भद्रपुरमा ‘किड्स साइक्लोथन प्रतियोगिता’
भद्रपुर । पहिलो पटक ‘भद्रपुर किड्स साइक्लोथन-२०८२’ सम्पन्न भएको छ । भद्रपुर साइकल समाजको आयोजनामा मुलुकको पाँचौं र कोशी प्रदेशको पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका-भद्रपुर’मा ८-१४ वर्ष उमेरको सहभागितामा माघ १० गते बिहान साइकल दौड प्रतियोगिता भएको हो ।
भद्रपुरका नगर-प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागी साइकल-राइडर बालबालिका एवम् किशोर-किशोरीहरूले महेन्द्र पार्क (महेन्द्र उद्यान)देखि गायत्री मन्दिर, गार्मेन्ट चोक, बोक्तोबारी भएर मन्त्री चोकबाट पूर्व झापा चोकको मुख्य सडक हुँदै महेन्द्र उद्यानसम्मको ११.११ किमि निर्धारित दूरी पूरा गरेका थिए ।
साइकल दौड पूरा गर्ने १९ जना सहभागीलाई प्रदान गर्न ‘भद्रपुर झापा गोल्डकप’का अध्यक्ष एवम् समाजसेवी दिपेश ढकाल र प्रभा ढकाल दम्पतीबाट नगद पुरस्कार सौजन्यस्वरुप प्राप्त भएको भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
पुरस्कृत राइडरहरूमा ऐश्वर्या शर्मा र प्रसुनबाबु भट्टराई – प्रथम, रेश्मा राजवंशी र भवानी चापागाईं – द्वितीय, अस्मिता कुँवर र सक्षम घिमिरे – तृतीय, आरजु कोइराला र अनिरुद्र तामाङ – चौथो, मोहिनी गोयल र श्रेयम अधिकारी – पाँचौं, आरुषी श्रेष्ठ र एलेक्स शंकर – छैठौं, आरोग्या थापा र दर्पण भट्टराई – सातौं, आराध्या गोयल र मनन उप्रेती – आठौं, हर्षिका गोयल र आकाश राजवंशी – नवौं र सोवत्स लम्साल – दशौं भएका थिए ।
प्रथमलाई ३ हजार, द्वितीयलाई २ हजार, तृतीयलाई १ हजार र चौथोदेखि दशौंसम्मलाई जनही ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
