राजनीतिलेख

झाँगे पनि पुरानाे छाेडेर नयाँ पार्टीतिर लाग्ने भएछ ! 

    [ माैसमी हास्य-व्यंग्य ]
       

 -‘व्यंग्य नारान पाँडे’ 

  “हारे हओ पाँडेजी, खात्खुत्तै हारे ! हन बिरक्तै लाग्ने गरी पाे हारे त, हार्नेहेरू ! मनलाई कतै  टुर गराउँदा नि पेटमा भइराकाे हेडेकलाई गेटाउट  गरा’र पीसफुलकाे थुँगा जइसाे ओएटलेसमा च्यान्ज गराउन सकिएन  र तपइँसित गन्गनाउन आ’काे, तपइँकाे हात खाली रैनछ !” -पाँडेले बरण्डामा बसेर नङ मठारिरहेका बेला यसाे भन्दै आएकाे ऐंसेलु झाँगेले कुर्सीलाई पाँडेभन्दा निकै पर घिसारेर बस्तै थप भन्याे -“हार्नेहेरू हारे नि चाेरा’खन्तीहेरू, जित्नेहर्ले जितेर सम्सतकाे काेटामा भरिभ्राउ खुट्टाे टेकिहाले। आफ्नु एउडाे खुट्टाे एडजस हुने ठाम उब्रेकाे भा पाे साे-उक्त टपिकमा गन्गन गर्नुकाे मिनिङ हुन्थाे, हाेइन्त ? सम्सत भओनभित्र एउडाे मकैकाे गेडाे नअँटाउने गरी त के एउडाे खुट्टाे टेक्ने ठाम पनि नराखी भरिसकिहाले, अब गेजु-गुल्चे पनि काँहाँ नार्ने र ? पैला जइसाे ताे भओनभन्दा अल्लि पर अउटसाइटमा उभ्भेर प्यार्प्यार काक कराए जइसाे कराउनुकाे अैले एतिबिदि घन्टी बजिराख्या ट्याममा के मिनिङ लाग्छ र, तस्सिमा टाेक्ने !….हाे तेसाे भ’काे हुँदाउँदी तपइँ जइसा जेन्टिलम्यानसित केइ गन्गना’र पर्बाभित गर्नु र हामेरका बा मउसुपले झ्याइँ फेरि नि ? तेइ पनि हामेरका ओल्ली बाबैकै ‘बा मउसुप’ पनि एस चइँ पढ्के ज्यान्जी एलेक्सिनकाे भाेटमा बालिन सहाले थाङथिलाे पारेर खाेसिहाले अरे भन्ने अक्बारमा छप्पिया छ भन्छन् भन्ने माेराहेरू ! तेसाे नै हाे भने त उनैलाई पनि पैला जइसाे ‘पर्मेसाेरी भग्वान’ भन्-र फाेटामा दइनिककाे डेल्ली धुपबाती चढा’र ‘हनुमाने याक्टिङ’ किन गरिर’नु र ?”….

ऐंसेलु झाँगेले यत्ति लामाे गन्थनाइन्जेल अँ-उँ पनि नगरी सुनिरहेकाे पाँडेले अहिले साेध्याे-“आफ्ना बा हुन्,  जस्तै अरिबख्रे भए पनि बा नै त हुन् नि, हाेइन र ?”

उसले पाँडेतिर फर्केकाे मुन्टाे आँगनतिर परक्क बटारेर प्याच्च थुक्याे र भन्याे -“ती मेरा बाऊ हुन् र ? थाकेकाे गाई जइसाे भइसकेकाे, एक्कै थाेपाे दूद नतुर्किने सम्भाओना देख्तादेख्तै अब पनि बा भनिन्छ के त ? अस्तिसम्मन उन्काे नाम जप्ता पनि टन्न इन्कम हुन्थाे र पाे बा मउसुप भन्-र सर्काकाे त । अब उनलाई कल्ले टेर्छ र ? हन जुग-जमानै अैले बालिन सहातिर टाेट्टलै ओइरिसकेका ट्याममा तेस्ता बूढालाई एत्राे खान बा-बा भनिरनु भन्छाै तपइँ ? तेसाे भा त बाटामा हिन्ने जुसुकै थाङ्ने बूढालाई पनि बा भन्दा भइगाे नि – बा भन्नै मुन लागे ! …अब त लागिर’छ खाँचाे ।”

पाँडेले फेरि साेध्याे -“तेसाे हुनुमा उनकै दाेष छ र तिमी त्यसाे भन्दैछाै कि ‘काम सार भाँडाे-आफल तेराे ठाँडाे’ भने जस्ताे गरेका हाै तिमीहरूले ?  उनलाई आज  किन दुर्दुर गरेकाे त  ? पहिला-पहिला त के, चुनावकाे रिजल्ट नभइन्जेलसम्मै पनि  ‘बा माैसूफ’ – कि ‘बा माैसूफ’ भनेर हिरिक्कै हुन्थ्याै त ?”

