राजनीतिलेख

“अनि ऐंसेलु झाँगे गाेली खा’र लडिराकाे छ त भनें त मैले !”

व्यंग्यनारान पाँडे

[माैसमी हास्य-व्यंग्य]

” …हुँ-हुँ-हुँ …नि लइ-लइ…हुँ-हुँ-.!…
… … … … … … ,… … …
गीद गाया नारान पथ्थराेउँ ने
दिल दिआ दर्ध लिआ !
दिल दिआ दर्ध लिआ !
अब्ब चइँने मुजे जिने दाे अउर ठर्रा पिन नदेऊ
किस्नजी, दन्काइए हओ मुर्ली ….
आहा किस्नजी ! बजाऊ मुरली !…”

बाटैदेखि उत्ताउलाे गाेठाले पाराले दुवै तिघ्रामा दुवै हातले, मादल बजाए झैं, प्याट्-प्याट् कुट्तै आएकाे वित्पाते हरिराम बाजेले, त्याे गीत हाे कि के , लैबरी भाकामा गुनगुनाउँदै पाँडेनेर आएपछि पनि एकखेप गायाे र भन्याे -“कस्ताे लागाे हओ पाँडेजी मैले इण्ड्यान र नेपाली मिस्कट गरेर कथेकाे गीद ?”

पाँडेले भन्केकाे घाेर्ले स्वरले भन्याे -“बाैलाउन लागेकाे मान्छेकाे गीत सुनेकाे थिइन, आज सुने ।… झन्नै-झन्नै उल्टी आयाे नि !” अनि अझ च्याँठिएकाे स्वरले थप्याे -“तिम्राे अरू काम छैन ? अनेककाे बेतालुकी कुरा लेराकाे छ, डिस्टप गरेकाे छ ! मकहाँ नआउनु अबदेखि । लाज-शरम छैन, जहिल्यैकाे बेकामे प्यार-प्यार-प्यार गर्ने ठाउँ मेरै घर मात्तै देख्ता र’छन् यी बेकामे ल्याङ्ठाहरू ?”…
सँधैकाे ठर्रा अँच्याइले हाे कि चरेस वा उनीहरूले भन्ने गरेकाे ‘बाउन् सुघ्घर’-ले ओइलाइसकेका आँखा च्यातेर पाँडेलाई हेर्दै धकाएकाे बुझिने गरी दाँत ङिँच्च्याएर हरिरामले भन्याे-“कामै त हाे नि याे पनि ए’किसमकाे । आफ्नाे इन्टम्याट साथी अइँसुलु झाङ्गे गाेली खा’र लडिर’छ र डग्सकाे छन्छने कार्बार पनि ‘गएल भइँस पानीमें’ भइगाे ! पुरानु कम्रेटी धन्धा गइगाे, पत्रकार गर्ण थालियाे-ताे पनि लामाे गर्ण सक्किएन, बिचउल्याकाे मेलाे पनि मूली नेता नै झ्यालखान परेसि डराइलाे खाल्डामा परिगाे र थाेडै दिन मात्तै गरियाे र डग्स सप्लाइ थालेकाे तेसमा पनि एक्लाे भएसि…”

पाँडेले उछिनेर भन्याे -” अनि ऐंसेलु झाँगे कता गयाे र एक्लै परियाे भन्या ? त्यसले पारिबाट ड्रग्स ओसार्ने तिमेरकाे टीमलाई छाेड्याे कि के ?”

त्यसले अलिक अँध्याराे मुख लाएर आँगनतिर हेर्दै भन्याे -” ती क्या त ताे गाेली खा’र लडिराख्या छ भनें नि ुअग्गि नै ।”
पाँडेले, अलिक तर्छेकाे भावमा साेध्याे-” गाेली खायाे ? कसकाे गाेली खायाे तेल्ले ? लास कहाँ लडेकाे छ भन्या तिमीले हँ ?”
त्यसले मुन्टाे बटार्दै भन्याे-“हत्तेरिका हउ, बन्दुककाे गाेली भन्या हाेइन मैले, डाग्डरले दिने गाेली क्या टप्लेट । हाे ताे गाेली खाँदै लडिराख्या छ भन्या क्या, कस्ताे नबुज्या !”

