पुराना-नयाँ झाँगेहरूबाट गाउँठाउँ नै वाक्क र विरक्त हुँदैछन् है !
-‘व्यंग्यनारान पाँडे’
“हन तपइँ दारी मुन्डन गरेर म्याकाप गर्न पाे बिज्जी छउ ? हएट, रेला भयाे नि ! लु अब्ब चइँ तपइँ पनि पैला-पैला म साेयामले पनि सर्भपुज्जे मानेका ती क्याति ‘बा’ जइसेइ भ’छउ ठ्याक्कै !… माने आफू बन्न पा’देखुन् अरू-अन्नेहर्का कुरा र समाझिक एतार्तकाे पिट्टिस्सै क्यारलेसै नगरेर उपेच्छा गर्ने एस विस्साेकाे हाेल पिर्थिभिमा सब्से घमन्डी र अइमानी हुन थालेछाै कि क्या हाे ?… हे काेर्यान हाक्जाहान मुन भगाेती माताजिउ ! मलाई ‘आई लब इउ’ गर्ने इ एउडाे छिमेकी पाँडेलाई पनि मैलाई जइसै सत्बुद्दि बस्क ! नै त भने इनकाे अबस्ता पनि निजै उनै बा र पाडाेमुखे सुर्जे थाप्पा, सुखम्बासी बिचारा बिस्नु पउढेल, शङ्खट पाेख्रेल हन्नुमाने , गुन्डाखाना गुन्डुका भक्त पर्लादेकाे डुब्लिक्याट भाेकटे अनिखेर पर्दिप ग्याँओली, पिरथिभी सुभ्भा ग्रुङ, बिस्ने नै नामकाे रिजाल, रामचन्द्र उर्पेती, रामकमारी इत्तेदिकै जइसाे हुने भ’छ भन्नुपर्ने अभाग्गे हुने नै भाे, हे देउती माता !… इमद्देका ती रामचन्द्र उर्पेतीले काँक्राभिट्टामा एम्मालेकै पर्दानपञ्च गर्दै गरेका ट्याममा उइलेइ कैले हाे – काङरेससँग एक-जइन् भ-र एम्मालेले सर्खार बना’र “ओहाेए छ-ल-ब-ल” गाउँदै जन्ताका टाउकालाई मादल बना’र ठाेकीठाेकी बजाउँदै हिनेकाे कुराेलाई ब्याङ्गबाँड् हान्दै -“ओहाे, जइ नेपाल हइ कम्रेट !” भन्-र ठूलै एम्माले कम्रेटलाई भन्या बद्लामा … खयर छाेडम् याे टपिक ! र, तपइँ त खत्तम पाे हुन लागेछाै कि क्या हाे हँ ? मति सपार हए पाँडजी, बानी-बेउरा चइँ भस्ट नपार नि, मैले फेरि सम्जाउनु नपरेाेस है । हाेइन चइँ भने …!”
