समाचारस्थानीय

सहारा नेपाल साकोसको २९ औँ वार्षिक साधारणसभा पौस २१ गते

बिर्तामोड, झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) को २९ औँ वार्षिक साधारणसभाको अन्तिम माइन्युट प्रमाणित भेला यही पौस २१ गते सोमबार सम्पन्न हुने भएको छ ।

प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय इनरुवाको निर्देशनअनुसार संस्थाले ७ वटा एकाइ अन्तर्गत ८६ स्थानमा पौस १ गतेदेखि १२ गतेसम्म उप–एकाइ भेला सम्पन्न गरी प्रतिनिधिमूलक ढंगबाट सदस्यहरूलाई अन्तिम माइन्युट प्रमाणिकरण सभामा सहभागी गराउने जनाएको छ ।

साधारणसभाले संस्थाको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको आगामी ४ वर्षे कार्यकालका लागि २०८३ जेठ १४ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय गर्नेछ । साथै संस्थाले २०८२–२०८५ अवधिमा २५ अर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य लिएको छ ।

संस्थामा २०८२ आषाढ मसान्तसम्म १ लाख ९२ हजार २४० जना शेयर सदस्य आबद्ध रहेका छन् भने ८० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ । हाल संस्थाको वित्तीय अवस्था सुदृढ रहेको जनाउँदै शेयर पूँजी १ अर्ब ६९ करोड ७५ लाख, जगेडा कोष १ अर्ब ३२ करोड ६८ लाख, बचत १४ अर्ब १५ करोड ७६ लाख र लगानीमा रहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख रुपैयाँ पुगेको जनाएको छ । सोही अवधिमा संस्थाको कुल वासलात १८ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

राजनीतिक अस्थिरता, सामाजिक मनोबलमा गिरावट र सहकारीप्रतिको नकारात्मक धारणा हुँदाहुँदै पनि संस्थाले चालु वर्ष ३२ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा गर्न सफल भएको अध्यक्ष हरि बहादुर राजबंशीले जानकारी दिनुभयो ।

जोखिम न्यूनीकरणका लागि प्रति व्यक्ति बचत ३ लाख रुपैयाँभन्दा कम करिब ९८ प्रतिशत र २५ लाख रुपैयाँसम्मको ऋण करिब ९५ प्रतिशत रहेको संस्थाले जनाएको छ । संस्थाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ वटा महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेको छ ।

सदस्यहरूको उद्यमशीलता विकास तथा रोजगारी सिर्जनाका लागि एग्री बिजनेस युनिट स्थापना गरी सेवा दिइरहेको संस्थाले यस वर्षदेखि वातावरणमैत्री तथा शून्य कार्बन उत्सर्जनका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । साथै, शेयर सदस्यको घरमा मृत्यु भएमा अबदेखि फोटो फ्रेमको सट्टा पहाडे कागजमा समवेदना पत्र लगिने र मृतकको नाममा बिरुवा वितरण वा सामूहिक वृक्षारोपण गरिनेछ ।

संस्थाको लोकप्रिय स्वास्थ्य कार्यक्रम विपन्न वर्गसम्म पुर्‍याउन विशेष स्वास्थ्य कार्यक्रम लागू गरिनेछ । युवा सदस्यलाई लक्षित गरी युवा उद्यमसँग जोड्दै ‘स्टार्टअप कोष’ मार्फत सहुलियत कर्जा तथा लोकसेवा तयारी कक्षा सञ्चालन गरिने योजना पनि रहेको छ ।

प्रविधिमैत्री सेवा विस्तारअन्तर्गत सहारा स्मार्ट एप, क्यूआर, एटिएम, एसएमएस सेवासँगै यस वर्षदेखि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गर्ने तयारी गरिएको छ । भौतिक पूर्वाधारतर्फ बिर्तामोड–२ चारपानेमा शैक्षिक तालिम केन्द्र र शिव–शताक्षी दोमुखामा कृषि स्रोत केन्द्र निर्माण सुरु गरिनेछ ।

संस्थाले २०८२/०८३ आषाढ मसान्तसम्म २ लाख २५ हजार सदस्य, २० अर्ब रुपैयाँ वासलात र ४२ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ ।

अन्त्यमा, अध्यक्ष राजबंशीले २९ औँ वार्षिक साधारणसभा सभ्य र भव्य रूपमा सम्पन्न गर्न शेयर सदस्य, कर्मचारी, सरोकारवाला निकाय, स्थानीय सरकार तथा पत्रकारहरू सबैसँग सकारात्मक सहयोगको आग्रह गर्नुभएको छ ।