पाँडेले लामाे सास तानेर हाँस्तै भन्याे -“ओैषधिकाे ट्याप्लेटलाई किन गाेली भनेकाे त ? म त बन्दुककाे गाेली पाे ठानें त र झसङ्ग भाकाे !”
उसले झर्काे माने झैं ततर्किएर भन्याे -“अब मेराे घर-टाेलभरि ब्यारी नै ब्यारी लटरम्मै छन् र मेराे राताेदिन आइजाइ- किन्मेल गर्णे पारि ब्यारकाे गलगले-ठाकुरगन्जातिर पनि मेरा इस्टमित्र र बेपार-बिख्नेसका साथी-सङ्तिआहेरू म्यास्सिममका म्यास्सिमम ब्यारी नै छन् । उँधेरू थाेडैपएले मात्तै टप्लेटलाई टप्लेट भन्छन् – धेरैपएले त गाेली त भन्छन् त हओ अनित्याँड । तेइ सुन्दा-सुन्दा र तिनैसँग ज्यास्ती उटबस हुने गरेका कारन पनि मेरा मुखाड पनि ताे पढ्के टप्लेट-सप्लेट निक्सन छाेड्या छ र मलाई पनि गाेली या गुटी भन्नै सैलाे लाग्न थाल्या हाे क्या । अलिक चइँ तपइँ जल्दी कुराे पनि बुद्दाैन । अैलेकाे माेड्डन जुगमा त ‘अ’ भन्दा ‘अलेङकार’ बुद्ने हुनुपर्छ हए, नभा पाङदुरे काेदे अन्सिबिलाइचमा गन्न्याैला र दुख्ख पाउलाउ हए !”…यति भनेर फेरि अनुहार अँध्याराे पारेर एकछिन् बाटातिर घाेरिएपछि थप भन्याे -“एत्राबिदि ब्यारी-ब्यार्णी इस्टमित्रहर्ले टनाटन भर्रिराख्या, अनित्याँड उनेरका भाइ-भइआत र बिराद्दरीहेरूकाे आघमनकाे लर्काेले खुर्लुप्पै पारेकाे याे नर्पाल्काे भद्रपुरमै बसिबसेका तपइँ कत्ति साम्प्रदाहिक हुन्छाै हउ हन ? र, तीसँग खुसी हुँदैनउ हउ ? हामेरकाे बडादसीँ- बडात्यार, बडा मागे सग्राँती-साहुने सग्राँती इत्तेदिले त सिलटिम्मुर खाइसकेर छइट-उइट, हन्मान जएन्ती-उएन्तीहर्ले ताे ठाम कराप्प कब्जाइसक्या पनि था छैन कि क्या हाे ? ती आगान्तुक इस्टमित्र-इस्टमित्रेनीले केलाई के बाेल्छन् भन्ने पनि मज्जले क्यारलेस गरेर सिक्लाइ गर्णे गर न ! पछि तिनैले थला पार्लान हइ ! हन अब त ओखतिकाे गाेलाे गुइँठाेलाई गाेली भन्ने गर र टप्लेट भन्न छाेड क्या । अङरेजकाे बइदेसिक म्लेच्छे भासा बाेलेर आफ्नु सम्सृति र प्रम्प्रा बिगार्नु त ठूलै पाप र अप्रादै पाे हाे त हउ पाँडेजी ! कत्ति सिक्लाइ गर्दा पनि तपइँकाे मगजकाे किड्नीमा कस्ताे नपसेकाे, थुक्क !”

हरिरामले त ओैषधिकाे ‘ट्याब्लेट’-लाई ‘गाेली’ वा ‘गुटी’ भन्नुपर्छ भन्ने कुरा सम्झाउन, सात कक्षा पढेर छाेडेकी झाेडा गाउँकाे ओदाने माइलाकी चनमती भान्जीले साे गाउँका भुराभुरीलाई ट्यूसन पढाइरहँदा घरिघरि ‘ट्यूसन मास्टरनीलाई म्याम’ भन्न सिकाए जस्ताे पाे ग-याे ! र, पाँडेले दिग्दार मान्दै भन्याे-“लु भइगाे, त्याे कुरा छाेड । अनि त्याे ऐंसेलु झाँगेलाई चाहिँ के भइर’छ र डाक्टरकाे गाेली खाएर कि खाँदै लडिरहेकाे छ भन्या त ?”

