खेलकुदस्थानीय

भद्रपुरमा कार्तिक १२ गतेदेखि १५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण हक्की प्रतियोगिता हुँदै

भद्रपुर । कोशी प्रदेशको हक्की खेलको केन्द्र भद्रपुरमा कार्तिक १२ गतेदेखि १५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पाँच साइड हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।

भद्रपुर नगर हक्की संघको आयोजनामा भद्रपुर ९ स्थित पुहातु जनज्योति माविको खेल मैदानमा कार्तिक १२, १४ र १५ गते नेपाल, भारत र बंगलादेशका १२ वटा टिमको सहभागितामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

खेल आयोजक समितिको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार भद्रपुर–९ स्थित पुहातु जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा भारतका तीन, बंगलादेशको एक र नेपालका आठ गरी १२ वटा टोली प्रतिष्पर्धात्मक सहभागी हुनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन समिति रहेको जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ओमसाई पाथिभरा अस्पतालका अध्यक्ष दीपक पोखरेल र दोस्रो पुरस्कार जुनतारा कन्ट्रक्सनका प्रबन्धक राजकुमार राईले प्रदान गर्ने जनाइएको छ ।

 

भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल प्रमुख अतिथि तथा नेपाल हक्की संघकी महासचिव सुवर्णा श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिइन् । कार्यक्रममा संघका सल्लाहकार अनिल ढुंगानाले प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए भने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष रामप्रसाद दाहाल, हक्की संघकी महासचिव सुवर्णा श्रेष्ठ र नगर प्रमुख पोखरेलले शुभकामना मन्तव्य राख्दै कोशी प्रदेशको हक्की खेलको केन्द्रमा नेपालकै पहिलो अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हुनु भद्रपुरको गौरव रहेको धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव खगेन्द्र ढुंगानाले गरेका थिए ।

स्थानीय युवायुवतीलाई खेलकुदप्रति आकर्षित गर्ने, युवतीहरूको शारीरिक स्वास्थ्यमा सुधार ल्याउने, लागुऔषध दुव्र्यसन तथा अन्य कुलत न्यूनीकरण गर्ने र खेलकुदका माध्यमबाट रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष बस्नेतले जानकारी दिए ।

उनका अनुसार भद्रपुर क्षेत्रमा हक्की खेलको विकाससँगै खेलाडी उत्पादनमा समेत प्रगति भएको छ । हाल सात जनाभन्दा बढी खेलाडी नेपाली सेनामा भर्ना भई त्रिभुवन आर्मी क्लबबाट हक्की खेलिरहेका छन् भने नौ जनाभन्दा बढी खेलाडी राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।

प्रतियोगिता सञ्चालनका लागि खेल मैदानको स्तरोन्नतिमा करिब १० लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय टोलीसहित १२ वटा टिमको सहभागितामा आयोजना हुन लागेको प्रतियोगिताले भद्रपुरमा हक्की खेलको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेलकुद पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।