महाधिवेशन नीतिका लागि हो
सम्पादकीय
देश यस बेला नेपाली कांग्रेसको अधिवेशनमय भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रतिनिधित्व गर्ने जेठो पार्टी नेपाली काँग्रेस महाधिवेशनको भूमरीमा छ । महाधिवेशनलाई दल भित्रको आन्तरिक लोकतन्त्रको प्रदर्शन गर्ने मूल थलो मानिने गर्दछ । त्यही मान्यता अनुरूप यस दलमा आन्तरिक प्रतिष्पर्धा भइरहेको छ तर प्रतिष्पर्धी उम्मेदवारले आन्तरिक प्रतिष्पर्धाको भावना विपरित भिन्न दलसितको प्रतिष्पर्धाको शैलीमा महाधिवेशनमा प्रस्तुत गर्दै दल भित्रै अन्तरकलहको मार्ग निर्माणको प्रयास गर्नु हुँदैन ।
यस महाधिवेशनमा काँग्रेस एउटा होइन दुई वटा हाँगा भएको आभाष पनि देखिने गरेका दृष्यले संकेत गर्छन् । यस पटक काँग्रेसमा गुट छैन भनिरहँदा फुट छ भन्ने अवस्था छ । एकताको महाधिवेशनको प्रचार गरिए पनि विशेष महाधिवेशन पक्षधर र विपक्षी दुई धारमा विभक्त महाधिवेशनको संकेत देखिदै छ । जसलाई काँग्रेस भित्र संस्थापन समूह र इतर समूह बीच गुटगत समायोजनको प्रतिष्पर्धामा महाधिवेशन चलेको भन्नेहरू अर्को काँग्रेस महाधिवेशनको घोषणा गरेर अगाडि बढिरहेका छन् । निर्वतमान सभापति शेरबहादुर देउवासित करिव १० प्रतिशत नेता बाँकी रहेको समूहले आफू नै आधिकारिक काँग्रेस भनेर अहिलेसम्म सरकारी विवरणमा आधिकारिक रहेको गगन थापा नेतृत्वलाई चुनौति दिइरहेको छ ।
गतिविधि हेर्दा नेपाली काँग्रेस बाहेकका दल नेतृत्वको बैधानिकता दिन महाधिवेशनको मञ्चन गरिरहेका हुन् कि भन्ने प्रश्न उठ्ने अवस्था छ भने काँग्रेस भित्र पनि गुट, उपगुटले पार्टी भित्र अस्वच्छ प्रतिष्पर्धाको वातावरण तयार हुँदा अन्य पार्टीसित लड्नु पर्ने निर्वाचनमा आफैले आफ्नैलाई हराउने आत्मघाती प्रवृत्ति जन्माउने वातावरण महाधिवेशनले तयार पार्ने हो कि भन्ने शंका जन्माइ रहेको छ । यी र यस्ता दृश्यावलीले महाधिवेशनको महत्व वा गरिमामाथि समेत प्रश्न खडा हुने वातावरण निर्माण हुनुचाहिँ लोकतान्त्रिक मूल्य र मान्यता मान्न सकिन्न ।
पार्टी पद्धतिलाई चलायमान बनाउन महाधिवेशनको महत्व र गरिमा उच्च रहने गर्दछ । हरेक पार्टीले ४ वर्षदेखि ५ वर्ष भित्र महाधिवेशन गर्नु पर्ने राजनीतिक तथा कानुनी बाध्यता छन् । जसलाई विधि र प्रकृयाको रूपमा हेरिने गर्दछ तर यस पटक महाधिवेशन गरिरहेको नेपाली काँग्रेस भित्र संस्थापन मानिएको गगन थापा नै सभापतिका लागि एकल दावेदार हुन् भने निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा समूहमा पछिल्लो पुस्ताका शशांक कोइराला नेतृत्व लिन तम्सिएको दृष्यले काँग्रेसको १५ औं महाधिवेशने पार्टी नेतृत्वमा दुई काँग्रेस बनाउने प्रष्ट पारेको छ । गुट उपगुटको महासंग्राम हटेको यस महाधिवेशनमा बलियो काँग्रेस निर्माणभन्दा कमजोर काँग्रेस गठन हुने पक्का जस्तै छ । कार्यकर्ता माझमा भने एउटै काँग्रेस फैलिएको देख्ने चाहना भए पनि परिस्थिति भिन्न छ । यो महाधिवेशन सकिएको ६ महिनापछि स्थानीय तह र प्रदेश सरकारका लागि निर्वाचन हुँदैछन् । टुटफुटको शिकार हुने दलहरू जनमत लिनु पर्ने निर्वाचनमा घात अन्र्तघातको शिकार हुने अवस्था महाधिवेशनको अन्र्तरसंघर्षले सिर्जना गरिदिने पक्का छ । काँग्रेस फुट्ने चिन्ता हरेक कार्यकर्ता तथा शुभचिन्तकहरूको मनमा मडारिरहेको अवस्था छ ।
पार्टी भित्रको लोकतन्त्र जीवित राख्न हरेक पार्टीको महाधिवेशन अनिवार्य आवश्यकता हो । तर यस महाकुम्भलाई विकृतितर्फ लैजाने प्रयास भए दल कमजोर हुने अवस्था निर्माण हुन्छ । महाधिवेशनले देश र जनता हाक्न सक्ने नीति तथा कार्यक्रम भएको नेता चुन्न सक्नु पर्दछ । हाम्रो होइन राम्रो नेतृत्व निर्माण गर्ने दायित्व कार्यकर्तामा रहन सके मात्र महाधिवेशनको गरिमा बच्न सक्छ । गुट, फुट वा छिन्नभिन्न अवस्थाका लागि महाधिवेशन गरिनु हुन्न ।
नेतामुखी होइन नीतिमुखी समर्थन बोकेर नेतृत्व छनौट गरे मात्र महाधिवेशनको गरिमा उच्च रहन्छ । यस पटक काँग्रेस पार्टीका कार्यकर्ताहरूले सोच्नै पर्छ नीति र कार्यक्रम नभएका नेतालाई विदा गर्दै नीतिसहितको नेतृत्व छानेर नयाँ नेपालको सपना साकार पार्न जुट्नै पर्दछ । हिजोका नेतृत्वले अवसर पाउँदा पनि पार्टीको नीति अनुकुल राम्ररी काम नगरेकै कारण काँग्रेस जस्तो लोकतान्त्रिक इतिहास बोकेको पार्टी जनमत गुमाएर खुम्चनु पर्ने थिएन ।