हरिरामले एकपल्ट ख्वाक्क खाेक्याे र गलाे खाेलेपछि भन्याे -“अस्तिकाे सउँबार पैलाे साहुने सउँबार परेकाले म पुरेत पँडित मान्छे जेजेमानी गर्ण यतातिरका सप्पै सिभ्-मन्धिरहर्काे चक्करमा बिज्जीकाे बिज्जी नहुई धरै थेन । र, तेस दिन पारि गलगलेतिरका डग्स टाेलातिराड ‘प्याचे माल’ लेराउन जान पनि धरम प्रम्प्राकाे सन्नातनदेखुन्काे सँस्किर्तिक साश्रले नदिन्थ्याे । तेसाे भ’काले मेरा लागि पनि माल ल्याइदिने सर्थमा मबड पनि गाेडातिनेक हज्जार रुप्पे लिएर झाँङ्गे मित्र एक्लइ गइरथ्याेे ।… ऊ म बाएककाे एक्लै चइँ भाे र खल्ती गरम चइँ छ भने जे देखाे तेइ छादुन्जेल घित्न थालिहाल्छ, मुन-पेट कन्टाेलै गर्ण सक्तैन लाेबी माेराे ! …तेस दिन के-के घिचाे काेनी र खल्तीका लाेठकाे मुठाे बाट्बाटै निकालेर अन्भार हम्किने घमनकाे ढ्वाँस देखाउन थालेछ । माल किन्ने रुप्पे नभ’र रन्थन्निइराखेका उताका लाेक्कल ब्यारी, प्याचेगिरीकाे कुलथमा झन् एस्पीरेन्ट, लड्काहर्ले ताे देखेसिकाे गेल्डिन चानसमा डानस नगरी किन पाे छाेड्थे र! अल्मलाउँदै प्याचे अड्डातिर लगेछन् र कचेडा-गन्डगाेल उठा’र बेस्मारी धुलाइ गरेछन् अनि बाटाखर्ची पनि नराखी खराकखुरुक जम्मै रुप्पे लुटेछन् नि अनित्याँड ! ….हाे तेइ कुटाइकाे मुटभेटमा परेर धन्नैले बाँचेछ ताे । तेइ कुटाइले सिरेसली पाार्णे भामट दुखाइकाे प्यान रिल्लिपकाे डाग्डरी गाेली खाँदै लडिराख्या छ भन्’र मैले सटकटमा अग्गि नै भनें त !… तेस्का आँखाका खाेबिल्टा, दाेडै गाला र निदार पनि बैगुने रङका भइरछन्, ओठले राल थाम्न सक्या छैन, ओठहेरू हामेरकै कम्रेट सुर्जे थाप्पाका जैसा भइकिन थुक नथाम्ने भइरचन्, नाक त झन साँढे गाेरुकाे जत्राे राताे न राताे भ’का चन् र भित्राड आउने रगत मिस्कट पानी नथामिने भइरचन् अनि…!”

यति भनेपछि हरिराम केही क्षण बाेलेन र पाँडेले हेर्दा त्याे आँखाभरि आँशु भरेर भित्ताेतिर एकाेरिएकाे रहेछ । झाँगेकाे दुर्दशा वर्णन गर्दागर्दै त्याे पग्लिएछ !… र, पाँडेले भन्याे -“ठिक्क पारेछन् बिहारी प्याचे केटाले त्यल्लाई ! यता आर्काका छाेरा-छाेरीहरूलाई लागू पदार्थकाे दुर्व्यसनी बनाएर अभिभावकका सपना र उनीहरूकाे आफ्नै भविष्य भताभुङ्ग पार्ने ओखति बेच्ने पाखण्डी पेशा गरेकाे पापले ती त्यसरी झाँगेका आँखा, गाला, निधार,ओठ,नाकहरूकाे भत्ताभुङ्गमा प्रकट भएछ ! ठिक्क पारेछन् । पाप, ती त्यसरी कराउँछ क्या ! तिमी पनि सतर्क हाेऊ र छाेड त्याे कुकर्म । बुझ्याै कि बुझेनाै ? “…

हरिराम, सजल आँखाले पाँडतिर हेर्दै र निन्याउराे हुँदै, कुर्सीबाट उठ्याे र हिंडन लाग्दै भन्याे -“छाडें मैले, उसै दिनदेखुन् छिर्लिप्पै छाडें र त अब म मिस्कटे कवित् लेख्ने र गीद गाउनेलाई पेसाे बनाउनेतिर लाग्ने इस्टमेट गरेर प्राक्टिकल गर्दैछु ।” यति भनेर अघिकै गीतकाे उही ‘स्थायी’ र केही फरक ‘अन्तरा’ गाउँदै बाटाे लाग्याे –
गीद गाया नारान पथ्थराेउँ ने
दिल दिआ दरद लिआ !
दिल दिआ दरद लिआ !
अब्ब चइँने मुजे जिउन दाे साइँला-
मुजे दुद-दइ पिने दाे !”…..

अनि हरिराम तुइँ-तुइँ गइरहेकाे हेर्दै र एक्लै हाँस्तै पाँडेले आफैलाई भन्याे-“हेर त पाँँडे, हरिराम बाजेलाई, यी पनि बाैलाउने पालाे आएछ कि क्या हाे हँ ? आत्महत्याकाे सिजन चलेकाे याे बेला यसले पनि कतै आत्महत्या गरेपछिकाे ज्यानले जिउँदाे सास हिंडाइरहेकाे त हाेइन ? ड्रग्सकाे दुर्व्यसनमा लाग्ने र केही पछि त्यसकै व्यापारमा लाग्नेहरू ‘मान्छे’-बाट ‘कुमान्छे’ हुँदै यसरी नै क्रमशः ‘जिउँदाे मुर्दा’ भएर अनेक चलखेल गरिहिंडछ र एउटा कुनामा पुक्लुक्क मर्छ भन्छन् । याे हरिराम पनि त्यही अवस्थातिर जाँदै गरेकाे पाेहाे कि है !”