मानव—हात्ती द्वन्द्व अनन्त कथा बन्दै
सम्पादकीय
झापामा मानव—हात्ती द्वन्द्व राज्यकोषको करोडौं लगानी भइसकेको तर प्रतिफल आशातित रहन नसकेको अनन्त कथा बन्दै छ । राज्यले प्राथमिकतामा नराखेको कारणले होइन प्राकृतिक जीवन अस्तित्व रक्षाका लागि हात्ती र मानिस बीच अनन्त द्वन्द्व भइरहेको छ । हरेक वर्ष झापा जिल्ला मानव—हात्ती द्वन्द्वका कारण देशमै निकै चर्तित हुँदै गइरहेको छ । प्रत्येक वर्ष हात्तीकाकारण मानिसको र मानिसका कारण हात्तीको ज्यान जाने क्रमको बृद्धि भइरहँदा देश विदेशमा झापाले चर्चा बटुलेको कटु सत्य हो । हात्ती होस् या मान्छे प्रकृतिकै उपज हुन् । यी दुवैले आफ्नो अस्तित्व बचाउने क्रममा मृत्युवरण गर्नु पर्ने अवस्था भने विडम्बना छ ।
डिभिजन वन कार्यालय झापाको विवरण हेर्दा झपामा मात्र मानव–हात्तीबीचको द्वन्द्वमा परी २०६७ सालयता हात्तीको आक्रमणमा परेर ७० नेपाली र १० विदेशी नागरिकले ज्यान गुमाएका छन् भने २८ वटा हात्तीलेसमेतले ज्यान गुमाउनु परेको छ । तर, यतिका धेरै हात्तीलाई मानिसले मारिरहँदा अहिलेसम्म कसैमाथि पनि कार्वाही हुन सकेको छैन । मानव–हात्तीबीचको द्वन्द्वमा अपराध बढिरहँदासमेत कार्वाही गर्न नसक्नु वन्यजन्तुको संरक्षणप्रति प्रहरी प्रशासनको लाचारीपन प्रष्ट भएको छ । हात्तीको आक्रमणमा परेर मारिएका व्यक्तिका परिवारलाई राज्यले प्रति व्यक्ति दश लाख राहत रकम दिने गरेको छ । यही रकम बाँड्ने काम बाहेक राज्य नागरिकको सुरक्षामा नरहेको हो कि भन्ने प्रश्न उठिरहेको छ । राहत रकमले मृतक नफर्किए पनि परिवारको आर्थिक असहजतालाई केही समय मलमपट्टी लगाउने काम भने भएको अनुभूति क्षतिपूर्ति प्राप्त गर्नेहरूको छ । हात्तीका कारण मारिएका मृतकको अवस्था अध्ययन गर्दा हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक बढी संख्यामा रहेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाउँछ । दैनिक मजदुरी गरी खाने मानिसहरूलाई नै हात्तीले निशानामा पार्ने गरेको समेत देखिन्छ ।
हात्ती आक्रमणमा पर्नेहरू चिया बगानमा पत्ती टिप्दा, खेतमा पानी लगाउँदै गर्दा र घाँस काट्दै गर्दा हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको विवरणले देखाउछ । अर्थात कृषि कर्ममा रमाउने श्रमजीवि नागरिक नै हात्ती आक्रमणमा परिरहेका छन् । हात्तीले बिहान, बेलुकाको समयमा आक्रमण गरेर मान्छेलाई मार्ने गरेको घटना बढी मात्रामा हुने गरेको देखिन्छ । विगतमा भारतबाट हुल बाँधेर आउने हात्तीमध्ये १३ वटा यहीको जङ्गलमा रैथाने भएर बसेका छन् । यस हुलको संख्या बढेर १८ वटा भइसकेको छ । यिनीहरू पनि विभिन्न झुण्ड बनाएर बाहुण्डाँगीदेखि कचनकवलसम्मका कृषि उर्वर क्षेत्र आसपास चरिचरण गरिरहेका छन् । चरी चरणका कारण यी हात्तीबाट अन्न बाली असुरक्षित भइरहेको छ भने कहीलेकाँही मानिसलाई आक्रमण गर्ने काममा पनि यी हात्ती देखिने गरेका छन् । तर, भारतबाट नेपाल चरिचरणका लागि आएका हात्तीको समूहकै कारण धेरै मानिसको ज्यान गइरहेको अवस्था छ ।
झापामा साढँेचार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । हात्तीको आक्रमणबाट हुने गरेको मानवीय क्षति रोकिएको छैन भने हात्ती मारिने क्रमसमेत रोकिन सकेको छैन । हात्तीले आक्रमक भएर मानिसलाई कुल्चेर मार्ने गरेको छ भने मानिसले सुरक्षाका लागि लगाएको विद्युतीय तारबारमा परेर धेरैजसो हात्तीको ज्यान जाने गरेको पाइन्छ ।
झापामा मानव हात्ती द्वन्द्वका क्रममा मानिस र हात्ती मारिने क्रम रोकिन सकेको छैन । यकिन कागजी विवरणले सवै खुलाउन नसके पनि झापामा वि सं २०४१ सालबाट हात्ती र मान्छे बीच प्रत्यक्ष द्वन्द्व सुरू भएको स्थानीय स्तरका अग्रज व्यक्तित्वहरू बताउने गर्दछन् । विषाक्त खानेकुरा तथा विद्युतीय तारबार थापेर क्रुर तरिकाले हात्ती मारेर महत्वपूर्ण अंग समेत लैजाने प्रवृत्ति पनि देखिन थालेको झापामा तस्कर समूहको रजाइ बढ्ने अवस्था देखा परिसकेको छ । सरकारी पक्षले हात्तीको सुरक्षाका लागि पनि केही न केही रणनीति अपनाउन जरूरी छ भने मानव—हात्ती द्वन्द्व रोक्न नसकिए पनि न्युनीकरण गर्न नयाँ विधि खोज्न जरूरी छ ।
