राजनीतिसमाचारस्थानीय

संसदीय निर्वाचनका लागि झापा ३ मा रोचक प्रतिष्पर्धा हुँदै

भद्रपुर । फागुन २१ गते तोकिएको संघीय संसदका लागि हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा झापा ३ मा रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।

२०७४ सालयता भएका दुई वटा निर्वाचनमा नेकपा एमालेको सहयोगमा निरन्तर जीत निकाल्दै आएका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन यस पटक एक्लै चुनावी मैदानमा रहेका कारण जीत निकाल्न मुस्किल देखिएसंगै प्रमुख दलका उम्मेदवार बिच रोचक भिडन्त हुने देखिएको हो ।

२०७४ सालको पहिलो संघीय संसदको निर्वाचनमा झापा ३ मा नेकपा एमालेसित रहस्यम साँठगाठ गरेर नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधान सहित गृहमन्त्री रहिसकेका कृष्णप्रसाद सिटौलालाई ठूलो मतान्तरमा हराएका लिङ्देन संघीयता र गणतन्त्रको बिरोध गरेरै पार्टीको नेतृत्व समेत हत्याउने शक्तिमा पुगेका थिए ।

लिङ्देनले काँग्रेस नेता सिटौलाका कारण झापा ३ पछाडि परेको भाष्य स्थापित गरेर संघीय संसद छिरे पनि झापा क्षेत्रनम्वर ३ भित्र २०७० सालपछि निर्माण सुरू भएका दर्जन बढी बहुवर्षे आयोजना अहिलेसम्म बेवारिसे अवस्थामा अलपत्र छन् । कोशी प्रदेशकै ठूलो सभाहलका रूपमा निर्माण थालिएको बहुउपयोगी सरकारी स्वामित्वको जिपी भवन, भद्रपुर चिस्यान केन्द्र जस्ता करोडौं रकम खर्चिएर निर्माण सम्पन्न नभइ अलपत्र संरचनाले लिङ्देनको संसद यात्रालाई दशकयता जिस्क्याइरहेका छन् ।

यी र यस्ता संरचना निर्माण सम्पन्न गराउन लिङ्देनले दुई कार्यकालभित्र संसद भवन र सरकारी नेतृत्वकर्तासित चुइक्क बोलेको आवाज समेत सुनिएन । शुद्ध पिउनेपानीको समस्या रहेको कचनकवल र बाह्रदशी गाउँपालिकाभित्र आधादर्जन खानेपानी आयोजना अलपत्र हुँदा समेत लिङ्देन रमिते मात्र बनेको पीडित नागरिकको गुनासो छ । २०७९ को निर्वाचनमा पनि नेकपा एमालेसित तालमेत गरेर सिटौलालाई हराएका लिङ्देनले त्यस बेला संघीयता खारेज र राजतन्त्र पुनस्थापन नगरी नफर्कने बाचा समेत गरेका थिए । त्यो पनि पूरा नगरी लिङ्देन फेरि निर्वाचनमा होमिएका छन् । अबको निर्वाचनमा लिङ्देनले के नारा फलेर जनताका घर आँगनमा चासो समेत बढेको छ ।
लिङ्देनका यिनै कम्जोरी मतदातालाई देखाएर काँग्रेस, एमाले, रास्वपा तथा श्रम संस्कृति पार्टीका उम्मेदवार उनलाई रोक्ने रणनीतिमा लागेका छन् ।

अघिल्लो निर्वाचन २०७९ मा राप्रपाले झापा ३ मा ल्याएको पार्टीको समानुपातिक मतले मात्र लिङ्देनले जीत निकाल्न संभव नदेखिने मतदाताको विश्लेषण छ । अघिल्लो निर्वाचनमा एमाले र राप्रपाको मत जोडेर लिङ्देनले ४० हजार ६४८ मतसहित आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । सिटौलाले ३७ हजार ३७२ मत ल्याएका थिए । लिङ्देनलाई एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनमा रहेका माओवादी, नेकपा एस लगायत दलहरूको समर्थन रहेको थियो ।

०७९ मा प्रत्यक्षतर्फ राप्रपा अध्यक्ष लिङ्देनले चुनाव जिते पनि समानुपातिकतर्फ भने कांग्रेस पहिलो पार्टी बनेको थियो । त्यो बेला कांग्रेसले समानुपातिकतर्फ २५ हजार ५३५, राप्रपाले १९ हजार ७४३ र एमालेले १९ हजार ४६० मत प्राप्त गरेका थिए । ०७९ मा प्रत्यक्षतर्फ तेस्रो मत प्राप्त गरेको रास्वपाले समानुपातिकतर्फ चौथो स्थान अर्थात ७ हजार ८१२ मत प्राप्त गरेको थियो ।