पाँडे आफ्नाे घरकाे बरण्डामा बिहानकाे न्यानाे घाम ताप्तै दाह्री काटिरहेकाे अवस्थामा मातेर लठ्ठ ऐंसेलु झाँगे सटासट आएकाे र बरण्डा टेकेदेखि नै यस्ता बकम्फुसे कुरा बड्बडाएकाे थियाे र पाँँडेले दिक्क मान्दै भन्याे -“के मति सपार्नु मैले ? बरू तिम्ले चाहिँ याे खिच्चा कुकुरे मति र बेहाेरा सपार न । बिहानै मातेर अर्काकाे घरमा आएर बहुला जस्ताे… चडकन कि के खाेज्या ? लाज-शरम पचेकाे पाङदुरे !”…
उसले उसकै सुरमा भन्दै गयाे -“अन्तखेरि ताे बिभिसि नामक अन्तरास्टे मेडिआले ज्यन्जी बालख-बालख्नीहेरूलाई आन्नाेलन खेल्ने इजिलाे बाताबर्न कस्ले बनाकाे भन्ने टपिक किल्लेरसिल हुँदाहुँदै किन जिभ्राे चबा’र, तेस्का बाजेकाे टाउकाे, ताे डाकुमिन्टी बाेडकास गरेकाे भनेर अओल-टाेट्टल नेपाली ज्यानले काेइसिन गर्नुपर्ने याे अइन् ट्याम हाे कि घराँ दारी खउरेर म्याकाप गरिबस्ने ट्याम हाे त ? हामेरकाे घन्टीकाे राज्जेकालमा एस्ताे माेझमस्ती चइँ गर्न पाइँछ त ? इ मैले अस्ति माहाँ सिभरार्तीकाे बेहानदेखुन् आजसम्मन न दारीजुँघा नै सेभिङ गरेकाे छु, न त दाँत माज्नु त परै जाओस् दाँतमा अम्लाेले छ्यास्स छुनसम्म फुर्सुत छ मलाई ! नुआइ-धुआइ गर्नु, लुगा फेर्नु त झ्यान दस मइलकाे किल्लाेमेटर टाढै छ । जिउमा जम्राले डानस गरिराख्या भापनि ‘ नाचुन्, जति नाच्छन्’ भन्ने शुबचिन्ता राखेर देशकाे क्यारलेस गर्नमा लाग्यालाग्यै छु र त भइराख्या छ त ! भन्रभनेदेखुन् तपइँ चइँ कैले नङ काट्न, कैले नाक काेट्याउन अनिखेर कैले दारी चिल्ल्याउन याे बउमुल्ले ट्याम लस गरिरने ? देश-दुन्याँकाे भलाे-कल्लेन नगरी आफ्नै हुँदाे मात्तै गर्ने तपइँ चइँ कस्का ‘बा’ हाेउ नि ? कम्रेटहर्का बा भन्नेले एस्सै गर्दा हामेरका बालिन सर्खारले दम्मकमा फिलहालै खराने धुलाे चटाकाे ओर्ल फ्यामाेस् हिस्टाेरी पनि था छैन कि कस्साे ? …ए बाेल न हउ, कि बाेली बन्द भाे एलिक्सिनकाे वादमा कम्रेटहर्का बाकाे जइसइ हँ, ट्याप्प मुखै टाल्ल्याे हँ ?”
पाँडेले उसका पाङदुरे कुरा सुन्दै दाह्री काटिन्जेल केही भनेन, ऊ चाहिँ ओठका दुईतिर कापामा फिँज काडेर बाेलिरहेकै थियाे -” अनित्याँड, हिजाे तपइँ काँ गका थेउ ? कि ती दाेडी रनघ्वाँक भाेगटे साेरूपका आईमाई-केटी तपइँकाइँ आका हुन् र उनेरूसँगै बिज्जी थेउ ? एइ घर अघाडिकाे बाटामा धैलुङ-धैलुङ ती दाेडी थलथले गुजराँती भुइँसी जइसालाई मैले एतैतिराड उत्ता मिनराेटतिर गइराख्या देखिरथें त ? अस्ति कम्रेट बा’का हुकमले उन्का कार्रेकर्ताले उनकाे एलेक्सिनकाे माओल सिँगार्न जाेति मग्गरनीलाई डाकेर दम्मकमा भिडारथे नि भाेट केजाति पार्नका लागि । भरेभन्दा तेइ केराका थाम जइसा पिडुला र रुख कटरका पाकेका एएत्रा फल जइसा केजाति हल्लाउन लाकै कारन पनि धेरैपए भाेट चइँ उजाति भका हाेलान् भन्ने मेराे अन्नाजिफिकेसन छ ।