कोरोनालाई हराएर लकडाउनबाट बाहिर निस्कदै न्युजिल्याण्ड

एजेन्सी । अप्रिल २७ मा न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डनले वेलिङट्नमा संसदलाई सम्बोधन गरिन् । सम्बोधनका क्रममा उनले सोही दिन राति १२ बजेदेखि कोभिड(१९ को संक्रमण रोक्न गरिएको लकडाउन एक लेभल खुकुलो हुने बताइन् । न्युजिल्याण्डमा मार्च २३ देखि फोर्थ लेभलको लकडाउन गरिएको थियो । अत्यावश्यकबाहेक सबै व्यापार व्यवसाय बन्द थिए । हलभित्र र बाहिर गरिने सबै कार्यक्रममा रोक लगाइएको थियो । विद्यालय बन्द गरेर अनलाइन क्लास सुरू गरियो । केही सुपरमार्केट र औषधि पसलमात्र खोलेर नियमित दैनिक जीवन चलाइयो ।

लकडाउन गरेको पाँच सातापछि न्युजिल्याण्डले कोभिड(१९ लाई हराउने आफ्नो लक्ष्यमा सफलता पायो । तर अझै पनि न्युजिल्याण्डवासीले खुसीले उत्सव भने मनाउन सकेका छैनन् । पछिल्ला केही दिनदेखि त्यहाँ संक्रमित दोहोरो अंकमा पुगेका छैनन् । गत सोमबार न्युजिल्याण्ड कोरोनाका एक जनामात्र नयाँ संक्रमित भेटिए । ‘यसले हामीलाई कोरोनाभाइरस उन्मूलन गर्ने हाम्रो लक्ष्य पूरा भयो भन्ने आत्मविश्वास दियो । लक्ष्य भेटायौं भन्नुको अर्थ संक्रमितको संख्या शून्य नै भयो भन्ने नभइ हरेक संक्रमणप्रति शुन्यसहनशिलता भन्ने हो,’ प्रधानमन्त्री आर्डनले भनिन् । प्रधानमन्त्री आर्डनले पछिल्ला पाँच हप्ता गरिएको लकडाउनलाई न्युजिल्याण्डको आधुनिक इतिहासमै गरिएको सबभन्दा ठूलो रोकटोक भएको बताएकी छन् ।

मंगलबारदेखि लकडाउन खुकुलो भयो । झन्डै ४८ लाख जनसंख्या भएको न्युजिल्याण्डका चार लाख मानिस काम गर्न गए । आर्डनका अनुसार न्युजिल्याण्डको ७५ प्रतिशत अर्थतन्त्र फेरि चलायमान भयो । लकडाउन खुकुलो भएसँग न्युजिल्याण्डवासीले कफीसप, रेष्टुराँबाट खाना(खाजा किनेर घरमा ल्याउन पाएका छन् । महिना दिन लामो लकडाउनबाट बाहिर निस्कन पाउने भएपछि कफी र रेस्टुँरामा अर्डर गर्नेहरू लामो लाइन लाग्यो ।

न्युजिल्याण्डमा अहिलेसम्म १ हजार ४ सय ७२ मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने १९ जनाको ज्यान गएको छ । संक्रमितमध्ये ८२ प्रतिशत त निको भएर घर फर्किसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धेरैलाई लाग्छ , कोरोनाभाइरसविरूद्ध पाएको यो सफलतामा न्युजिल्याण्डले उत्सव मनाउनु पर्छ तर प्रधानमन्त्री आर्डनले भने नागरिकलाई अहिले उत्सव मनाउनुको साटो झन् चनाखो हुनु पर्ने बेला भएको बताएकी छन् । ‘हामी अझै खतराबाट बाहिर आइसकेका छैनौं,’ उनले भनेकी छन्,‘लेभल थ्री भनेको न्युजिल्याण्डवासीले गरेको अभूतपूर्व प्रयासले काम गर्‍यो कि गरेन भनेर हेर्ने बेला हो ।’

न्युजिल्याण्ड सुरूदेखि नै कोभिड(१९ विरूद्धको लडाइँमा कतै नचुकी काम गरेको थियो। त्यहाँ पहिलो संक्रमित फेब्रुअरी २८ मा भेटिएका थिए । समुद्रको बीचमा रहेको राष्ट्र भएकाले यहाँ विदेशी उडानको ट्रान्जिट पनि हुँदैन । अर्को कुरा अमेरिका र अष्ट्रेलियाजस्तो संघीयता त्यहाँ छैन यो एकात्मक शासन प्रणाली भएको देश हो । तर यी कारणलेमात्र न्युजिल्याण्डले कोरोनालाई हराउन सकेको होइन । उसले जे विधि अपनाएको छ त्यही विधि संसारका अरू कयौं मुलुकले पनि अपनाउन सक्थे, तत्काल काम थाल्ने, परीक्षणको दायरा फराकिलो पार्ने र प्रमाणित विज्ञानमा पूर्ण भर पर्ने । अरू थुप्रै देशले झैं न्युजिल्याण्डले पनि यसलाई रोक्न आवश्यक कदम नचाले महामारी फैलिने ठान्यो । तर कतिपय देश के गर्ने कसो गर्ने भनेर अलमलिए, न्युजिल्याण्डले तत्कालै काम थालिहाल्यो । मार्च १४ मा प्रधानमन्त्री आर्डनले विदेशबाट आएकाहरू दुई साता आइसोलेसनमा बस्नुपर्ने घोषणा गर्दा न्युजिल्याण्डमा जम्मा ६ जना कोरोना संक्रमित थिए । मार्च १९ मा उनले विदेशीलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइदिइन् । त्यतिबेला संक्रमितको संख्या २८ पुगेको थियो । मार्च २३ मा लकडाउन घोषणा गर्दा न्युजिल्याण्डभरि १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । ‘निर्णायक कदमहरू तत्कालै र कडा बनाइएकाले भाइरसको संक्रमणलाई रोक्यो,’ आर्डनले गत मंगलबार भनिन् ।

