प्रथम अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताको तयारी पूरा
सन्दर्भ समचारदाता
भद्रपुर । कोशी प्रदेशको हक्की खेलको केन्द्र भद्रपुर ९ पुहातुवारीमा कार्तिक १३ गतेदेखि १५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पाँच साइड हक्की प्रतियोगिताको तयारी पूरा भएको छ ।
भद्रपुर नगर हक्की संघको आयोजनामा भद्रपुर ९ स्थित पुहातु जनज्योति माविको खेल मैदानमा कार्तिक १३, १४ र १५ गते नेपालका ७ र भारतका ३ गरी १० वटा टिमको सहभागितामा प्रतियोगिता सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा भएको हो ।
खेल आयोजक समितिले खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार भद्रपुर–९ स्थित पुहातु जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा भारतका पटना, असाम र कलकत्ताका एक एक गरी तीन, र नेपालका विभागीय ३, कोशी, गण्डकी र कर्णाली प्रदेशका एक एक तथा आगोजक एक गरी १० वटा टोलीको प्रतिष्पर्धात्मक सहभागी हुनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन समिति रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार ओमसाई पाथिभरा अस्पतालका अध्यक्ष दीपक पोखरेल र दोस्रो पुरस्कार जुनतारा कन्ट्रक्सनका प्रबन्धक राजकुमार राईले प्रदान गर्ने छन् भने तेश्रो पुरस्कार तेश्रो पुरस्कार स्थानीय सागर मिश्रले उपलब्ध गराउने जनाइएको छ ।
भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल प्रमुख अतिथि थिए । कार्यक्रममा संघका सल्लाहकार अनिल ढुंगानाले प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए भने नगर प्रमुख पोखरेल, पुरस्कार दाता राई र चनद्रगढी वन समूहका उपाध्यक्ष श्रीमननारायण पौडेलले शुभकामना मन्तव्य राख्दै कोशी प्रदेशको हक्की खेलको केन्द्रको पहिचान पाएको पुहातुवारीमा नेपालकै पहिलो अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हुनु भद्रपुर नगरको गौरव रहेको धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव खगेन्द्र ढुंगानाले गरेका थिए ।

स्थानीय युवायुवतीलाई खेलकुदप्रति आकर्षित गर्ने, युवतीहरूको शारीरिक स्वास्थ्यमा सुधार ल्याउने, लागुऔषध दुव्र्यसन तथा अन्य कुलत न्यूनीकरण गर्ने र खेलकुदका माध्यमबाट रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष बस्नेतले जानकारी दिए ।
उनका अनुसार भद्रपुर क्षेत्रमा हक्की खेलको विकाससँगै खेलाडी उत्पादनमा समेत प्रगति भएको छ । हाल सात जनाभन्दा बढी खेलाडी नेपाली सेनामा भर्ना भई त्रिभुवन आर्मी क्लबबाट हक्की खेलिरहेका छन् भने नौ जनाभन्दा बढी खेलाडी राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।
प्रतियोगिता सञ्चालनका लागि खेल मैदानको स्तरोन्नतिमा करिब १० लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय टोलीसहित १० वटा टिमको सहभागितामा आयोजना हुन लागेको प्रतियोगिताले भद्रपुरमा हक्की खेलको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेलकुद पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
