देशको राजनीति बदल्न १० लाख १६ हजार ७५४ नयाँ मतदाता थपिए
भद्रपुर । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको राजनीतिमा उथलपुथल भएपछि घोषणा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मात्र झापामा ३५ हजार ३१९ नयाँ मतदाता थपिएका छन् ।
९ असोजदेखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने समयावधिभित्र देशभर १० लाख बढी नयाँ मतदाता थपिदा झापामा मात्र ३५ हजार ३१९ नयाँ मतदाता थपिएका हुन् ।
फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ११ हजार ७३३ र र राष्ट्रिय परिचयपत्रमार्फत २३ हजार ५८६ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । योसंगै झापामा मतदाताको संख्या ७ लाख १४ हजार ५९५ पुगेको छ । प्रतिनिधिसभा निर्वाचन घोषणाअघि जिल्लामा मतदाताको संख्या ६ लाख ७९ हजार २७६ रहेको थियो ।
देशभरि भने १० लाख १६ हजार ७५४ जना मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय मंसिर ५ देखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको छ ।
आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको संख्या उल्लेख्य बढेको देखिन्छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको संख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो ।
सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो ।
मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए ।
यसपटक १० लाख १६ हजार ७५४ जना मतदाता थपिएर एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो । थपिएका १० लाख बढी मतदाता आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पहिलोपटक मतदान गर्दैछन् ।
थपिएका मतदाता जेनजी आन्दोलनको पृष्ठभूमिमा नाम दर्तामा आएका हुन् । निर्वाचन आयोगका अनुसार गत कात्तिक १६ गतेसम्म मतदाताको संख्या एक करोड ८१ लाख, ६८ हजार २३० जना रहेको थियो ।
तर, त्यसमा धेरै जेनजी मतदाता छुटेको भनेर माग भएपछि सरकारले अध्यादेश ल्यायो । अध्यादेशअनुसार ९ असोजदेखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गरिएको थियो । अध्यादेश आएपछि मात्रै झण्डै साढे ८ लाख मतदाता थपिए । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ छन् । अन्य ६१ रहेका छन् । आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ । यो सँगै कुल मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ का लागि नयाँ निर्वाचनको मिति तोकेका थिए । निर्वाचनको मिति घोषणा भए पनि निर्वाचन हुन्छ हुँदैन भन्ने प्रश्नको भरपर्दो उत्तर पाउने आधार मतदाताले पाउन सकिरहेका छैनन् ।
तोकिएकै समयमा निर्वाचन हुने हो भने यिनै नयाँ मतदाताले राजनीतिक उथलपुथलको औचित्य पुष्टि गर्ने आधार पाउने छन् भने निर्वाचन हुन नसके क्रान्ति वा उथलपुथलको औचित्यमाथि नै प्रश्न उठ्ने छ । यसकारण अबको निर्वाचनमा राजनीतिको फेरबदल गर्न १० लाख १६ हजार ७५४ जना मतदाता पहिलो पटक निर्णायक बन्न पाउने छन् ।
