वैदेशिक रोजगारमा ठगी बन्द गर
सम्पादकीय
भदौ २३ र २४ गतेको आन्दोलनपछि केही देशहरूले नेपालका श्रमिकलाई काममा नलगाउने गरी रोक लगाएका छन् । यसको कारण त्यस आन्दोलमा भएको विध्वम्सात्मक प्रवृत्ति भनिएको छ । तर पनि नेपाली युवा युवतीहरू वैदेशिक रोजगारीका लागि देश छोड्ने क्रम घटेको छैन । उनीहरू बैध बाटोमा समस्या आएपछि अबैध बाटो रोजेर घर छोड्ने गरेको देखिन्छ । अधिकाम्स नेपाली युवा युवती कामको बाहनामा दलालबाट बेचिनु पर्ने अवस्था भयावह बन्दै छ ।
राम्रो काम र दाम पाउने आशमा अबैध बाटो हुँदै घर छोडेर हिड्ने अधिकाम्स कामदार नेपाली नेपालदेखि गन्तव्य मुलुकसम्म पुग्दा कम्तिमा तीन पटक बिक्री हुने गरेको विभिन्न उजुरीका तथ्यहरूले देखाउने गरेका छन् ।
खासगरी विपन्न परिवारका सामान्य साक्षर महिलाहरूलाई राम्रो कामको लोभ देखाएर गाउँगाउँबाट भेला गर्दै दलालहरूले भारतीय बाटो हुँदै खाडी मुलुक पठाउँदा भारत, दुबइ हुँदै जुन देशमा पठाउने हो सो देश समेत गर्दा महिला कामदार कम्तिमा तीन पटक बेचिनु परेको घटना विवरणले खुलाउने गरेको छ ।
भारत र दुबइ नेपाली महिला कामदार किनबेचको मूल केन्द्र बन्दै गएका छन् भने बेचिनु पर्ने बाध्यतामा परेका महिला कामदारलाई अबैध बाटो रोजेका कारण सरकारी स्तरबाट उद्धार गर्न पनि निकै कठिन बन्दै गइरहेको छ । यस्तै पुरूष कामदारको हालत पनि उस्तै छ । स्वदेशबाटै विदेश काममा जाँदा समेत भिजिट भिसा बनाएर दलालहरूले दुबइ पुर्याएर विभिन्न देशका लागि बेच्ने गरेका छन् । भारतीय बाटो रोज्नेहरू त भारतबाटै बेचिएर दुबइ हुँदै पटक पटक बेचिदा फन्दामा पर्ने अवस्था छ । यी घटना हेर्दा दुबइ विदेशमा कामका लागि जाने नेपाली कामदार खरिदबिक्री केन्द्र बन्दै गइरहेको छ ।
बेचिने महिला कामदार घरेलु कामका लागि मध्य एसियादेखि युरोपियन देशसम्मनै एक देशको दलालले अर्को देशको दलाललाई बेच्ने गर्दछ । पटक पटक बिक्री हुँदा समेत महिला कामदारले बेचिएको चाल भने पाउँदैनन् । जब गन्तव्य स्थलबाट कार्यस्थलमा पाइला राख्छन् तब आफू बेचिएको प्रष्ट बुझ्छन् । आफू बेचिएर कष्ट खप्दै घर फर्किएपछि ती महिला वा पुरूष वैदेशिक रोजगारीमा जानेभन्दा आफैं दलाल भएर नेपालको एजेन्ट बन्दै विदेशतिर कामदार बेच्ने काममा लागेको पाइन्छ ।
यी विभिन्न अवस्था हेर्दा नेपाली महिला कामदार सुरक्षित कामका लागि वैदेशिक रोजगारमा निकै कम पुग्ने गरेको देखिन्छ । सरकारले प्रतिबन्ध लगाएको ठाउँमा अबैध बाटो हुँदै जान तयार हुने अधिकाम्स महिला कामदार घर परिवारलाई समेत जानकारी नदिइ दलालको भरमा जाँदा सहजै बेचिने अवस्था छ ।
वैदेशिक रोजगारमा पठाउने एजेन्ट नै नरहने कानुनी व्यवस्था भए पनि गाउँगाउँमा एजेन्ट हुँ भन्दै ठग्ने गिरोह सकृय रहेको अवस्था छ । सामान्यतया वैदेशिक रोजगारमा जाने श्रमिकलाई रोजगारदाता कम्पनीले लाने ल्याउने प्रबन्ध कानूनमै किटान गरिएको छ तर, नेपालमा गाउँगाउँमा दलाल खटाएर मेनपावर कम्पनीहरूले महिलाका हकमा ४० हजारदेखि एक लाख रूपैयासम्म तथा पुरूष कामदारको हकमा ८० हजारदेखि एक लाख ५० हजारसम्म रकम अबैध तरिकाले असुली रहेको अवस्था छ ।
बिना प्रमाण असुलेको रकम मध्ये आधा रकम एजेन्टले पाउने र आधा रकम मेनपावर कम्पनी सञ्चालकले लिने गरेको अवस्था छ । बर्तमानकानून अनुसार वैदेशिक रोजगारमा जाने श्रमिकबाट सेवा शुल्क वापत मेनपावर कम्पनीले १० हजार रूपैया मात्र लिन पाउने व्यवस्था छ । तर, यो व्यवस्था नेपालका कुनै पनि मेनपावर कम्पनीले पालना गरेका छैनन् । उनीहरूले असुल्ने अबैध रकम बिल, भौचरविनै अवैध बाटोबाट दलाल मार्फत लिने गरेको अवस्था छ । ठगिएपछि सरकारी निकायमा उजुरीका लागि आइ पुग्ने व्यक्तिले प्रमाण पुर्याउन नसक्दा ठग्नेहरू कानुनी दायरामा आइपुग्दैनन् । यस्तो विकराल अवस्था रोक्न सरकारी पक्ष समेत सफल भइरहेको छैन ।