समानुपातिक मतलाई हेर्दा झापा ३ मा राप्रपा दोस्रो पार्टी हो । राप्रपाभन्दा कांग्रेसको समानुपातिक मत ५ हजार ७९२ बढी थियो । त्यस्तै राप्रपाभन्दा एमालेको समानुपातिक मत मात्र २८३ कम थियो । यस पटकको निर्वाचनमा सबै पार्टीहरुले एक्लाएक्लै उम्मेदवारी दिइरहँदा यदि ‘म्याच फिक्सिङ’ को षडयन्त्र भएन भने आफ्नै बलबुतामा चुनाव जित्नु पर्ने हुन्छ । विगतको दुईवटा निर्वाचनमा जस्तो ‘गज्याङ’ नभएर सबै दलको आ–आफ्नो हैसियत छर्लङ्ग हुन्छ ।

२०७४ को तुलनामा २०७९ मा लिङ्देनले ल्याएको मतान्तर घटेको छ । त्योबेलाको निर्वाचनमा लिङ्देनले १३ हजार ४४३ मतान्तरले पुराना प्रतिद्वन्द्वी सिटौलालाई हराएका थिए । त्यसको पाँच वर्षपछि २०७९ मा भएको निर्वाचनमा मतान्तर ३ हजार २७६ मा झरेको हो । २०७४ सालको निर्वाचनमा ४४ हजार ६१४ मतसहित लिङ्देन निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा भने सिटौलाले लिङ्देनलाई हराएका थिए ।

झापा– ३ मा चारवटा पालिका छन् । भद्रपुर नगरपालिकाका ८ वटा वडा, कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिका तथा बिर्तामोड नगरपालिकाको १० नं वडा यस क्षेत्रमा पर्छ । १ लाख ४० हजार ८५७ मतदाता रहेको झापा– ३ मा ९ हजार ४०० नयाँ मतदाता थपिएका छन् ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा चारवटा पालिकामध्ये कांग्रेसले दुईवटा( भद्रपुर र कचनकवल) जित्दा राप्रपाले हल्दिवारी र एमालेले बाह्रदशी जितेका थिए । २०७४ मा भएको अघिल्लो स्थानीय तहको निर्वाचनमा राप्रपाले दुईवटा पालिका( हल्दिवारी र कचनकवल) जित्दा कांग्रेसले बाह्रदशी र एमालेले भद्रपुर जितेका थिए । यसबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा २०७९ को निर्वाचनमा राप्रपाको जनमत घटेको देखिन्छ ।

२०७९ को प्रतिनिधि सभाको पार्टीगत समानुपातिक मत र सोही वर्ष भएको स्थानीय तहको निर्वाचनमा पाएको सफलतालाई हेर्दा कांग्रेसको संभावना बलियो देखिन्छ । अर्कोतर्फ १२ वर्षपछि एक्लै निर्वाचन लडेको एमाले यस पटक उत्साहित देखिएको छ । कार्यकर्ताको उत्साहित मतलाई निर्वाचनको बुथसम्म पु¥याउनु पर्ने चुनौती पनि त्यतिकै छ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पार्टी अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिन लागेपछि यसपटक पनि एमालेले झापा ३ मा राप्रपासंग तालमेल गर्नेगरी उम्मेदवार होल्ड गरेको थियो । तर, दुवै पार्टीबीच सहमति नभएपछि अन्तिमा एमालेबाट संविधानसभा सदस्य हरिबहादुर राजवंशीलाई उम्मेदवार बनाइउको छ ।
पुरानै बिरासत बोकेका कांग्रेस , एमाले, राप्रपा र रास्वपाबीच कडा प्रतिष्पर्धा हुने चर्चा चलिरहँदा अहिले चलेको चुनावी लहरका कारण रास्वपाका उम्मेदवार प्रकाश पाठकले पो बाजी मार्छन् कि भन्ने अड्कल पनि गरिएको छ । झापा– ३ मा नेपाली कम्युनिस्ट पार्टीका डिल्लीराम घिमिरे (हिक्मत) सहित १७ जना उम्मेदवार छन् ।

जसलाई उम्मेदवारी दर्ताको क्रम संख्याका आधारमा निम्नानुसार हेर्न सकिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी लधु, राप्रपाबाट राजेन्द्रप्रसाद लिङ्देन, जनमत पार्टीबाट हर्षलाल राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनबाट यमकुमार श्रेष्ठ, श्रम संस्कृति पार्टीबाट दीपक तिम्सिना, नेकपा एमालेबाट हरिकहादुर राजवंशी, नेपाली काँग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट डिल्लीराम घिमिरे, जसपाबाट विनीताकुमारी राजवंशी, उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला साँवा, जसपा नेपालबाट कर्णलाल राजवंशी, नेशनल रिपब्लिक नेपालबाट जयन मगर, नेकपा (माओवादी विप्लव) बाट सन्तोष कटुवाल, स्वतन्त्रबाट मानबहादुर सङ्ग्रौला र अभय राजवंशीले उम्मेदवारी दिएका छन् । यिनै उम्मेदवार मध्ये एक जनाले संघीय संसदमा प्रतिनिधि बन्न मतदाताको बहुमतबाट साथ पाउने छन् । बिगतको जस्तो ठूलो मतान्तर सहित निर्वाचन जित्न भने कुनै पनि उम्मेदवारले नसक्ने संकेत मतदाताको मन परिवर्तनको लहरले देखाउँछ ।