राजनीतिसमाचार

निर्वाचन २०८२ का केही रोचक तथ्य

निर्वाचनसित जोडिएका रहस्य नियाल्दा

अनपेक्षित समयमा गराउन लागिएको यसपटकको निर्वाचनले एकसाथ अनेक रेकर्ड तोडेको छ । सबैभन्दा पहिलो तथ्य यो निर्वाचन मध्यावधिमा हुँदैछ तर यो कुनै प्रधानमन्त्रीले आफ्नो अनुकुल संसद् बनोस् भन्ने उद्देश्यले सम्विधानअनुसार संसद् विघटन गरेर आयोजना गरिएको मध्यावधि होइन । त्यसैले पूरा कार्यकालको तीन वर्ष नबित्दै गरिएको चुनाव भएपनि यो मध्यावधी होइन ।

दोस्रो, यो निर्वाचन संविधान भन्दा बाहिरबाट बनेको सरकारले गराउँदैछ । तेस्रो, निर्वाचन गराउन गठन गरिएको सरकार आफै कालान्तरमा एउटा दलविशेषको भएको प्रमाणित हुन पुगेको छ । संसदमा समानुपातिकसहित एक्काईस स्थान ल्याएर चौथो बनेको दलका मानिसहरू जो जेन्जीको नाममा भएको विध्वङ्शमा अगुवाइ गर्दै सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र शितल निवास जलाउनेदेखि जेल फोडेर कैदी भगाउनेसम्मको कार्यमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा संलग्न भएकाहरू नै चुनावी सरकारमा सहभागी भएको पुष्टि हुन पुगेको छ ।

नागरिक सरकार दाबी गरिएको मन्त्रिमण्डलमा सामेल अधिकाम्स ब्यक्तिहरू रास्वपाका कार्यकर्ता, समर्थक या शुभेच्छुक रहेको स्पष्ट भएको छ । प्रधानमन्त्रीका सल्लाहकारसमेत रास्वपासम्बद्ध रहेका छन् । त्यसैले नागरिकका नाममा एउटा दलविशेषको अन्तरिम सरकार बनेको हुनाले पनि यसले बेग्लै सन्देश दिएको छ ।

यो निर्वाचनले अर्को रेकर्ड के तोडेको छ भने यसपटक दलहरूले घोषणापत्र प्रस्तुत गर्ने कुरालाई भन्दा आफ्नो तर्फबाट बन्ने प्रधानमन्त्री तोकेर चुनावी मैदानमा उत्रने कुरालाई प्राथमिकतामा राखेका छन् । यसबाट नीतिले होइन देश बनाउने नेताले हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ र यसलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अवधारणातर्फ देशलाई लैजान खोजेको सङ्केतका रूपमा पनि लिइएको छ ।

निर्वाचनले तोडेको अर्को रेकर्ड झन् खतरनाक देखिन्छ । पहिलेका निर्वाचनमा विकाश, समृद्धि र कार्ययोजना देखाएर मत मागिन्थ्यो, यसपटक आफूले जितेमा अर्को पक्षलाई कसरी सिध्याइन्छ भन्ने प्रतिशोधी प्रलाप ज्यादा देखिएको छ । यसले चुनावपछि मुलुक झन अराजकता र अन्यौलमा फस्ने सङ्केत दिएको छ ।

यसअघिका निर्वाचनमा राजधानीमा सबै नेपालीको ज्यादा ध्यानाकर्षण हुने गर्दथ्यो । तर, यसपटक काठमाडौं उपत्यकाका निर्वाचन क्षेत्रहरूमा आम जनताको ध्यान आकर्षित भैरहेको छैन । देशका सबैभन्दा चर्चा पाएको निर्वाचन क्षेत्रका रूपमा झापा ५ लाई लिइन्छ । सामाजिक सञ्जालमा लुसिफर उपनामले चिनिने बालेन्द्र साहको चर्चा अधिक रहेपनि सो क्षेत्रमा केपी शर्मा ओलीको पल्ला निकै भारी देखिन्छ ।

यसअघिको निर्वाचनमा केपी अट्ठाइस हजार पाँच सय मतको अन्तरले विजयी बनेका थिए । यसपटक सोही स्तरको मतान्तर हुने परिस्थिति अहिलेसम्म बनेको छैन । झापाबासीहरूमा सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलाउनेहरूप्रति चरम घृणा रहेको र टुरिष्ट उम्मेदवारका रूपमा बालेन्द्रलाई लिने गरिएको अवस्थाले ओली जीत उन्मूख र बालेन हारतर्फ लागेको संकेत देखिन्छ ।

घटना र विचारबाट