मानव—हात्ती द्वन्द्व अन्त्य हुनै पर्छ
सम्पादकीय
खेती बाली उठाउने समय र सुख्खायाममा झापामा हरेक वर्ष हात्ती उपद्रो निकै बढ्ने गरेको छ । दशकौंदेखिको निरन्तर रहेको झापामा मानव—हात्ती द्वन्द्वको श्रृंखला निकै लामो भइसकेको छ । तराइको घना जंगल चारकोशे झाडीको महत्वपूर्ण क्षेत्रको प्रवेश विन्दु रहेको झापा भारतीय जंगलबाट नेपाल आउने पाहुना हात्तीको मार्गस्थल पनि हो ।
यसैकारण हरेक वर्ष चरिचरणका लागि हात्तीको हुल झापा प्रवेश गर्ने गरेको देखिन्छ । पछिल्ला वर्षहरूमा झापामा जंगल साँघुरिदै गएर बस्ती विस्तार भएसंगै हात्ती—मानव द्वन्द्वको बढोत्तरी हुन पुग्यो । यस द्वन्द्वको दीर्घकालीन समाधानका लागि पटक–पटक स्थानीयले सरोवारवालाको ध्यानाकर्षण गरे तर पनि समाधानको दीर्घकालिन उपाय निस्कन सकेन । यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा दिन प्रतिदिन बढ्दो छ । अन्नबालाी पाक्ने समयमा किशानलाई आफ्नो उपज जोगाउन निकै कठिन परिरहेको छ । सरोकारवाला निकायका रूपमा रहेको सरकारले प्रभावकारी काम नगरेको आरोप हात्तीबाट पीडित किसानहरूको छ ।
हात्तीले घर भत्काएको, बालीमा क्षति गरेको क्षतिपूर्ति पाउन पनि महिनौँ कुर्नुपर्ने बाध्यता रहेको किसानहरूको दुखेसो छ । सरकारले न समयमा क्षतिपूर्ति दिन सक्छ न त हात्ती आतंक नै रोक्न सक्छ । यही पीडाका कारण वर्षौंदेखि मानव—हात्ती द्वन्द्व सहेर बसेका किशानको समस्या सरकारले बुझ्नु पर्दैन भन्ने प्रश्न उठिरहेको भए पनि चित्त बुझ्ने जवाफ आउन सकेको छैन ।
सवैभन्दा पहिला एक दशक अगाडि उत्तर पूर्वी झापामा सरकारले करिब डेढ करोड खर्चिएर निर्माण गरेको इलामको पाटापुरदेखि मेचीनगरको नकलबन्दासम्मको १७ किलोमिटर लामो विद्युतीय तारबार बनाए पनि पछिल्लो समय उचित मर्मत सुधार नभएकै कारण निष्प्रभावी बन्दै गएको छ । विद्युतीय तारदेखि पनि हात्ती डराउन छाडिसकेको अवस्था छ ।
अब हात्ती छेक्ने तारबार बाहेको अर्को उपायको खोजी जरूरी देखिन थालेको छ । स्थानीय अग्रजहरूका अनुसार वि सं २०३० सालतिर भारतीय सिमावर्ती जंगलबाट झापातिर हात्तीका हुल आउनथालेको अनुभव छ । तर, जानकारहरूका अनुसार अहिलेको जस्तो आतंक वा बिनासको अवस्था थिएन । जब २०३४ साउन ९ मा तत्कालीन बाहुनडाँगी गाउँ पञ्चायत–९ की यशोदा विश्वकर्मा हात्तीबाट मारिइन् । त्यसपछि झापामा मानव–हात्ती द्वन्द्व सुरु भएको इतिहासले देखाउँछ । त्यो बेला घना जंगल रहेको यो क्षेत्र विस्तारै बस्ती विकास हुँदै गयो । विज्ञहरूका अनुसार हात्ती करिडोरमा बस्ती बस्न सुरू भएपछि नै मानव—हात्ती द्वन्द्व सुरू भएको हो ।
पञ्चायतकालका वन विभागका बडाहाकिम गञ्जबहादुर कार्कीका छोरा रविन कार्कीले लेखेको ‘बाहुनडाँगी सेरोफेरो’ पुस्तकमा ०३० सालपछि मात्रै झापाको बाहुनडाँगीमा मानव—हात्ती द्वन्द्वको सुरू भएको उल्लेख छ । यो द्वन्द्वको क्रम उत्तर पूर्वी झापाबाट दक्षिण पश्चिम हुँदै समग्र झापामा फैलिसकेको छ । यस अवधिमा झापा भित्रै बस्ने ३५—४० वटाको संख्यामा रैथाने हात्तीको झुण्ड निर्माण भइसकेको छ । झापामा रहेको वन क्षेत्रले यी हात्तीलाई नै पर्याप्त खान पुग्ने आहारा नभएका कारण वर्षभरी नै खानाको खोजीमा बस्ती पस्ने हात्तीको संख्या बढेको अवस्था छ भने पाहुना हात्ती प्रवेश गरेका बेला जनधनको क्षति तीव्र हुने अवस्था छ ।
झापामा हात्तीबाट बच्न भन्दै बेलुका सुत्ने बेलामा करेन्ट प्रवाह गर्ने र बिहानीपख उज्यालो भएपछि बन्द गर्ने डरलाग्दो काम समेत भइरहेको छ । यसले हात्ती मात्रै होइन, मानवीय क्षति हुने जोखिम छ । यी सवै जोखिम रोक्न सरोकारवाला निकाय जिम्मेवार हुनै पर्छ । हात्ती र मानव दुवै प्रकृतिकै उपज भएकाले द्वन्द्वको न्युनीकरण नभइ पर्यावरणमा समेत संकट आउन सक्छ । यसैले समयमै मानव—हात्ती द्वन्द्व अन्त्यका लागि सवै पक्ष एकजुट हुनै पर्छ ।
