लेख

देश अहिले अक्करिलाे संकटमा छ  !    

     नकुल काजी 
                   
राज्य-रूपान्तरणकाे लाेक-अपेक्षालाई समेटेर जाग्रत ठानिएकाे जेन-जी बिद्राेहकाे पछिल्लाे उपस्थिति सगाेल पनि छैन र सङ्लाे पनि छैन । र त्यसकारण, दुर्भाग्यवश  जन- विश्वासबाट खस्किने क्रममा छ । यसमा लहडी र बचकाना स्वभावकाहरूलाई  स्वघाेषितहरू प्रवेश गराइएर  किंवा स्थापित पार्टीका मुखिया-डफ्फेदारहरूका  ‘स्वार्थसम्पूरण‘ गरिखानेहरू मार्फत  हाँगाबिँगा लगाइएर टुक्र्याउने उपद्रव अवश्य रचिएकाे हुनपर्दछ भन्ने मैदानी समाजसम्म पनि अमंगल सुस्केराका साथ  सुनिन थालेकाे छ ।

‘जेनजीकाे प्रतिनिधि’ ढबकाे आवरणमा जताततै विभिन्न किसिमका अर्थहीन र अनपेक्षित  गतिविधि भइरहेका समाचारहरू आइरहेका छन् । जेन-जेीकाे आधिकारिक समूह कुन हाे र त्यसकाे स्थापनाकालकाे मार्गचित्र (road- map) स्वयम् यति छिट्टै अन्याेलग्रस्त अवस्थामा पुग्नुकाे कारण के हाे ? -आदि सारभूत प्रश्नकाे जवाफ स्वयम् नै दुर्लभप्रायः बन्दै गएकाे विश्लेषणहरू हुन थालेका छन् !

जेन-जेीकाे विद्राेह दुर्दम्य सावित भयाे, त्याे विद्राेहले एउटा अनपेक्षित स्वेच्छाचारी अधिनायकवाद डुङ्ग गन्हाउने तानाशाही  युगकाे अन्त्य गरी धरातलीय नेपालीका उद्दिष्ट जीवनान्तरवर्ती गुनासाहरूलाई सुखद रूपमै  सम्बाेधित तुल्याउने र नेपाललाई अग्रगमनकाे बाटाे खाेलिदिने काम गरेकाे आम विश्वासकाे यशस्वी इतिहास नै  रचेकाे मानिएकाे थियाे । तर, त्यस बिन्दुमा, विश्व-प्रचलित ‘आवश्यकताकाे सिद्धान्त ( Doctrine of Necessity)-काे अवधारणागत धरातल टेकेर  बनेकाे सरकारका काम-कारवाहीका ढाँचा-ढर्रा (working style) तद्नुकूल अथवा जेन-जीकाे शुरु प्रस्तुतिकालले प्रक्षेपण गरेकाे मार्गचित्रकाे स्वरूप अनुकूल  भएन !

याे सरकारले पनि, सम्माेहक ( populist ?) गफ-गफेडाकाे ओइराेले जन-मन सम्माेहित गरेर  शासकीय हकमा कायम रहिरहने पुरानै पारा वा उसकाे अवधि जसाेतसाे गुजार्ने  शैली नै पक्रिँदाे भयाे ! अर्कातिर विगतका शासकीय स्वेच्छाचारिताले पीडित-प्रताडित आम नागरिक कित्ताका आधारभूत अपेक्षा अनुकूल वा ‘शासकीय व्यवस्था’-काे कुनै कुरै नउठाई विद्यमान डेउढाे  अवस्था‘ परिवर्तनकाे काम गर्ने महत्वपूर्ण समयमा जेन-जीले पनि आफ्नै अन्तर्विराेध  र नेतृत्व (‘अगुवा’ मान्यता)-काे छिनाझपटी र उछिन्-पाछिन् नारेर अझ  बिल्लीबाठतिर धकेल्ने बचकाना तमाशा देखाउन थालेका दृश्यहरू देखिँदा भए  ! यसाे हुँदा देशकाे बढ्दाे लथालिङ्ग-भताभुङ्ग अवस्थामा सुधारकाे गुञ्जायस अझ खस्किँदै गएकाे हाे भनेर आउन थालेका कतिपय निरपेक्ष टिप्पणीहरू पनि गलत हाेइनन्  । माैजूदा सरकार र त्यसका उपस्थापक एवम् पृष्ठशक्ति मानिने जेन-जीका यिनै कमजाेरीले फेरि पुराना पार्टीका पाका नेताद्वारा निर्देशित दलहरूकाे उखरमाउलाे पन्पाउन थालेकाे छ ।

देशवासीकाे बहुप्रतिशत नागरिक गरीब र निर्धा छन् । तिनलाई कानूनका लाैराले तर्छाई-तर्छाई उठाइने तिराे (कर) एवम्  तिनै गरीबका दयनीय अवस्थाका कथा-व्यथा बन्दक राखेर विदेशबाट लिइने सहयाेगरूपी भिक्षा तथा ऋण-धनकाे तिजाेरी, व्यक्तिगत र नीतिगत रूपमै पनि, नचिथाेरेका जेठा दलीय नेता-अगुवा, कार्बारी, मुनिम-माेटिया आदि खुट्याउन राँकाे बालिरहने आवश्यकतै छैन, प्रष्टै छ । त्यस्ता जुठेहरू र तिनैबाट अनुकम्पाकाे जुठाे चाटेकाे आभारले थिचिएका मैदानी पाउभक्तहरूकाे संख्या समेत वर्तमान परिवर्तनकाे ३५/३६ वर्षयता कति पुगेकाे हाेला ? ….याे प्रसंग यहाँ किन जाेडियाे भने – याे समस्या चाहिँ यस  देशकाे अग्रपंक्तिकाे कडियल चक्रव्यूह बनेर प्रस्तुत छ । ‘भू-राजनीतिक चक्रव्यूह’ त भूइँ नागरिकका जीवन-दैनिकीलाई प्रत्यक्ष छुने समस्या हाेइन न त जन-अनुभूतिकाे प्राथमिकतामै पर्छ ।

