झापामा एक कोरोना पोजेटिभ, ‘ट्राभल्स हिस्ट्री’ खोज्ने कार्यलाई तिव्र पारिएको छ
नयाँ सन्दर्भ
भद्रपुर । एक वृद्धामा कोरोना पोजेटिभ देखिएपछि दमकको केही भाग सिल गरिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले सिल गर्ने निर्णय गरेको छ । शुक्रवार राती बसेको आपत्कालीन बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्नुपर्ने भएकाले दमक नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर सिल गरिएको छ ।
यसै गरी पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोला सम्म सिल गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यो चार किल्ला भित्र आवतजावत लगायत कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ, विज्ञप्तिमा भनिएको छ ।
साथै कोरोना संक्रमित वृद्धको ‘ट्राभल्स हिस्ट्री’ खोज्ने कार्यलाई तिव्र पारिएको छ । ‘ट्राभल्स हिस्ट्री’ खोज्ने कार्यमा प्रहरीसँगै स्थानीय जनप्रतिनिधी समेत लागेका छन् ।
दमक–३ मा बसोबास गर्ने वृद्धको परिवार, आफन्त, छिमेकीसँग संक्रमितका बारेमा सोधपुछ गर्ने काम भइरहेको छ । कोरोना संक्रमण पुष्टि भएका वृद्धको घरमा बुधबारमात्र मरिमराउको काम सकिएको थियो ।
संक्रमण पुष्टि भएका वृद्धको सासुआमाको १२ दिनअघि तेह्रथुममा निधन भएको थियो । आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदीसासु दमकस्थित उनको घरमा किरियामा बसेका थिए ।
काममा बस्ने क्रममा उनको घरमा सुनसरीबाट दिदीसासु सहित करीब ३५–४० जना भेला भएका उहाँहरु सबैको खोजीमा लागेका छन् । संक्रमण पुष्टि भएका वृद्धका छोरा गत चैत ४ गते दुवईबाट घर आएका थिए ।
यद्धपी उनको पिसिआर रिर्पोट भने नेगेटिभ आएको छ । वृद्धका श्रीमती, छोराको आरडीटी पोजेटिभ देखिएपछि आरडीटी नेगेटिभ आएको बुहारीको समेत गरी ४ जनाको श्वाव परिक्षण गरिएको थियो । जसमध्ये ती वृद्धको मात्रै पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो ।
सामान्य कृषि पेशा गर्ने त्यो परिवारमा कसरी कोरोना संक्रमण देखियो भन्ने बारे अन्योल नै रहेको दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताइन् ।
‘संक्रमित व्यक्ति अनावश्यक बाहिर निष्किएको पनि देखिएको छैन’ उनले भनिन् । उनले संक्रमित देखिएको क्षेत्र आसपासमा करिब चारसय जनामा आरडिटी परिक्षणको तयारी गरिएको जानकारी समेत दिइन् ।
‘परिक्षणका लागि आवश्यक किट अभाव छ’ उनले भनिन्, ‘त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरिसकेका छौँ ।’
हाल संक्रमित वृद्धको कोरोना अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनका श्रीमती, छोरा र बुहारीलाई भने दमकस्थित दमक अस्पतालको आइसोलेसन वाडमा राखिएको छ ।
सबैको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।