पाँच वर्षका लागि आफ्ना प्रतिनिधि छान्दा सोच्नुहोस्
सम्पादकीय
वर्तमान नेपालको कानून अनुसार जनमतले अनुमोदित भइ सत्ता सञ्चालनको चावी ५ वर्षका लागि लिने अवसरका रूपमा निर्वाचनलाई लिने गरिन्छ । तर २०७९ मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित संघीय संसदका सदस्यले कार्यकालको ३ वर्ष पूरा नगर्दै फेरि निर्वाचनमा होमिनु परेको अवस्था छ । संघीय संसदका लागि प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० वटा पद गरी २७५ सदस्यीय संघीय संसदको निर्वाचन फागुन २१ गते सम्पन्न हुँदैछ । निर्वाचनको प्रचार अवधिको अन्त्यसम्म आइपुग्दा केही सामान्य छुटपुट घटना बाहेक शान्तिपूर्ण रूपमै प्रचार प्रसार भइरहेको अवस्था छ ।
आम मतदातामा यस निर्वाचनप्रति असीम उत्साह नदेखिए पनि नयाँ मतदामामा मतदानको हुटहुटीको संकेत भने देखिने गरेको छ । यस पटकको निर्वाचनले ५ वटा क्षेत्र रहेकोे झापालाई भने देशव्यापी रूपमा निकै चर्चाको शिखरमा दौडाएको अनुभव मतदाताले पाएका छन् । १५ वटा स्थानीय तह तथा १३१ वटा वडा रहेको झापाका मतदाताले ५ वर्षे अवधिका लागि संघीय संसदमा पाँच वटा क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ९० जनाले दर्ता गराएको उम्मेदवारी मध्येबाट ५ जना छान्नु पर्ने छ । प्रतिनिधि छनौट निकै सकसपूर्ण भए पनि राम्रो क्षमता र योग्यताले भरिएको उत्कृष्ट उम्मेदवार छान्नै पर्ने छ ।
यस निर्वाचनमा देशभर १० लाख बढी नयाँ मतदाता थपिदा झापामा मात्र निर्वाचनका लागि ५० हजार नयाँ मतदातासहित सात लाख १३ हजार ५३७ मतदाताले मतदान गर्न पाउने छन् । यस पटकको निर्वाचनमा तीन लाख ५८ हजार ३४६ पुरूष तथा तीन लाख ५५ हजार १९१ महिला र ८ जना अन्य मतदाताले झापामा मतदान गर्ने छन् ।
पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेका छन् भने सवैभन्दा कम क्षेत्र नम्वर ४ मा रहेको जिल्ला निर्वाचन कार्यालयको अभिलेखले देखाउछ । देशभरी मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ रहेकोमा १० लाख १६ हजार ७५४ जना मतदाता पहिलो पटक मतदानमा सहभागी बन्ने छन् । यिनै नयाँ मतदाताले राजनीतिक उथलपुथलको औचित्य पुष्टि गर्ने आधार पाउने अनुमान आम मानिसमा रहेको छ । झापामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या बढी देखिन्छ । यस निर्वाचनका लागि झापामा ८ सय १५ मतदान केन्द्र र २ सय ८५ वटा मतदानस्थल कायम गरिएको छ । ३५ लाख ७४ हजार २८६ मतदाता रहेको कोशी प्रदेशमा १७ लाख ४९ हजार ७३ महिला, १८ लाख २८ हजार २१३ पुरुष र अन्य २४ जना मतदाता रहेका छन् भने निर्वाचनमा मतदान गर्न यस प्रदेशमा चार हजार २७० मतदान केन्द्र र एक हजार ९०७ मतदान स्थल छन् । सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरीको सुरक्षा घेरा निर्माण गरेर सरकारले शान्तिपूर्ण निर्वाचन गराउने वातावरण निर्माण गरेको छ तर पनि केही सचेत भनिएकै मतदाताहरू निर्वाचनका बारेमा आशंका व्यक्त गरिरहेका छन् ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त, वातावरण कायम राख्न माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू पनि गरिएको छ । आचारसंहिता अनुसार निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, अपमान गर्ने, मिथ्या सूचना, द्वेषपूर्ण भाषण, टीकाटिप्पणी इन्टरनेट वा टेलिभिजनमा सम्प्रेषण गर्न पाइदैन तर केही दलका केही उम्मेदवारले आचारसंहिता उल्लंघन गरेका उजुरी पनि परिरहेको अवस्थाले हुन सक्छ केही मतदाताले निर्वाचनका बारेमा आशंका व्यक्त गरेका हुन् । तर पनि देश निर्वाचनमय बनिसकेको छ । शंका गरेर होइन निर्धक्क मतदान गर्न सवै मतदाता जानै पर्छ । खराव मति भएका उम्मेदवार छान्ने होइन सक्षम र योग्य उम्मेदवार छान्न सके देशभित्रका विकृति रोक्ने नेतृत्व सरकारमा पुग्ने वातावरण बन्छ ।
