सरकारी दलको प्रतिबद्धतामाथि प्रश्न उठ्दै
झापा । बलियो जनमत सहित सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई गाडी पार्किङ घटनाले कमजोर तथा कायर अवस्थामा रहेको प्रमाणित गरिदिएको छ ।
सञ्चार माध्यमका कार्यालय प्रवेश गर्ने मूल द्वारमा गाडी पार्किङ घटनाले सरकारको चरित्र निर्वस्त्र योगीको बाहिरी स्वरूप जस्तै प्रष्ट हुँदा समेत सरकार सम्बद्ध दल स्वतन्त्र प्रेसको नारा फलाक्दै विज्ञप्तिमा प्रतिबद्धता जनाइ रहेको देखिन्छ ।
प्रधानमन्त्री र गृहमन्त्रीका चुलो चौकोमा रहेका निकटस्थ व्यक्तिहरूको योजनामै मूलधारका सञ्चार संस्था तर्साएर देशभरी नै सरकार बिरोधी खवर प्रकाशन प्रशारणमा बन्देज लगाउन गाडी पार्किङ घटना घटाइएको सूचना बाहिर आइसकेपछि पनि सरकारी दल रास्वपा स्वतन्त्र प्रेसको नारा फलाक्दै विज्ञप्तिमा प्रतिबद्धता जनाइ रहेको घटनाले प्रश्न उठाइरहेको हो ।
गाडी पार्किङ घटनासित जोडिएका व्यक्तिको पहुँच सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग प्रष्ट देखिसकेको छ । कतिसम्म भने, मिडिया हाउसमा यसरी गाडी पार्किङ गर्ने व्यक्ति त रास्वपाकै नेता नै रहेको समेत खुलीसकेको छ ।
कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा राखिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालको हो । रवि केही समय अघि मात्रै रास्वपा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेका थिए । गत जेठ ८ गते उनलाई रास्वपाले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो । अनलाइनखबरदेखि हिमालय टेलिभिजनको गेट अगाडि पार्किङ गरिएका गाडी धनीको सम्बन्ध पनि सत्ता निकट व्यक्तिसँग रहेको देखिन्छ ।
राज्यको संरक्षणविना यसरी कसैले पनि जानी–जानी आफ्नो सवारी साधन मिडिया हाउसको गेटमा लगेर राख्न नसक्ने बुझाइ पूर्वडीआईजी हेमन्त मल्लको छ । अझ त्यसरी गाडी राखेको थाहा पाएर प्रहरी प्रशासनले खबर गर्दासमेत सवारी धनी लिन नआउनुले त झनै राज्य संरक्षित आतंक रहेको पुष्टि हुने उनी बताउँछन् ।
‘झुक्किएर कसैले त्यहाँ पार्किङ गरेको रहेछ भने पनि यत्रो खोजीनीति हुँदा र प्रहरीले सम्पर्क गरेर बोलाउँदासमेत गाडी लिन नआउने भनेपछि यो कसैले आफूखुसी राखेको होइन । राज्यको संरक्षण बिना यस्तो काम हुन सक्दैन,’ उनी भन्छन् ।
असार २५ गते मुगुका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको विषयमा महानगर प्रहरीसँग विवाद भएको थियो । नो पार्किङमा पार्किङ गरेको भन्दै मोटरसाइकलमा ह्विल लक लगाइएपछि उत्पन्न विवादका कारण नेपालीले आत्मदाह प्रयास गरेका थिए । उपचारका क्रममा उनको वीर अस्पतालमा मृत्यु भयो ।
नेपालीले न्याय पाउनुपर्ने विषयदेखि सुकुमवासी समस्या लगायतका बारेमा मिडियाले प्राथमिकता साथ समाचार सम्प्रेषण गरेका थिए । तर ह्विल लकको विरोध गरिएको र ह्विल लक नलगाउँदा कस्तो हुन्छ भन्ने पाठ सिकाउन यस्तो गरेको हुन सक्ने आसय रास्वपाका पूर्वकेन्द्रीय सदस्य मधुसुदन ढकालले सामाजिक सञ्जालमा लेखे ।
त्यसमाथि प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनद्वारा सञ्चालित ट्रोल नेपाल नामक फेसबुक पेजले यही आसयसहितको छोटो फेसबुक स्टाटस पोस्ट गरेको थियो । यी सबै घटनाक्रमले पूर्वडीआईजी मल्लको भनाइलाई थप पुष्टि गर्न सहयोग गरेको देखिन्छ । यी सवै घटनाक्रम हेर्दा रास्वपाको नेतृत्वमा सरकार छ । त्यही सरकारका सल्लाहकारको योजनामा गाडी पार्किङ घटना घटेको प्रमाणले रास्वपाको विज्ञप्तिलाई काउकुती लगाइरहेको छ ।
समचार श्रोत अनलाइन खबर
