राजनीतिसमाचारस्थानीय

झापाको दक्षिणी क्षेत्रको समृद्धि खोज्ने आधार

भद्रपुर । झापा सदरमुकाम चन्द्रगढी—भद्रपुर दक्षिण क्षेत्रलाई समृद्ध बनाउने आधारका रूपमा पर्यटनको विकास र कृषिको उन्नतिमा लक्षित कार्योजना बन्नु पर्नेे छ ।

पूर्वी दक्षिणी झापाको समृद्धिसित ऐतिहासिक स्थल चन्द्रगढ, किच्चक बध, कचनकवल र जलथल वन आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्र बन्न सक्छन् भने स्थानीयको जीविकोपार्जनका लागि यहाँको जमीनको उर्वरता पहिचान गरि व्यवसायिक कृषिको विकास आवश्यक देखिएको हो ।

यस क्षेत्रलाई चिनाउने पर्यटकीय स्थलको नाम लिने हो भने पहिलो स्थानमा धार्मिक तथा पौराणिक स्थल किच्चक बध धार्मिक स्थल पर्दछ । हाल भद्रपुर ३ मा पर्ने साविकको महेशपुर तथा पृथ्वीनगर गाउँ विकास समितिको सिमाना स्थलमा रहेको यो ठाउँ पवित्र नदी मेची र देउनिया खोलाको किनारमा अवस्थित थुम्कोका रूपमा दखिन्छ । हरेक वर्ष स्वस्थानी पूर्णिमाका दिन मेला लाग्ने यस स्थलमा नेपाल भारत लगायत आसपासका क्षेत्रबाट हजारौं तीर्थयात्री मेला भर्न र दर्शन गर्न आउने गरेका छन् । किच्चकबधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको छ । यस स्थलमा भेटिएका पुरातात्विक सामग्रीहरूको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताव्दीतिरको मानव सभ्यतासित गाँसिएका सामग्री प्रमाणित भएको थियो । यस आधारमा यस क्षेत्रको राम्रो पहिचान दिलाउन सकिए आन्तरिक र बाह्य दुवै खालका पर्यटकको गन्तव्य स्थल बन्न सक्ने क्षेत्रका रूपमा किच्चक बधको संभावना देखिन्छ ।

अर्को पर्यटकीय संभावना बोकेको ऐतिहासिक क्षेत्र चन्द्रगढ रहेको छ । अहिलेसम्म यसको प्राचीनता र ऐतिहासिकता कति हो भनेर खोजीसम्म नगरिएको यो क्षेत्र श्री ३ चन्द्रशमशेरको नामसित जोडेर मानव बस्ती विकास भएको मानिएको क्षोत्र हो । यो स्थान मौर्यकालिन इतिहाससंग जोडिएको यहाँका अग्रजहरू बताउँछन् । प्रारम्भिक अध्ययन अनुसार विभिन्न १६ वटा थुम, २ वटा पोखरी र बीच–बीचमा अग्लो माटोको बाटोले घेरिएको गोलो आकारको स्थल झापाकै किचकबध धार्मिक स्थल भन्दा पुरानो रहेको विज्ञहरूको दावी थियो । तत्कालिन चन्द्रगढी गाविस २ मा पर्ने ६२ बिगाहा जमीनमा श्री ३ चन्द्र शमशेर आएर सैनिक किल्ला कायम गरी भौतिक रूपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनार समेत निर्माण गरिएको अनुमान गरिएको छ । हाल उक्त इनार भग्नावशेषको रूपमा पाइन्छ । यस क्षेत्र वरपर वन फडानी गरी आदिवासी समुदायलाई चन्द्रशम्शेरले नै मानव बस्तीका रूपमा बसाएको स्थानीयको भनाइ छ । पूर्वी दक्षिणी झापाको पहिलो मानव बस्ती पनि यही हुन सक्ने आसपासका बासिन्दाको भनाइ छ । यस स्थानको उत्खनन् नगरी यहाँको प्राचीनता बारे भन्न नसकिने अग्रजहरू बताउँछन् ।

 

त्यसैगरी दक्षिणी झापालाई चिनाउने अर्को पर्यटकीय स्थल हो कचनकवल । नेपालको होचो ठाउँको पहिचान बनाएको कचनाकवलले झापालाई देश विदेशमा चिनाउन सफल भएको छ । पूर्वी नेपालको झापा जिल्लाको दक्षिणमा अवस्थित पूर्व र दक्षिणमा भारतसंग सिमाना जोडिएको, नेपालकै होंचो स्थानको परिचय कचनकवलको रहेको छ । यही होचो स्थानको नामबाट गाउँपालिकाको नाम रहन गएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिवारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतुमा ३६ डिग्री सेल्सियससम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री सेल्सियससम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर महिनासम्म) यहाँ सरदर १३८ सेन्टिमिटर सम्म वर्षा हुन्छ ।
यी दुई चर्चित स्थानका अतिरिक्त दक्षिण झापालाई पहिचान दिलाउने अर्को स्थल हो धनुष पोखरी । यो पोखरीको पहिचान पनि किच्चक बध स्थल जस्तै माहाभारतको कालखण्डसंग जोडिएको छ । साविकको जलथल गाउँ विकास समिति (हाल हल्दिवारी गापा) मा रहेको यस पोखरीले पनि झापालाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