न्युजिल्याण्डले यति कडा कदम चाल्नुका पछाडि केही कारणहरू छन् । ‘हामीसँग अरू देशका तुलनामा धेरै इन्सेन्टिभ केयर बेड छैनन् । त्यही भएर प्रधानमन्त्रीले जतिसक्यो चाँडो कडा कदम चाल्नुभयो,’ अकल्याण्ड युनिभर्सिटीका माइक्रोबायोलोजिस्ट सिओक्सी वाइल्सले भने । संक्रमणको दर घटे पनि प्रधानमन्त्री आर्डनले लकडाउनलाई खुकुलो पारिनन् । न्युजिल्याण्डवासीले पनि कडाइका साथ लकडाउन पालना गरे। एउटा अध्ययनमा सहभागी ८७ प्रतिशतले सरकारले जे गरिरहेको छ ठीक गरिरहेको बताएका थिए ।

यो अवधिमा न्युजिल्याण्डले परीक्षणको दायरा निकै फराकिलो बनायो । अहिले उसले दैनिक ८ हजार जनाको परीक्षण गर्न सक्ने क्षमता बनाएको छ । अहिलेसम्म न्युजिल्याण्ड १ लाख ३० हजारभन्दा बढी मानिसको परीक्षण गरिसकेको छ । जबकी न्युजिल्याण्डभन्दा १३ गुणा धेरै जनसंख्या भएको बेलायतले साढे सात लाखभन्दा कमको मात्र परीक्षण गर्न सकेको छ । न्युजिल्याण्डले परीक्षणको दायरामात्र बढाएन, परीक्षण गर्ने उपकरण पनि भरपर्दा प्रयोग ग‍र्यो । विश्व स्वास्थ्य संगठनको आपतकालीन स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डाक्टर माइक रायनका अनुसार कुनै राज्य वा देशले गरेका परीक्षणमध्ये ९ प्रतिशत वा सोभन्दा कम पोजेटिभ केस देखिए भने त्यो देशले राम्ररी परीक्षण गरेको हुन सक्छ । न्युजिल्याण्डको पोजेटिभ केस भेटिने दर एक प्रतिशतमात्र थियो । यसको अर्थ त्यहाँ सरकारको राडारमा नपरेको समुदायस्तरको संक्रमण फैलिसकेको छैन भन्ने हो । अरू देशमा एक जना कोरोना संक्रमितले झन्डै २.५ मानिसलाई कोरोना सारेको देखिएको छ तर न्युजिल्याण्डमा भने यो दर ०.४ प्रतिशत छ । अर्थात् त्यहाँ दुई जना संक्रमितबाट एक जनामात्र मात्र संक्रमण थपिएको छ ।

प्रमाणित विज्ञानमा भर

ओटागो विश्वविद्यालयको जनस्वास्थ्य विभागका प्राध्यापक माइकल बेकरका अनुसार न्युजिल्याण्डबाट सिक्न सकिने पाठ भनेको प्रमाणित विज्ञान र सही नेतृत्वको मिश्रण हो । लकडाउनभरि प्रधानमन्त्री आर्डन नियमित पत्रकार सम्मेलनमा उपस्थित भइन्। पत्रकारले सोधेका कतिपय प्रश्नको उत्तर दिन उनले विज्ञ डाक्टरलाई सँगै राखिन् । ‘न्युजिल्याण्डमा प्रमाणित विज्ञान र सानदार नेतृत्वबीच अद्भूत संयोजन भयो। मलाई लाग्छ यी दुई सँगै हुँदा निकै प्रभावकारी हुन्छन्,’ बेकरले भने,‘न्युजिल्याण्डभन्दा निकै राम्रो विज्ञान र स्रोत र भएका अमेरिका, बेलायतजस्ता मुलुकले पनि त्यसको प्रभावकारी प्रयोग गर्न नसकेको देखेर मलाई साँच्चै दुस्खी बनाउँछ ।’ न्युजिल्याण्ड तत्कालका लागि कोरोना कहरविरूद्ध सफलता हासिल गरेको मुलुकमा रूपमा देखिए पनि उसले तत्कालै पहिलाको जस्तै सामान्य अवस्थामा फर्किने संकेत देखाएको छैन । सुरूआती सफलताका बाबजुद् पनि न्युजिल्याण्ड अहिले पनि लकडाउनमै छ। धेरै मानिसलाई अहिले पनि घरभित्र बस्नु भनिएको छ । ‘लेभल थ्री लकडाउन भनेको कोभिड(१९ पहिलाको जस्तै जीवनमा फर्किने भनेको होइन,’ प्रधानमन्त्री आर्डनले भनेकी छन्,‘त्यो दिन पनि आउला तर अहिल्यै आइसकेको छैन ।’