उसले फेरि पनि झर्काे माने झैं गर्दै भन्याे -“भन्थें भने  भन्थें त लु ! तेस ट्याममा तेसाे नभने उनकाे निजा गाईगाेट जइसाे पाटीमा बस्न र आफ्ना अन्डरका जन्ता डस्न पाइँथ्याे त अन्तखेरि ? अब त एत्राकाे टिकटिक ! ऊ, न बाऊतिरकाे न ता आमातिरकाे । के गर्न बा बा भनिरनु , केइ झर्ला र खाउँला नाइँ ! अनि भुत्राकाे बा ? भुत्राकाे मउसुप ? अब त इइइइ बा ! अब त बरू बालिनतिराड पाे राइच गर्छु । कम्रेट पुरेत  हरिरामे र तेसकी लबर्नी…. ती क्या त, ताे गुज्राँती भुइँसी जइसी मुसीकी मम्मी, हाे ती जाेडाले बिर्तामाेठकाे पानबाला जादउसित कन्जुगल नै पाे मिलाइसके अरे क्या ! ताे सुनेसि मैले पनि  कम्रेट पुरेत हरिरामे र मुसीकी मम्मीसित कनेक्सिन मिलाइसक्या छु । अब हामेरू तीन कार्रेकर्ता-कार्रेकर्तिनी मिलेर एतातिरका झिना-झाँकडा सप्पैलाई बालिनतिर लस्कर लाउने ओजनाकाे इस्टेमेट गरिसकेका छउँ र आउँदाे अगामी एलेक्सिनमा भाेटै मूला त ‘घन्टी नै घन्टीमा’ टाट्टलिङ नै खल्यातखुलुत नि ! अब म नै लागिसकेसि त कुरै नट् नि हओ, कुरै नट् । रा’नीतिककाे पाेल्टिसमा यस्ता टेसिला काम त कति गरिन्छ कति ! अनि तपइँ चइँ क्यार्न तिनै पुराना पाटीका जिम्माल बाका कुरामा, अदलतकाे पुरानाे अस्काेटे खर्सापले चाेरकाे बइन लिया जइसाे, उइ बाका कुरा काेतरिरन्छाै ?”

पाँडे एकपल्ट जाेडले हाँस्याे र हाँसाेसँग गिजाल्दै भन्याे -“त्यसाे भए तिमी आफ्ना बा सतचुर्न हारे लगत्तै  घन्टीकाे मान्छे….”
पाँडेकाे वाक्य पूरा हुन नपाउँदै उसले ओभरटेक गरेर भन्याे -“अनि भाेटकाे टाेट्टलिङ एकाउन्टेन गर्दा आदा लाख….आमामामा थाेडै हाेइनयार !… आदा लाखमा तीन सहे अनि एक र चार चउद कम एक सहे थाेरै मात्तै भाेटले लङ्कै उछिनेर जम्मा-टाेट्टलिङमा सिस् र अैटले गर्दा सिक्टीअैट थाउज्यान थिरी हन्डेड फाेहाेर टी अएट भाेटले जित्ने बालिन सहाकाेे मान्छे नहुनु त ? तपइँलाई पाेल्टिकल कसरी खेल्ने भन्ने थाही भा पाे !”

उसबाट अझ कुरा छदाउने उद्देश्यले पाँडेले , प्रसंग अलिक टेडीमेडी पारेर जिस्कयाउँदै साेध्याे -“तिम्री लभरबाट मुसीकी आमालाई  खाेसेर हरिराम बाजेले उनकी लभर बनाए भन्थ्याै नि पहिला कहिले हाे, अहिले फेरि तिमीतिर….”
उसले फेरि पनि उछिन्दै भन्याे-“के चित्त बुज्थ्याे हरिरामेसँग
तेसकाे । कैलु बेहारीकाे भट्टी दुकानमा मैले र मुसीकी मम्मीले आदा-आदा बदल चापी नसकी हरिरामे पुरेतले अग्गि एक बदल घुट्क्याइसकेर मुर्धुम भइसक्छ अन्त मेराे र मुसीकी मम्मीकाे इलुइलु चल्नु त साेभाभिकै हाे नि !….पाेल्टिसमा उस ट्यामका हामेरका बा मउसुपका पर्चारकहर्ले जाेति मग्गरनीलाई दमकमा थल्थलाउन ल्याकाे देखेसि मैले पनि मुसीकी मम्मीलाई पाेल्टिसमा हिना’र भाेट र सपाेट आक्रसित गर्ने उजाति साेच्या हुँ क्या । अैले ऊ धेरैपए मेरी लबर्नी र थाेरैपय मात्तै हरिरामेतिर छे भनम् न ! भाकाे कुराे किन ढाँट्नु याे माेडन ट्याममा !”
पाँडेले के साेध्न आँटेकाे मात्र थियाे , ऊ कुर्सीबाट उठ्याे र लामाे आङ तानेपछि भन्याे -“कुराे कहाँबाट कहाँ बरालियाे र निकै ढिला पनि भाे । आज तल बजारकाे सखीकट्टा मियाँकाँड दाेडा खसीका चाडा कान लेराउँछु भनेकी छे मुसीकी मम्मीले र हिजाे बेल्कै दुई बदल घराँ लेराइराख्या छु । ती कान  पाेलेर अनि साे-उक्त जङ्गे-जलसित आरामले खाने पाेरगाम छ । ताे पढ्के खसीकट्टा मियाँ पनि मुसीकी मम्मीसँग हुरुक्क छ र कैलेकाइँ …”

उसले कुराे ननिखारीकन ह्याँ गरेर दाँत मात्र देखायाे र तल ओर्लिने सिँढीतिर जाँदै भन्याे -” लउ म घरतिर लागें पनि । ऊ घराँ पर्खिराखेकी हाेली !”

ऊ लाेक्त्याङ-लाेक्त्याङ गइरहेतिर हेर्दै पाँडेले मनमनै भन्याे -“यस्ता कति नेपाली हाम्राे राजनीतिक समाजमा हाेलान् कुन्नि ! अब यस्ता लाेक्ताङहरू पनि तह लाग्नु पर्छ । तर, कसले गर्ला यस्ताे प्रयास ? प्रदिप ज्ञावली-महेश बस्नेतहरूले अर्कै गेजु गर्ने कुरा गर्दै गर्धनका नसा फुलाउन थालिसके ! “….