सम्पादकीयस्वास्थ्य

कारागारको फोहोरको उचित निकाश देऊ

सम्पादकीय

दुई दशकयता समाधानको बाटो खोजीरहेका भद्रपुर ९ र १० का नागरिकले आफ्नो बस्ती वरपर स्वास्थ्य वातावरणको निर्माण गर्न झापा कारागारबाट निस्कने फोहोर उचित तरिकाले व्यवस्थापन हुनु पर्ने भनिरहेका छन् । पीँडितहरूले फोहो व्यवस्थापनका लागि हार गुहार सुरु गरेको निकै समय भै सके पनि जिम्मेवार निकाय जिम्मेवारी बहन गरेर प्रस्तुत हुन नसक्दा स्थानीयले विभिन्न सरुवा रोगबाट संक्रमित हुनु पर्नेे बाध्यता दिनप्रतिदिन बढ्दो छ । तर पनि नागरिकको समस्या सुन्ने प्रतिनिधि देखिएका छैनन् ।

भद्रपुर नगरपालिका भित्र रहेको जिल्ला कारागार झापा भित्रको फोहोरको व्यवस्थापन गर्न सरकारी संयन्त्र असफल हुँदा आसपासका बासिन्दाको स्वास्थ्यमाथि चुनौति बढेको छ । स्वास्थ्य वातावरणमा बाच्न पाउनु पर्ने नागरिक अधिकार हनन् भइरहेको छ । विगत वर्षहरुदेखि नै स्थानीयले कारागार प्रशासनलाई उचित तरिकाले फोहोर व्यवस्थापन गर्न दवाव दिएको भए पनि कुशल व्यवस्थापनको प्रबन्ध हुन नसक्दा स्थानीयको जनजीवन विभिन्न सरुवा रोग र प्रदुर्षणले कष्टकर बन्दै गएको छ । विगतमा जनप्रतिनिधि नरहेकोले समस्या हल नभएको बुझिरहेका पीँडित नागरिकहरु अहिले आफ्ना घर छेउमै जनप्रतिनिधि आएको पनि दशक हुन लाग्यो तर पनि समस्या हल हुन नसकेकोमा स्थानीय झन पीँडित बन्न पुगेका छन् । केन्द्रीय सरकारको माताहतमा रहेको कारागारलाई स्थानीय तहका जनप्रतिनिधिले महत्व नदिँदा फोहोर व्यवस्थापन समस्या जल्दो बल्दो रुपमा रहेको पीडितहरूको आरोप छ ।

स्थानीय सरकार र केन्द्रीय सरकार बीच समन्वय गर्न नसकेको करण समस्या हल नभएको उनीहरूको बुझाइ छ । पछिल्लो पटक संघीय सांसद विश्वप्रकाश शर्माले सहरी विकास तथा ढल निर्माण आयोजनासित समन्वय गरी कारागारको फोहोर व्यवस्थापनका लागि आयोजना पारेको भनिउ पनि काम भने सुरू नहुँदा समस्या उस्ताको उस्तै रहेको छ ।

दैनिक उत्पादन हुने फोहोर व्यवस्थापनका लागि भौतिक संरचना निर्माण गर्न कारागार प्रशासन सफल हुन नसक्दा समस्या जटिल बन्दै गएको हो । दैनिक ४ हजार लिटर बढी फोहोर पानी मात्र निस्कने तथा अन्य मलमूत्रको हिसाव नै नभएको कारागारको फोहोरले भद्रपुर नगरलाई नै प्रत्यक्ष अप्रत्यक्ष असर गरिरहेको छ । कुनै पनि किसिमको फोहोर व्यवस्थापन हुन उचित संरचना बन्नु पर्ने हुन्छ । त्यस्तो संरचनाले वातावरण प्रदुषणलाई कुनै न कुनै रुपमा सुरक्षा दिएको हुन्छ भन्ने जानकारी जिम्मेवार निकायमा नरहँदा यो समस्या हल हुन नसकिरहेको अवस्था छ । कारागारको वरिपरि रहेका बस्ती क्षेत्रमा सुख्खायाममा तीव्र गतिले दुर्गन्ध निकै टाढासम्म फैलिने, कारागार भित्रको फोहार पानी त्यही वरिपरि बग्ने भएकोले संधै दुर्गन्ध र फोहोरसंँग लुकामारी गनुृ पर्ने बाध्यता रहेकोले स्वास्थ्य समस्या आउने गरेको स्थानीय नागरिकको सत्य पीँडा रहेको छ ।

स्वच्छ वातावरणमा जीवनयापन गर्ने नागरिक अधिकारलाई जिल्ला कारागारबाट निस्केन तथा उत्पादन हुने फोहोरले अतिक्रमण गरेको अनुभव उनीहरूमा छ । यसलाई समयमै सरकारले ध्यान दिएर रोक्नु पर्ने थियो । नागरिकको जीवन संकटमा पार्ने फोहोरको त्रासले स्थानीय आफ्नो नजिकको राज्य प्रशासनका रुपमा रहेको भद्रपुर नगर प्रशासनसित जीवनयाचना गर्न थालेपछि फोहोर पानी र दिसाजन्य फोहोर बाहेकका फोहोर बस्तु दैनिक उठ्न थालेको छ । यस कार्यले बाहिर देखिने फोहोर उठेको भए पनि नागरिकका घरसम्म फैलने किटाणुयुक्त फोहोर हट्न नसक्दा समस्या हल हुन सकेको छैन । जनताका सवै समस्या हल गरिदिने जिम्मा पाएको सरकारी पक्षले स्थानीय नागरिकको समस्या सुनुवाई गर्न नसकेको अवस्था छ ।

केन्द्रीय सकारको नियन्त्रणमा रहेको कारागार प्रशासनले आफ्नो फोहोर आफैं बिसर्जनको जिम्मेवारी लिनु पर्ने हो तर सफल भएन । यस्तो गैर जिम्मेवार कार्य रोक्न नगर प्रशासनको पनि दायित्व हुने छ । अविलम्ब यो समस्या हल गर्न सवै जिम्मेवार तथा साझेदार निकायको ध्यान जान आवश्यक छ ।