राजनीतिसमाचारस्थानीय

मौलिक रूपमा स्थापित पुख्यौली पेशा संकटमा परेको गुनासो

द्रोण अधिकारी
भद्रपुर । माटोसित रमाएर जीवन गुजारा गर्ने मूर्तिकार विष्णु राजवंशी दोश्रो पुस्ताका कलाकार हुन् । मूर्तिकला सम्बन्धि औपचारिक शिक्षा नलिकनै बाबुको पेशामा सहयोगी बन्ने क्रममा पोख्त मूर्तिकार बन्ने शौभाग्य पाएका राजवंशीको पुख्यौली पेशा पछिल्ला केही वर्षयता आर्थिक संकटको सामना गरिरहेको छ ।

झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारी माता मन्दिर छेउमा बीस वर्षयता माटाको मूर्ति बनाएर जीवन चाइरहेका कलाकार राजवंशीको कलाकृतिमाथि भारतीय बजारबाट अवैध प्रवेश पाउने मूर्तिहरूले व्यवसायिकतामा धावा बोल्ने क्रम बढ्दै जादा परिवार धान्न हम्मेहम्मे पर्दै गएको हो ।

दुई सन्तानको शिक्षादिक्षा र ४ जनाको परिवार धान्ने आधार यही मूर्तिकला रहेको कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय व्यवसाय नचल्दा आर्थिक संकटले सताउन थालेको छ ।

उनले जानेको मूर्तिकलाका लागि लगनशीलता र मेहनतलाई घटाएका छैनन तर पनि आफ्नो व्यवसायमा अतिक्रमण बढेकै कारण निर्मित मूर्ति नबिक्दा आर्थिक संकटको सामना गर्नुृ परेको उनको भनाइ छ ।

अभिषेक मूर्ति उद्योगका नाममा बैधानिक रूपमा सञ्चालनमा रहेको उनको उद्योगको उत्पादनलाई भारतीय बजारबाट भित्रने अवैध मूर्तिले नराम्ररी संक्रमण गरिरहेको उनको भनाइ छ । अवैध रूमा भारतबाट आउने मूर्ति नरोक्ने हो भने विष्णु जस्ता नेपाली माटोमा गरिखानेहरू भोकै मर्नु पर्ने दिन आइसकेको उनले बताएका छन् ।

मूर्ति उत्पादनमा चर्चित उनको उद्योगको मेचीदेखि महाकालीसम्म पहिचान बनाएर फैलिएको थियो । अहिले सम्झँदा उनलाई आफ्नो व्यवसाय बनावटी कथा जस्तो लाग्न थालेको छ ।

पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जगाउन कला र संस्कृति संरक्षणमा जुटेका राजवंशी हिन्दु परम्पराका विशेष गरी दशैं, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्म पूजा, देवि पूजा लगायतका लागि आवश्यक पर्ने मूर्ति निर्माणमा सकृय हुने गरेका छन् ।

राजवंशी विभिन्न जातीय संस्कार संस्कृतिका झलक दिने मूर्ति वनाउन व्यस्त रहने गर्दछन् । उनी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन । उनको मूर्तिकला हिन्दु संस्कृतिका विभिन्न पर्वहरूमा बढी खपत हुने कारण परिवार पाल्ने पेशा बन्न सफल थियो । दुई जना छोरा छोरीलाई स्तरीय शिक्षा दिने, घर परिवार धान्ने आधार रहेको मूर्तिकला राजवंशी परिवारको पहिचान पनि हो । भारतमा सस्तो मूर्ति पाइने हल्लाले ग्राहक भारततिर जाने वा भारतीय व्यपारीले गाउँगाउँमा गएर मूर्ति बेच्न थालेपछि समस्या आउन थालेको राजवंशीको भनाइ छ । उनका अनुसार भारतीय वजारमा भन्दा उनको उत्पादन रहेका मूर्ति निकै सस्ता छन् तर प्रचार अभावले ग्राहकले चाल नपाएका कारण बाहिर जाने गरेका छन् ।

माटोसंगै खेलेर चार जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसंगै साट्दै भगवान शिव, पार्वती काली, सरस्वती, विश्वकर्मा, लक्ष्मी, भगवती लगायतका विभिन्न देवी देवताका अतिरित्त अन्य जुनसुकै प्रकारका मूर्ति वनाउने गर्दछन । मूर्तिबाटै घरपरिवार चलाउदै समाजिक सेवामा समेत सहयोग र लगानी गरिरहेका छन् । राजवंशी स्वदेशी श्रम र माटोको माया गर्ने समाज सेवा र शुसासनका लागि पहरेदारी गरिरहेका सामाजिक अगुवा पनि हुन् । उनले समाज विचलनमा फस्ने कारणका रूपमा भ्रष्टचार रहेको ठहर गर्दै भद्रपुर नगरलाई भ्रष्टचार सुन्य नगरका रूपमा विकास गर्न स्थानीय विकास निर्माणमा कमिशन विहिन सेवा अभियान समेत चलाइ रहेका छन् ।

उनी युवापुस्तालाई स्वदेशी श्रम र सीपको महत्व बुझाउने अभियानमा समेत रहेका छन् । राजनीतिमा शुद्घीकरण अनिवार्य रहेको अनुभव सुनाउने राजवंशी लोकतन्त्रमा अशल शासक रहनु जरूरी ठान्छन् । पुराना दलको अकर्मन्यताले देश आर्थिक संकटतिर धकेलिएको बताउने राजवंशी पथभ्रष्ट प्रवृत्तिका नेताहरूलाई अबको निर्वाचनले बढार्नु पर्ने समेत बताउँछन् ।

पैसा र पहुँचमा राज्य सञ्चालक अलमल गरिरहेसम्म लोकतान्त्रिक गणतन्त्र सर्वहारा वर्गको पहुँचमा नआउने बताउने राजवंशी इमान्दार र लगनशील कार्यले पेशामा सफलता मिल्ने जनाउछन् । चार जनाको परिवार धानेर पनि समाजमा केही देन दिन उनको मूर्तिकलाको आय सफल भइरहेको स्मरण गर्छन् ।

नेपाली माटोलाई माया गर्ने राजवंशी मूर्तिकलाका उदाहरण भएर भद्रपुर नगरको आदिवासी क्षेत्र महेशपुरमा रमाइरहेका छन् । राजनीतिमा समेत सचेत राजवंशी पछिल्लो समय आगामी निर्वाचनले समुन्नत नेपालको मार्गचित्र कोर्छ कि भन्ने आशमा रहेका छन् । उनीसित सम्पर्क गर्न चाहनेले ९८१४९३३७७० नम्बरमा सम्पर्क गर्न सकिने बताउँछन् । राजवंशी आफूसित रहेको कला अन्यमा पनि हस्तान्तरण गर्न तत्पर भए पनि मूर्तिकला सिक्न कोही नआएको बताउने गर्छन् । माटो मात्र नभएर सिमेन्टका समेत माग बमोजिम मूर्ति बनाउन सक्ने राजवंशी पछिल्लो समय ग्राहक अभावले पेशा संकटको सामना गरिरहेको जनाउने गर्छन् । मूर्तिकलासितै राजवंशीले धार्मिक गुरूको भूमिकामा समेत सकृय रहेका छन् ।