राजनीतिसमाचार

निर्वाचन २०८२ का केही रोचक पक्ष

झापा । निर्वाचन २०८२ मा मतपरिणामबाट देखिएका केही अनौठा र रोचक परिदृष्यले स्मरण योग्य बनाइ दिएको छ ।

यस निर्वाचनमा भाग लिएका दलहरू मध्ये पुराना भनिएका प्रमुख ३ दल काँग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षमाभन्दा समानुपातिकमा निकै कम मत पाए भने पुरानै दल राप्रपा र रास्वपा तथा नयाँ दल श्रम संस्कृति पार्टीले प्रत्यक्षमाभन्दा समानुपातिकमा निकै बढी मत पाएको दृष्यले यस निर्वाचनलाई स्मरण योग्य बनाइ दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी (श्रसंपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले भन्दा पार्टीले समानुपातिकमा पाएको मत धेरै छ । तर नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारले पाएको भन्दा समानुपातिकमा प्राप्त मत अमिल्दो स्वरूपमा निकै कम देखिएको छ ।

१२५ क्षेत्रमा जित्न सफल रास्वपाले देशभरी १६३ क्षेत्रमा उम्मेदवारी दिएको थियो । प्रत्यक्षतर्फ उनीहरूले पाएका मत ४५ लाख ८७ हजार ९९५ छ । जबकि रास्वपाले समानुपातिकतर्फ ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ ।

राप्रपा र श्रसंपाका उम्मेदवारहरूले पाएको मतभन्दा समानुपातिकतर्फ पाएको मत पनि निकै बढी छ । श्रसंपाले प्रत्यक्षतर्फ १०९ क्षेत्रमा उम्मेदवार उठाएको थियो । यो पार्टीका सबै उम्मेदवारले पाएको मत जोड्दा ३ लाख ६९५ पुग्छ । जबकि समानुपातिकतर्फ पाएको मत ३ लाख ८५ हजार ९०२ छ ।
एउटा सिट जितेको राप्रपाको प्रत्यक्षतर्फ १६३ क्षेत्रमा उम्मेदवार थिए । यो पार्टीका सबै उम्मेदवारले पाएको मत जोड्दा २ लाख ७ हजार ६८ मत पुग्दछ । समानुपातिकतर्फ भने राप्रपाले ३ लाख ३० हजार ६८४ मत पाएको छ ।

प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले १६५ वटै क्षेत्रमा उम्मेदवार उठाएको थियो । सबै क्षेत्रका उम्मेदवारले प्राप्त गरेको मत १८ लाख ९३ हजार ४५३ छ ।

कांग्रेसबाट उठेका उम्मेदवारहरूले पाएको कुल मत भन्दा पार्टीले पाएको समानुपातिकतर्फको मत कम छ । समानुपातीकमा कांग्रेसले पाएको मत १७ लाख ५९ हजार १७२ छ ।

सर्लाही–४ बाट उम्मेदवारी दिएका सभापति गगन थापाले २२ हजार ८३१ मत पाएका थिए । यो क्षेत्रबाट कांग्रेसले जम्मा १८ हजार ८१ भोट ल्यायो ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ मा १८ हजार ७३४ मत पाए । झापा–५ मा एमालेले समाुनपातिक मत १७ हजार ६२३ मत पायो ।

९ क्षेत्रमा जितेको एमालेको १६४ क्षेत्रमा उम्मेदवार थिए । उनीहरूले प्रत्यक्षतर्फ पाएको मत १५ लाख ९२ हजार ६६४ छ । पार्टीले देशभरीबाट पाएको समानुपातिक मत १४ लाख ५५ हजार ८८५ छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६४ क्षेत्रमा उम्मेदवार उठाएको थियो । ती उम्मेदवारले प्रत्यक्षतर्फ ९ लाख ५६ हजार ९३९ मत ल्याए । जबकी पार्टीले पाएको समानुपातिक मत ८ लाख ११ हजार ५७७ छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट चुनाव लडेका थिए । १० हजार २४० मत ल्याएर उनी विजयी भए । तर, यो क्षेत्रबाट उनी नेतृत्वको पार्टीलाई समानुपातिकतर्फ ९ हजार ४४३ मत प्राप्त ग¥यो । प्रत्यक्षमा नेकपाले आठ स्थानमा जितेको छ ।