राजनीतिलेख

विगततिरका टिपनटापन र वर्तमानमा उद्दीप्त स्वाभाविक सन्दर्भहरू        

  नकुल काजी
पैंतीस-छत्तीस वर्षदेखि क्रमशः देशमा ठाढै प्राचीनकालका बाबरीय वा ओैरंगजेबीय ढबकाे एकाधिपत्य जमाइआएका विशेषतः तीन  विभिन्न पार्टी  नामे राजनीतिक बगालका खलनायक व्यहाेराधारी नेगियारहरूकाे लागि प्रलयकारी नै बन्याे यसपटककाे आम चुनाव !  तिनीहरू स्वयम् र तिनका इर्दगिर्द झ्यामिएर देश-दुनियाँकाे नैसर्गिक अधिकार लुटेर डकार्दै आएका बुख्याँचाहरू समेत सखापै भएका छन्  ! अतः समग्रमा ती सबै नै स्वाभाविक दृश्यावलीबाट सिनित्तै बढारिएका छन् !

वस्तुतः जेन-जेड बिद्राेहभन्दा पहिलादेखि नै शासक-दलीय नेता-अगुवा र तिनका डफ्फेदारहरूलाई आफ्ना विविध देशघाती-जनघाती स्वरूपका बानी-व्यहाेरामा सुधार गर्नु  अनिवार्य छ नित्य-निरन्तर नभनिएकाे हाेइन । देशका सबै कित्तामा नागरिकका असन्ताेष आधारभूत छ र त्याे आक्राेशतर्फ गइरहेकाे छ भन्दै जनमतले उनीहरूकाे भ्रष्टाचारमुखी राजनीति र कुशासनप्रद राज्य-संरचनाकाे कीर्ते साखकाे दाहसंस्कार हुने स्थिति  छ भन्नेसम्मका सावधानीप्रदत्त सुझावहरूकाे ओइराे नलगाएका हाेइनन् । तर, नेपाली कांग्रेसकाे काँधका चढेर बुर्कुसी मारिरहेकाे मूल घमण्डी नेतृत्व र त्यसका अह्राउ-खटाउमा दगुरिरहेका शुण्ड-मुण्ड, तिखे- जाेधाहाहरूले  टेरेनन् ! फलतः जनाक्राेश बेराेक बढ्दै गयाे र  तिनका रजगजका महलहरू भूकम्पले भत्केका घर झैं भएरै छाड्याे ! अर्थात् , नागरिकले वर्षैंदेखिकाे उनीहरूलाई पुल्पुल्याउने गर्दै आएका गल्ती सुधार गरे । र, तिनका दम्भ आवेष्ठित रजवार-अनुभूति नै नलिनी-सपना मात्रमा सीमित हुन पुग्याे ! अब अर्कालाई दाेष दिएर वा अर्कालाई सरापेर केही पनि पुनर्जीवित हुने सम्भावना त निमिट्यान्न नै भएकाे  छ । याे कुराे पूर्ववर्ती शासकका स्थानीय खटन-दूतगिरी गर्दै दैनन्दिन ऐश-आरामकाे जीवन-व्यवहार सिँगारिरहेका, शासन-शिविरका ठूला-साना मुखियाका, छावाहरूलाई पनि अनुभूत भएकै हाेला । अहिले ‘सूर्य’-काे शक्ति (voltage) स्वात्तै घटेकाे छ र ती छावारूपी शुण्डमुण्डहरू पनि महाभारत कथामा वर्णित श्रीकृष्णकाे स्वर्ग गमनपछि गाण्डीव धनु उठाउनसम्म नसकेका अर्जुनकाे जस्ताे भएकाे हाेला कि !  तिनका वाचाल मुखिया र उसका मुखबिरेहरूकाे चालचाेल हराएकाे देख्ता यस्तै अनुभूति हुँदैछ भन्ने झ्याउँझ्याउँ हल्ला छ अहिले निरपेक्ष देशभक्तहरूमा !…

“आफ्नाे आङकाे भैंसी नदेख्ने – अर्काकाे आङकाे जुम्रा देख्ने” अनि आलाेचना र निन्दालाई आफ्नाे श्रेष्ठता प्रतिष्ठापनकाे सिँढी बनाउने गर्दै आएका राष्ट्रिय(?) राजनीतिक पात्र विशेषकाे पुरातन  विशेषतालाई यसपल्ट नेपालीले पुरातात्विक संग्रालयतिर लखेटेकाे जस्ताे देखिएकाे छ । तर, अझै पनि त्यस हन्जाका केहीले महाभारत-कथा पुनरावृत गर्दै ‘लाेक’-काे ‘तन्त्र’-भित्रै बसेर पनि ठूला ‘सैन्य शक्ति’ भएकाे काैरव त्याेभन्दा सानाे शक्ति भएकाे पाण्डवसँग हारेकाे कथाकाे लहरा समातेर हारकाे खाडलभित्रबाट चिच्याउने दुःसहास गर्दैछन् । युगले आँकेकाे वैभिन्न्य बुझ्ने क्षमता त तिनका खाेपडीमा हाेस् त किन र ? नेतातर्फ  भक्ति-स्तुति सिवाय ‘लाेकतन्त्र’-का सारभूत अभ्यास जान्नसम्म पनि आवश्यक नठानी ‘साम-दान-दण्ड-भेद’-रूपी दलनकाे मदानी चलाएर देशकाे ठेकाेबाट निश्रीत छाली चप्काउने पापकाे सजाय त यसपटककाे जनमतले दियाे । अब यसै जनमतद्वारा जाग्रत र प्रणाेदित कानूनी दण्डकाे सन्दर्भ पनि लस्करकाे शुरुमै छ । अब बाँकी याे दण्डले पैतीस-छत्तीस वर्षे ‘समय’-ले गर्दै आएकाे याचनाकाे व्यावहारिक अनुस्मरण अवश्य गराउनेछ भन्ने उक्त प्रबल जनमतले गरिरहेकाे छ । याे किनभने,  ‘प्रजातन्त्र’, ‘लाेकतन्त्र’ र आजकाे ‘संघीय लाेकतान्त्रिक गणतन्त्र’ परिचायक  नाम पाइआएका राज्यव्यवस्थालाई आफ्ना धर्ममा अचुक रहन नदिने गरी सत्तामा पुगेका दलहरूले कुनै न कुनै प्रकारले बलात् हस्तक्षेप गर्दै आएका हुन् , जसबाट  देश र देशवासी बेस्सरी प्रताडित भएका थिए ।  सम्पन्न चुनावमा मत (भाेट)-काे हतियार प्रयाेग गरेर नेपालीले त्यसकाे बदला लिएका छन् भन्ने नै निर्विकल्प  सत्य भएर इतिहासमा लेखिनेछ । किनभने, कुनै पनि देशका निम्ति  ‘जनता’ नै  ‘जनार्दन’ हुन् भनेर इतिहासले अविच्छिन्न सिद्ध गर्दै आएकै तथ्य हाे । आज नेपाली नागरिकले त्यही हैसियतमा आफूहरूलाई स्थापित गरेका छन् ।

