नेपालका निजी शिक्षण संस्थामा ३ लाख बढीलाई रोजगारी
काठमाडौं । नेपालका निजी शिक्षण संस्थामा ३ लाख भन्दा बढी व्यक्तिले रोजगारी पाएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक गरेपछि निजी शिक्षण संस्थाको रोजगारी तथा आर्थिक अस्था जानकारीमा आएको हो ।
सर्वेक्षण अनुसार ३ लाख ११ हजार ५१६ जना व्यक्ति निजी शिक्षण संस्थामा संलग्न रहेको देखिएको छ । यो सरकारी शिक्षण संस्थाबाहेकको संख्या हो । यीमध्ये ३ लाख २१ जना तलब÷ज्याला पाउने कर्मचारी रहेको देखिएको छ । तलब–ज्याला पाउनेमध्ये २ लाख २१ हजार ५०४ जना शिक्षक र ७८ हजार ५१७ जना गैर–शिक्षक कर्मचारी रहेको तथ्यांकबाट देखिएको छ ।

शिक्षण संस्थामा कार्यरत जनशक्तिमध्ये ८१ प्रतिशत पूर्णकालीन र १९ प्रतिशत अल्पकालीन छन् । गैरशिक्षकतर्फ ९६ प्रतिशत पूर्णकालीन र ४ प्रतिशत पार्टटाइम कर्मचारी रहेको सर्वेक्षणबाट देखिएको छ । कर्मचारीमध्ये १ लाख ४५ हजार पुरुष र १ लाख ५४ हजार महिला रहेको देखिएको छ । यसरी हेर्दा निजी शिक्षण संस्थामा काम गर्ने कर्मचारीमा महिलाको संख्या अधिक रहेको छ ।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा १ लाख १७ हजार २२९ जनालाई रोजगारी सिर्जना भएको देखिन्छ । जुन पूर्ण रोजगारीको एक तिहाई भन्दा बढी हो । कोशी प्रदेशमा ४८ हजार ७१०, मधेशमा ४० हजार ३३३, लुम्बिनीमा ४३ हजार १२०, गण्डकीमा २४ हजार ५५८, सुदूरपश्चिमा १८ हजार ७५८ र कर्णालीमा ७ हजार ३१२ रोजगारी सिर्जना निजी शिक्षण संस्थाले गरेका छन् । लैंगिक हिसावले हेर्दा मधेश बाहेक सबै प्रदेशमा महिला कर्मचारीको संख्या पुरुषको तुलनामा अधिक छ ।

यस्तै देशभरि १० हजार ४ सय ११ निजी शिक्षण संस्था रहेको सरकारी सर्वेक्षणबाट देखिएको छ ।‘नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१’ अनुसार यो संख्या सरकारी बाहेक निजी, सामुदायिक, गुठी लगायतबाट सञ्चालित विद्यालय, क्याम्पस र प्राविधिक–व्यावसायिक प्रशिक्षण केन्द्रको हो ।
सर्वेक्षण अनुसार सबैभन्दा धेरै शिक्षण संस्था बागमती प्रदेशमा सञ्चालनमा छन् । देशभरिका कुल संस्थामध्ये बागमतीमा २ हजार ९ सय ३ अर्थात् २८ प्रतिशत छन् । कोशीमा १९ हजार १७, मधेसा १८ हजार ९१, लुम्बिनी १ हजार ५ सय ५६, सुदूरपश्चिम ९ सय ७, गण्डकी ८ सय ६२ र कर्णालीमा सबैभन्दा कम ३ सय ७५ शिक्षण संस्था छन् ।
तथ्यांक अनुसार यस्ता शिक्षण संस्थामध्ये सबैभन्दा धेरै पूर्वप्राथमिक तथा आधारभूत तहका छन् । तिनको संख्या ४ हजार ५ सय २२ (४३ प्रतिशत) छ । माध्यमिक तह ४१ प्रतिशत (४ हजार ३ सय १९) र उच्च शिक्षा प्रदान गर्ने संस्था १२ प्रतिशत (१ हजार २ सय ६८) छ । प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने शिक्षण संस्था सबैभन्दा कम ३ प्रतिशत अर्थात् ३ सय १ छन् ।

