राजनीतिसम्पादकीय

लोकतन्त्रको जग काँग्रेस बच्नु पर्छ

सम्पादकीय

नीति नियममा चल्ने हो भने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पदावधि गएको मंसिरमै सकिएको थियो । समय अनुसार पार्टी चलेकोे भए फुटको अवस्था आउने थिएन होला । अपवादका रूपमा राखिएको विधानमा विशेष र अप्ठ्यारो परिस्थितिमा एक वर्ष म्याद थप्ने प्रावधानको दुरूपयोग हुने पनि थिएन । यिनै प्रावधानको आफू अनुकुल व्याख्या गर्दै नेताहरूले काँग्रेसलाई विभाजनको शिकार बनाएरै छोडे । महाधिवेशन सम्बन्धी विवाद चुलिएसँगै नेपाली कांग्रेसमा ठूलो विग्रह उत्पन्न भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनले कांग्रेस नफुट्ने दाबी गरिरहेका थिए भने संस्थापन पक्ष भनिएको सभापति शेरबहादुर देउवा सहितका बहुमत सदस्य विभाजनको भय सञ्चार गरिरहेको थियो । तर दुवै पक्षले मिल्ने मिलाउने प्रयास नगर्दा निर्वाचनको मुखमा पार्टी दुई टुक्रा बनेको छ ।
जेन–जी पुस्ताले भदौ २३ र २४ गते गरेको विद्रोह र विध्वंसले नेपालको राजनीतिक धरातललगायत धेरै क्षेत्रमा ठूलो भुइँचालो ल्यायो । समग्र देशको स्थिति र परिस्थितिले कोल्टे फेरेको छ र अवस्था अत्यन्त जटिल तथा गम्भीर मोडमा पुगेको छ ।

 

यस्तो संकट सामना गर्न काँग्रेसले पहल र नेतृत्व दिनु पर्ने थियो तर अन्तर कलहमा पार्टीलाई धकेलेर नेतृत्वले जनविद्रोहको समेत उपहास गर्ने दुस्साहस गरेको कारण सजाय स्वरूप पाटी नै विखण्डनको बाटोमा गएको छ । आउँदो निर्वाचनसम्म यही परिस्थितिमा पार्टी अगाडि बढे २०६२÷०६३ मा पूर्व पञ्चहरूको प्रमुख दल राप्रपाको दर्जामा काँग्रेसको हविगत पुग्ने वातावरण बन्दै गएको छ । नव पुस्ताको आन्दोलनको बिध्वम्सात्मक घटनासँगै बहुमतको सरकारले राजीनामा दिएर भाग्नुमात्र परेन जननिर्वाचित संसद् विघटन हुनपुग्यो । अन्तरिम सरकारले आउँदो फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउने जिम्मेवारी पाए अनुसार चुनावी वातावरण पनि बन्दै जाँदा लोकतन्त्रको मुख्य जिम्मेवार ठान्ने काँग्रेस पार्टी आफै अलोकतान्त्रिक नेतृत्वको चरित्र प्रस्तुत गर्न नसकेर छिन्नभिन्न अवस्थामा पुगेको छ ।

निर्वाचनको विरोधमा रहेको नेकपा एमाले समेत अन्य दलहरू जस्तै निर्वाचनमा सहभागी हुने सार्वजनिकरूपमै लागिसकेको अवस्थामा काँग्रेस किचलोमा फस्नु यस व्यवस्थाका लागि गम्भीर संकटको संकेत हो । कांग्रेसका महामन्त्री गगन थापाले ‘निर्वाचनमा भाग लिने र निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने’ भनेर सवै दलभन्दा अगाडि काँग्रेसलाई लोकतन्त्रप्रति जिम्मेवार पार्टी भएको संकेत गरेका थिए । तर, पुराना दलहरूप्रति जनमानस असन्तुष्टमात्र होइन आक्रोशित रहिरहेका बेला काँग्रेसले नेतृत्व फेर्न पछाडि हट्नु यस निर्वाचनमा पराजयको बाटो निर्माण गर्नु जस्तै थियो । पुराना सोच पालेका नेतृत्वले जनआवाज नसुनेकै कारण राज्यले विद्रोहसँगै अकल्पनीय क्षति व्यहोर्नु परेको छ । नेतृत्व र नीति नफेरि काँग्रेस लगायत अन्य पार्टीहरू मत माग्न जाँदा यथास्थितिमा पुगे मतदाताले मत नदिनेमात्र होइन लाठो लिएर खेद्ने अवस्था छ । तर नीतिगत रूपमा वैधानिकता गुमाएको काँग्रेस नेतृत्वले जनभावना बुझ्न नसक्दा पाटी क्षतविक्षत भएको हो । काँग्रेसमा नेतृत्व–पुस्तान्तरण विषयले चर्किएको विवादजस्तो देखिए पनि यो भित्र–भित्रै लोकतान्त्रिक अभ्यास, पार्टीभित्रको विधिको सर्वोच्चता र समयको मागअनुसार आफूलाई रूपान्तरण गर्न सक्ने र नसक्नेहरूबीचको निर्णायक संघर्ष बनेर विशेष महाधिवेशनको आवाज स्वरूप नेतृत्वनै फेरिदिएको छ ।

जेनजी आन्दोलनपछि काँग्रेसमा नेतृत्व रुपान्तरणको माग उठ्यो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरे । तर, विशेष महाधिवेशन कि नियमित महाधिवेशनको गलफत्तीमा कांग्रेसले बैठक गर्दैमा डेढ महिना बितायो । अन्ततः नियमति महाधिवशेन गर्ने भनेर पुस २७ बाट महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरियो । तर त्यस कार्यतालिकालाई समेत निस्तेज बनाउँदै बैशाखमा सारेर काँग्रेस रूपान्तरणको माग बेवारिसे बनाउन बहुमत जुटेपछि विशेष महाधिवेशनको माहौल खडा भएको थियो । जसलाई कार्यकर्ताले काँग्रेस सच्चिने कि सक्किने भन्दै प्रश्न गरिरहेका छन् । नेतृत्वको चेत नखुलेसम्म काँग्रेस सच्चिनेभन्दा सक्किने बाटोमा छ । समयमै सोच लोकतनत्रको मुख्य जग मानिएको पुरानो पाटी कााग्रेस जोगाऊ ।