पुरानाको अस्तित्व संकट नयाँलाई अवसर बनेको निर्वाचन
संम्पादकीय
संघीय संसद अन्र्तगत सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ सार्वजनिक भइरहेको मत परिणामले कांग्रेस, एमाले र नेकपामाथि ‘खतराको घण्टी’ बजाइ दिएकोे छ । ०७९ को आम निर्वाचनमा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको निर्वाचनको नतिजा हेर्दा अपार मत सहित पहिलो पार्टी बन्ने निश्चित जस्तै छ । नेपाली राजनीतिमा पुरानो पुस्ता अब अपच भयो भन्ने सन्देश यस निर्वाचनले प्रष्ट बुझिने गरी दिएको छ । नेपाली राजनीतिको अग्रभागमा रहेका ‘देउवा, ओली, दाहाल पुस्ता’ ले हिजो व्यवस्था परिवर्तनमा ‘सक्षम’ भएकैले ३५ वर्षसम्म अस्तित्व जमाउन पाएका थिए । आज आएर नागरिकले भोलिको जनताको ‘अवस्था’ परिवर्तनमा पनि ‘आफैं’ सक्षम देख्ने अन्ध सोच अब छोड्न यस निर्वाचनले उनीहरूलाई जवरजस्ती बाहिर धकेलेको अवस्था हो । यस निर्वाचनले पुराना दल र नेतालाई अस्तित्वमा मात्र सिमिति पारेको छ । बिलकुल नयाँ नभए पनि नयाँ अवतारमा आएको रास्वपाले समयको वेग बुझ्न सकेन भने आउने समयमा पुराना दलभन्दा तल झर्नु पर्ने अवस्था आउने निश्चित छ ।
निर्वाचन २०८२ पुराना दलका लागि अस्तित्व संकटमा पार्ने नागरिकको आक्रोस मिसिएको बिगतका कुकर्मको दण्ड भएर आएको छ भने नयाँ स्वरूपमा अवसर पाएको रास्वपाका लागि चुनौतिमाथि सुनौलो अवसर बनिएको छ । सायद पुराना भनिएका दलले मतदाता सर्वोपरि हुन् । तिनका निर्णयले सिंगो राजनीतिक वातावरण, जन–मनोविज्ञान र सत्ता व्याकरणलाई प्रभावित पार्छ भन्ने बुझन् सकेनन् । लोकतन्त्रमा नागरिकको सर्वोच्च शक्ति उसको ‘मत’ हो । मतदानको दिन सार्वभौमिक मताधिकार व्यवहारमा आउछ, जुन नागरिकको सर्वोच्च अधिकार हो । मतदाताका लागि यो दिन विगतमा शासन कस्तो रह्यो र अगाडि कस्तो हुने त्यसको लेखा–जोखा राख्ने परीक्षणको दिन पनि हो भन्ने सत्य विगतमा सत्तामा रहेका दलहरूले बुझेनन् । आज निर्वाचन परिणामले ती दललाई दण्डित गरेको प्रष्ट छ । लोकतन्त्रमा जनादेश ससर्त हुन्छ । जनताको आदेश पुरस्कार होइन, जिम्मेवारी हो । संघीयतामा जानुको प्रयोजन राज्यका नेतृत्वकर्ता मालिक बन्ने होइन सेवकका रूपमा जनता नजिकै पुगोस् भन्ने हो । दैनिक उपभोग्य वस्तु खरिद गरेर खान सकिने अवस्था छैन । वजारमा कालाबजारीले अधिपतित्व जमाइरहेको छ । बिहान उठेदेखि बेलुका सुत्नु अगाडिसम्म भान्छामा हामीलाई कृषि उत्पादनले साथ दिइरहेका छन् । यस्ता उत्पादनमा कृयाशील कृषकको जीवन अझ ऋणमय बन्दै छ । नेपालको राजनीतिक इतिहास हेर्ने हो भने बहुमत प्राप्त सरकार विसं २०१५ साल, ०४८, ०५६, र २०७४ का हरेक पटकका सरकार आफै भित्रको खिचातानीका कारणले भत्किएका थिए । जसका कारण नेपाली मतदाताको मतमाथि दलले अपमान गरेको अवस्था थियो । यस निर्वाचनमा बलियो मत पाउने दलले बिगतका गल्तिबाट पाठ सिक्दै अगाडि बढ्नु पर्ने छ ।
यस निर्वाचनमा झापामा पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा उत्रिए । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाताले मताधिकार पाएको भए पनि पुरूष दुई लाख १५ हजार ७८५ र महिला दुई लाख ४२ हजार ५७५ गरी चार लाख ५८ हजार ३६२ ले मात्र मतदान गरेर निर्वाचनमा सहभागी भएका छन् । देशभरीको समग्र मतदान ६० प्रतिशत हुँदा झापामा ६४.२४ प्रतिशत मतदाताले मतदान गरेको देखिन्छ । यस पटकको निर्वाचनमा झापामा पुराना दल छोडेर नयाँ तर्फ आकर्षण बढाएको देखियो भने मतपाउने दलले मतदाताको विश्वास र भरोषामाथि कति न्याय गर्ला भविष्यले बताउला । यसकारण पनि यो निर्वाचन पुराना दलका लागि अस्तित्वको संकट भएको छ भने नयाँ दलका लागि सुनौलो अवसर बनिएको छ । बिगत जस्तो जनमत दुरूपयोग नहोस् । सत्ता स्वार्थका लागि अपार जनमत दिइएको होइन् ।