अझ भू-राजनीतिकाे बहुमुखे  विस्तारवादी मातङ्कलाई त कुनै पनि बेथिति र कुशासनले ग्रस्त देशकाे जन-असन्ताेषकाे मनाेवैज्ञानिक प्रकीर्णताले नै  बाटाे बडारिदिने (traffic clear गरदिने) काम गरेकाे पाे पाइन्छ – चाहे त्याे जीवन धान्ने अपरिहार्य बाध्यता नै किन नहाेस् ।
अझ मिहिन तरिकाले छिन्किएर विश्लेषण पगार्ने  हाे भने – बितेकाे ३५/३६ वर्षयता विभिन्न दलका शासनकालमा जम्दै र बानी-व्यहाेरा बिगार्ने बानी अविच्छिन्न राख्तै आएकाे ‘राज्यकाे स्थायी सरकार’ मानिने ‘निजामती कर्मचारीतन्त्र’ र ‘सुरक्षा कित्ता’ , ‘न्याय प्रशासन’ आदिमा समेत तिनै समय-समयका शासकका दासत्वमा सप्रिँदै-माेटाउने पुस्तैनी ‘प्रवृत्ति’-काे पुस्तान्तरित संक्रमणकाे ढलीमली आज पनि बर्करार छ मात्र हाेइन, मजबुत पकड नै छ ! र, ती ‘पुरानाहरू’-कै  ‘गुलामगिरी’-मा निमग्न छन् भन्ने त साना-ठूला घटनाका  नालीबेली-केलाइमै छताछुल्ल भइराखेकै छन् ।

अहिले जेठा-पाकाहरूकाे बाँकट्टे यही अवस्थाकाे पिठिउँमा बुई चढेर सुख-समृद्धिकाे लैबरी गाउने र  निर्धा-निमुखा नागरिकलाई सर्वत्र माेहित गर्न, तर्छाउन, धम्काउन विवश पार्ने परिस्थिति बनाउन समेत मद्दतगार  भइरहेकाे कसाे नहाेला ? त्यसैले उनीहरूलाई सुधारिनु-सप्रिनुभन्दा साविकभन्दा अझ कठाेर बनेर  हैकमी हाँक डुक्रिन सजिलाे भइरहेकाे अनुमान हुन्छ । ठूला भनिने दल र तिनका नेता-नायक र जनस्तरका हनुमान-चालीसेहरूले जेन-जीकै, कतै फिलुङ्गाे-ज्वाला र कतै भूसकाे आगाे जस्ताे, पाैंठेजाेरी जस्ता अन्तरकलहकाे टेढाेमेढाे मनाेविज्ञान टेकेर आफूलाई अपरिमित शक्तिशाली ठान्ने सरल ‘भालुभुत्ते माैका’ पाइरहेका छन् भन्ने विश्लेषण पनि भइरहेकाे छ । अचम्म छ, जेन-जीका ससाना स्वार्थप्रेरित घटकहरूमध्ये  केही घटक अहिले आफैले बनाएकाे सरकारकाे बिराेधमा मुखर भई आकाश थुकिरहेछ  तथापि ‘नयाँ दल’-काे ढाेल-ढ्यांग्राे ठाेक्तै बढिरहेकाे भीड तिनलाई सही बाटाे देखाउन हाेइन ‘फकाउन’ प्रवृत्त देखिन्छ, जुन अर्काे नरमाइलाे किसिमकाे रमाइलाे’ विषय बनेर उदाउँदैछ ।

 अतः यिनै भाँडाकुटे तमाशा इत्यादिले नै, सायद, हाल पुराना दलका शिविरहरूकाे राताेदिनकाे अहंकारी, घमण्डी र जनता तर्छाउने  फरमान सिर्जित छ  भने कतै आपसमै राेइलाेका ज्वारभाटा पनि उर्लंदाे देखिन्छ  !… किनभने, वर्तमान विश्वका अधिक-अधिकांश देशमा सत्तालाई ‘विलासी मादक’ बनाई त्यसकाे व्यसनमा पल्केकाहरू त्यही अवसर कब्जा गर्न उद्यत बन्नु अन्तर्राष्ट्रिय समस्या नै बनेर उदित छ, जहाँबाट  के वितण्डा-के  उत्पात मच्चिइरहेकाे छैन र !?!…. संभवतः हाम्राे देशकाे ताजा वर्तमानमा पनि त्यही व्यहाेरा पुनरावृत्त हुन थालेकाे हाे कि ??…. यस्ता अनेक अक्करिला प्रश्नहरू खडा छन्, जसकाे जवाफ हाेइन – समाधान नेपालीकाे सर्वाेपरि अपेक्षा हाे । तर, यसरी हेर्दा, जम्मैमा देश अहिले अक्करिलाे हदै संकटमा छ । जसकाे कैरन छाेटाे हुँदैन !
त्यसैले, बस्, आजलाई यति नै !