्यु भएको हाे। त्रिवेणी-७ निवासी ११ बर्षीया विमला केसी, उनका ५ वर्षीय भाइ विजय केसी, १४ वर्षीय नाेखिराम डाँगी र त्रिवेणी-४ का १३ वर्षीय गाैरव नेपालीको ज्यान गुमेको वडाअध्यक्ष बुढाले जानकारी दिए। –देश सञ्चार