झापामा निर्वाचनका लागि ७ हजार ३८० जना जनशक्ति परिचालन गरिने
भद्रपुर । झापामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ हजार ३८० जना जनशक्ति परिचालन गरिने भएको छ ।
जस मध्ये झापाका पाँचवटा मतदान केन्द्रमा निर्वाचनका लागि महिला कर्मचारी मात्रै खटिने छन् ।
प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र राख्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । ‘ हामी प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकवटा मतदान केन्द्र महिला कर्मचारी मात्रै भएको व्यवस्था गर्न लागेका छौं’उनले भने । उनका अनुसार पाँचवटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारीसम्म सबै महिला खटाइने छ ।
फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि ५० हजार नयाँ मतदातासहित सात लाख १३ हजार ५३७ मतदाताले मतदान गर्न पाउने छन् ।
यस पटकको निर्वाचनमा तीन लाख ५८ हजार ३४६ पुरूष तथा तीन लाख ५५ हजार १९१ महिला र ८ जना अन्य मतदाताले झापामा मतदान गर्ने छन् ।
पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेका छन् भने सवैभन्दा कम क्षेत्र नम्वर ४ मा रहेको जिल्ला निर्वाचन कार्यालयको अभिलेखले देखाउछ ।
कार्यालयको विवरण अनुसार झापा क्षेत्र नम्बर ५ मा ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेको देखिन्छ । यस क्षेत्रमा ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् ।
झापा क्षेत्र नम्बर ४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य एक सहित एक लाख ३० हजार ७१२ मतदाता छन् भने ६३ वटा मतदान स्थल र १५६ वटा मतदान केन्द्र रहेका छन् ।
क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष, ६९ हजार ६८३ महिलासहित एक लाख ४० हजार ८५७ मतदाता छन् भने ६७ वटा मतदान स्थल र १६४ वटा मतदान केन्द्र रहेका छन् ।
क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य पाँचसहित एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । यहाँ ४९ वटा मतदान स्थल र १६५ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।
यसैगरी क्षेत्र नम्बर १ मा ६५ हजार ८५८ पुरुष, ६५ हजार २०९ महिलासहित एक लाख ३१ हजार ६७ मतदाता छन् भने ४३ वटा मतदान स्थल र १४५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयको विवरणले देखाउँछ ।
यस निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् ।
७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त संख्यामा कर्मचारी खटाइने भएको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताए ।
निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ ।