देशभरि निजी शिक्षण संस्थामा साढे ३७ लाख विद्यार्थी रहेको सरकारी सर्वेक्षणबाट देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१’ अनुसार देशभरिका निजी शिक्षण संस्थामा ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत देखिएको हो ।
समध्ये पूर्वप्राथमिक तहमा ९ लाख ३२ हजार, आधारभूत शिक्षा (कक्षा १–८ सम्म) १८ लाख ६४ हजार र माध्यमिक तहमा ४ लाख ९१ हजार विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै उच्च शिक्षामा ४ लाख ६६ हजार र प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रिडिप्लोमा तथा डिप्लोमा तहमा जम्मा ३५ हजार ६ सय ८८ विद्यार्थी रहेको कार्यालयले जनाएको छ ।

उच्च शिक्षा अध्ययन गर्ने ४ लाख ६६ हजार विद्यार्थीमध्ये २ लाख १४ हजार ९ सय ९७ अर्थात् करिब ४६ प्रतिशत विद्यार्थी बागमती प्रदेशमा रहेको तथ्यांक छ ।
संकायगत हेर्दा निजी शिक्षण संस्थामा सबैभन्दा धेरै उच्च शिक्षा लिने व्यवस्थापन तथा वाणिज्य संकायका २ लाख ३६ हजार ५ सय ८१ जना छन् ।
शिक्षा संकायमा १ लाख १२ हजार ७ सय ७६, मानविकी तथा सामाजिक शास्त्रमा ४१ हजार ९, विज्ञान तथा प्रविधि अध्ययन संकायमा ३६ हजार १ सय ५९ र इन्जिनियरिङमा २१ हजार ७ सय ३९ विद्यार्थी रहेको देखिन्छ ।

नेपालको अर्थतन्त्रमा निजी शिक्षाको योगदान वार्षिक १ खर्ब ६० अर्ब रुपैयाँ बराबर रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक गरेको नतिजा अनुसार नेपालको अर्थतन्त्रमा सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाले करिब १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको कुल मूल्य अभिवृद्धि गरेको देखिएको छ ।
तथ्यांक अनुसार नेपालको निजी शिक्षण संस्थामा कुल लगानी ३ खर्ब ९ अर्ब २१ करोड रुपैयाँ बराबर पुगेको छ । सन्दर्भ वर्षमा निजी शिक्षण संस्थाहरुको कुल उत्पादन (सेवा दिए वापत संकलन गरेको कुल रकम) १ खर्ब ९५ अर्ब रुपैयाँ बराबर रहेको छ । सो उत्पादन गर्न मध्यवर्ती उपभोग (कर्मचारीको तलव तथा स्थिर सम्पत्ति बाहेक) ३५ अर्ब ४० करोड रुपैयाँ बराबर लागत रहेको देखिएको छ ।
एक वर्षमा निजी शिक्षण संस्थाको कुल सञ्चालन खर्च १ खर्ब १४ अर्ब रुपैयाँ बराबर रहेको छ । यी संस्थाले कर्मचारीको तलव, ज्याला र अन्य सुविधामा ७५ अर्ब रुपैयाँ हाराहारी खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । कार्यालयका अनुसार सरकारीबाहेक निजी, सामुदायिक, गुठीलगायतबाट सञ्चालित विद्यालय, क्याम्पस र प्राविधिक–व्यवसायिक प्रशिक्षण केन्द्रको तथ्यांक सर्वेक्षणमा समेटिएको छ ।
प्रादेशिक रुपमा हेर्दा सबैभन्दा ठूलो लगानी बागमती प्रदेशमा भएको देखिन्छ । यस प्रदेशमा निजी शिक्षण संस्थामा १ खर्ब २८ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी भएको छ । यस प्रदेशले अर्थतन्त्रमा एक वर्षमा ७० अर्ब ९४ करोड रुपैयाँ बराबरको योगदान गरेको देखिन्छ ।
निजी शिक्षामा सबैभन्दा कम लगानी कर्णाली प्रदेशमा भएको छ । यस प्रदेशमा ५ अर्ब ४२ करोड रुपैयाँ मात्र लगानी भएको छ । अर्थतन्त्रमा यस प्रदेशमा रहेका शिक्षण संस्थाको योगदान ३ अर्ब ४ करोड रुपैयाँ बराबर छ । देशभरि १० हजार ४११ निजी शिक्षण संस्था रहेकोमा सबैभन्दा धेरै बागमतीमा २ हजार ९०३ र सबैभन्दा कम कर्णालीमा ३७५ संस्था छन् ।