… ताे द्रिस्से देखिरँदा -” लउ अब चइँ बल्ल यिनै दाेडी आइमाई केटीका कारन इ पाँडेलाई पनि कम्रेट बा’हर्लाई जइसइ दशाेले चाप्ने ट्याम आ’छ भन्ने मेराे पापी मुन-पेटाँ आकाे थ्याे र मेरा पेटाँ स्यानाे टेन्सिनकाे हेडेक गरा’थेन तेल्ले गाँठे ! अस्ति डाग्डर माबीर पुनलाई बाेक्सी फत्फताए झ्याइँ तथानाम गर्ने क्या त राम्कमारी झँक्रिनी …ती दाेडामद्दे जाेति मग्गरनीभन्दा आर्की राम्कमारी झँक्रिनी जइसइ भाेगटी देखिरथें । ती चइँ काे थिन् ? कि साँच्चिकै राम्कमारी नै थिन् हँ हउ पाँडेजी ? कुराे साँचाे-सत्ते हाे भने तपइँ खाडलमा पराैला हइ , ग्वाम्मसँग टुप्पी पनि नदेखिने गरी !”…
उसले फेरि अघि भर्खर मात्र उठाएकै प्रसंग उठाउँदै भन्याे -“ताे बिभिसि भन्ने मेडिआले आफ्नै निजा उजातिकाे तरफका चल्लाचुल्ली नभ’काे अथ्बा ‘बतासे अन्डा’ जइसाे जयजनमकाे हकमा कङकट बाँजाे मान्छेलाई नै ताकेर ती कुरा किन झटाराे हान्याे ? ती जइसासुकै कुरुर-छेदी नै भापनि मान्छे नै थे भन्ने मानाैताका दिस्टिले हेर्दा तिन्काे पनि टाउकामा रीस उट्तैन त ? ताे पढ्के बिभिसिले नजिस्काकाे भा ती शइत भ-र मरेका ज्यान्जी भुराहर्लाई आतङक्कारी भन्-र भन्थे हाेला त माजै मुखाड ती बा’ले ? अनि एस्ताे इमरज्याम्सीकाे पर्खर ट्याममा तपइँ चइँ दारी नै काटिराख्ने ? तपइँलाई एसाे गर्न कुन नइतिकताले दियाे कि याे हक अदिकार कुन पाटीले दिया हाे, लु भन ?”….
पाँडेले दाह्री काटिसकेकाे थियाे र जुरुक्क उठेर झाँगेकाे बत्तीस चाउरे गर्धन च्याप्प समायाे र मुखले केही नभनी घिसार्दै आँगनमा निकाल्याे अनि गेट खाेलेर बाटाेतिर गलहत्याएपछि बल्ल भन्याे -“अस्ति भदाै बाइस गतेसम्मकाे तेराे बा’ले शक्तिकाे कालकाँधे दम्भले मातिएर देशलाई दिनरात बाेर गरे झैं रक्सीले मातिएर गाउँ-ठाउँमा जसलाई पायाे त्यसलाई दिग्दारी दिन्छस् ? लु जा खुरु-खुरु घरतिर ! यता फर्किस् भने तेरा दाँत झारेर तैरा बा’हरूका गाेलीबाट बाँचेका केटाकेटीलाई गट्टी खेल्न दिन्छु – तेरा आँखा झिकेर तिनै केटाकेटीलाई गुच्छा खेलाउँछु… बुझिस् कि बुझिनस् यइ छाैंडा ?”…
तर, ‘बुजें, किल्लेर बुजें’ भन्दै अलिक परसम्म लुम्रुङ-लुम्रुङ गएकाे झाँगेले, निकै पर पुगेपछि पछाडि फर्केर पाँडेतिर दुवै हातले लाेपार्दै ठूलाे स्वरमा भन्याे -“इइइइस् ।”
पाँडेले मनमनमा आफैलाई भन्याे-“अस्ति फागुन बाइस गतेसम्मकाे पुजनीय बा’बाटै सिकेकाे निर्लज्ज, अँटेरी, थेत्तर, ज्याद्राे र घमण्डी हुने भयङ्कर राेग यी यसरी ऐंसेलु झाँगेमा पनि सर्लक्कै सरेकाे रहेछ , देखिस् त पाँडे ? त्याे ‘धर्म बा’-का सन्तानमा यस्ता नकच्चरा-थेत्तराहरू अरूहरू पनि थुप्रै हाेलान् पढ्केहरू, नबिर्सी खाेज्दै जा है !”….