अर्को महत्वपूर्ण पर्यटकीय क्षेत्र जलथल वन बन्न सक्ने संभावना छ । चारकोशे झाडीको एउटा सानो अवशेषका रूपमा रहेको जलथल वन नेपालको सुदुर पूर्वको एक मात्र जैविक विविधता बोकेको प्राकृतिक सम्पदा हो । एशिया माहादेशमा रहेका वनहरू मध्येमा अधिक जैविक विविधता संरक्षित भएको मानिएको छ । झापाको हल्दिवारी, कचनकवल, बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकामा जोडिएको यो वन ६१०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस वन क्षेत्र भित्र अनुसन्धानमा संलग्न विज्ञहरूले दशकयता गरेको निरन्तरको अनुसन्धानबाट देशभर ६ सय प्रजातिका रुख रहेकोमा जलथलमा एकचौथाई भन्दा बढी अर्थात १५५ प्रजातिका रुख पाइन्छन् । त्यस्तै उन्यू ४३ , झारपात २४६ , लता÷ लहरा ६४ , बुट्यान ७८ , पाम ४ प्रजातिका पाइन्छन् । त्यस्तै प्राणीमा पुतली १५७ , माछा ४३ , उभयचर १४ , सरिसृप ३२ , चरा २३५ र स्तनधारी २७ प्रकारका भेटिएका छन् । त्यस्तै ढुसी ÷ च्याउ ८४ प्रकारको भेटिएको छ ।

जलथल वन नेपालको महत्वपूर्ण र विशिष्ट प्रकारको वन भएको अध्येयताको ठहर छ । पूर्वी तराईमा मूल वनबाट छुट्टिएको सबैभन्दा ठूलो वनखण्ड समेत रहेको जलथल वनमा ५९० वनस्पति र ३५१ मेरुदण्ड भएका प्रजातिहरुको बासस्थान भएको अध्ययनले देखाएको छ । त्यस्तै दक्षिणपूर्वी एसियाका महत्वपूर्ण वनस्पतिका प्रजातिहरु, उष्ण प्रदेशीय सदाबहार बुच्काहरु, नेपालमा लटहरको सबैभन्दा ठूलो वन, तराईमा थाकलको प्राकृतिक थलो र १३ वटा संकटापन्न प्रजातिको बासस्थान जस्ता विशेषता जलथल वनमा रहेको छ । कतिपय विश्वमै नपाइने वनस्पति र जीव समेत पाइने जलथल जंगललाई पर्यावरण पर्यटनका रूपमा विकास गर्न सकिन्छ ।

यी र यस्ता चर्चित स्थान रहेको पूर्वी दक्षिणी झपा विकास निर्माण र आधारभुत आवश्यकीय साधन तथा सुविधाबाट भने अन्य स्थानका तुलनामा अझै पनि पछाडिनै छोडिएको अवस्थामा छन् । यी क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारका अवसर कम रहेकै कारण यहाँका युवा युवती अवसरको खोजीमा गाउँ छोडेर अन्यत्र पलायन हुने क्रम तीव्र देखिन्छ ।

यहाँका स्थानीयको मूल पेशा कृषि रहेको छ भने पछिल्ला वर्षहरूमा कृषि उपजले उचित मूल्य नपाउँदा पेशाा परिवर्तन गर्नेहरू पनि बढ्दै गइरहेका छन् । भारतीय वजारबाट सस्तो दरमा आउने कृषि उत्पादनका कारण यस क्षेत्रका कृषकको उत्पादनले बजारमा प्रतिष्पर्धा गर्न नसक्दा कृषि पेशा छोड्ने क्रम बढेको हो ।

यस्तै पछिल्लो एक दशकयता जंगली हात्तीको उपद्रो पनि यस क्षेत्रमा बढ्दै जाँदा कृषि उत्पादनमा क्षति हुने क्रम पनि बढ्न थालेको छ । यस क्षेत्रमा रहेर निरन्तर कृषि कर्म गर्ने व्यवसायिक कृषक पेशा परिवर्तनमा उद्यत देखिन्छन् । संघीय शासन प्रणाली स्थापना भएपछि ग्रामीण सडक निर्माणले गति लियो, कृषि क्षेत्रमा अनुदान कार्यक्रमले प्रवेश पायो तर पनि कृषकको जीवन स्तर उक्सने तथा उन्नति हुने वातावरण निर्माण नहुँदा कृषि पेशा सम्मानित पेशा बन्न सकेको छैन ।

यस क्षेत्रको उन्नतिका लागि कृषि र पर्यटन क्षेत्र महत्वपूर्ण रहेका छन् । संघ, प्रदेश र स्थानीय तहका रूपमा रहेका तीन वटै सरकारले समन्वयमा लगानी गर्ने हो भने झापा सदरमुकाम दक्षिण क्षेत्रको उन्नति समयानुकुल तीव्र बन्ने निश्चित छ । कृषि र पर्यटनलाई जोडेर सरकार अगाडि बढ्ने हो भने दक्षिणी झापाका ग्रामीण बस्ती पनि उन्नत बन्न सक्ने अपेक्षा स्थानीयसित जीवित देखिन्छ ।