यद्यपि, अहिले नै नवाेदित नेतृत्वपंक्तिलाई गाेलमटाेल प्रतीक बनाएर उफ्रीपाफ्रीकाे उलार उराल्नु पनि हतार गरेकै ठहरिने भविष्य पनि असम्भाव्य छैन । मानव मनाेविज्ञानले सामान्यतया मान्छेकाे मानसिक जीवनकाे संरचना अन्तर्गत दाेस्राेमा प्राकृत शिक्षालय नै ‘परिवेश’ (environment)-लाई मान्दछ । यस भावभूमाथि उभिएर भन्नुपर्दा – अहिलेकाे ‘नेतृत्व-पंक्ति परिवर्तन’-ले समेटेका व्यक्ति र तिनका सहायक-सहारा समूहकाे यहाँसम्मकाे शिक्षा (schooling)-बाट यहाँसम्म निर्देशित हुँदै आएकाे राजनीतिक-सामाजिक अभ्यासमा बानी पर्नु अन्ततः  परिवेशकै करामत हाे । यसमा थप परिवर्तन सहज सम्भव नहुनुलाई भाैतिक व्यवहारमा जे भनिए पनि मानसिक रूपमा अन्यथा भनिहाल्न मिल्दैन । अर्थात् , विगतका गलत शासकीय  अभ्यास पुनरावृत्त हुँदै हुँदैन भन्नेमा ढुक्क हुने स्थिति किन पनि छैन भने राज्य-संयन्त्रमा रहेकाहरू उनै छन् । उनै, जाे तिनका निर्देशक शासक-मण्डलका इशारामा कुशासनका प्रयाेक्ता रहँदै आएका हुन् । आम-नागरिकमा प्रत्यक्ष कुशासन लाद्ने त तिनै न हुन् । जसले जति नै सुशासनकाे अभ्यासलाई प्राथमिकता दिने बाचा गरे पनि ‘स्थायी सरकार’ (permanent government) मानिने त्याे फाँटकाे शुद्धीकरण  नभएसम्म सम्भवसाध्य मान्न सकिन्न । र, त्याे फाँट बर्षाैंदेख कचल्टिएकाे गाढे घाउकाे रूपमा छ, जाे निकाे हुन केही वर्ष मात्रमा सम्भव हाेला र ?

अर्काे एउटा प्रसंग पनि अनायास जाेडिन आएकाे छ- इण्डियन प्रधानमन्त्री नरेन्द्र माेदीकाे बधाई सन्देश ! माेदीजीले एउटा छिमेकीकाे नाताले नेपालमा हालै सम्पन्न चुनावमा अभूतपूर्व बहुमत प्राप्त गर्ने पार्टी  रास्वपालाई बधाई दिनु, कुटनीतिका हकमा नठीक मानिँदैन  । तर, त्यस सन्देशमै गाभेर  ‘नेपालसँग सहकार्य गर्न’ तयार रहेकाे चाेसाे घुसार्नुले, पुराना सम्झनाहरूबाट उद्भावित नेपालीका परम्परागत शंका निकै धारिएकाे छ । नेपालमा सम्पन्न चुनावमा कुनै पार्टीले उल्लेख्य बहुमत ल्याउनासाथ उसैले देश चलाउँछ वा चलाउनुपर्छ भने झै ‘सरकार बनिसकेपछि दिइने किसिमकाे सन्देश’ जस्ताे भाष्य किन प्रयाेग भयाे ? – जस्ता प्रश्नहरू, नेपालका तराई-मधेसमा पहिलादेखि  वर्तमानका कतिपय  सन्दर्भहरूमा झङ्कृत भइरहेका बेला, उठ्नुले ‘अखण्ड नेपाल’- का प्रति अभ्यन्तरबाटै निश्छल आत्मनिवेदित सचेत नेपालीले गर्न थालेका छन् । अतः यसबाहेक पनि कैयन आन्तरिक व्यवहार सुधार र बाह्य विषयक सतर्कताका प्रश्नहरू उदित छन् ! ती सबै समेटेर बयान गर्ने स्थिति अहिले परिपक्क भइहालेकाे छैन ! त्यसैले, बस्, आजलाई यति नै ।…