लेखसमाचारस्थानीय

प्रौढउमेरसंगै लेखनमा उदाएका हरिप्रसाद

भद्रपुर । साहित्य सिर्जनामा प्रवेश गर्न उमेरले रोक्दैन भन्ने उदाहरण कवि तथा सर्जक हरिप्रसाद न्यौपानेले प्रस्तुत गर्नु भएको छ । ६२ वर्षे उमेर पार गरेपछि लेखनमा उदाउनु भएका न्यौपानेले ७५ वर्ष पार गर्दै गर्दा फुटरक कविता तथा खण्डकाव्य र महाकाव्य गरी ६ वटा कृति प्रकाशन गरिसक्नु भएको छ । छन्दको तरङ्ग नामक रेडियो कार्यक्रमबाट प्रभावित भइ कविता लेखनमा होमिनु भएका न्यौपानेका लागि कार्यक्रम उत्पादक तथा प्रस्तोता केशव भट्टराई नै सिर्जनाका लागि पहिलो प्रेरक बन्नु भएको छ । झापाको पहिलो एफएम कञ्चनजंघाका असल स्रोता रहनु भएका न्यौपानेले त्यही एफएमको साहित्यिक कार्यक्रम छन्दको तरङ्गका कारण कवि तथा सर्जक बन्ने फराकिलो बाटो भेट्नु भएको हो ।

वि सं २००७ साल साउन ४ गते पूर्वी नेपालको भोजपुर जिल्ला अन्र्तगत गोगनेको रचने गाउँमा दामोदर तथा पवित्रा न्यौपानेको अन्तिम सन्तानका रूपमा एक्लो छोरो भएर जन्मिनु भएका न्यौपाने हाल भद्रपुर १० चन्द्रगढी स्थित वीपी टोलका स्थायी बासिन्दा हुनुहुन्छ । न्यौपानेको पछिल्लो कृतिका रूपमा रमा स्मृति काव्य २०८१ चैत्रमा प्रकाशित भएको देखिन्छ । पहिलो कृतिका रूपमा न्यौपानेको सिर्जना छन्द कविता संग्रह तरङ्ग २०७२ सालमा प्रकाशित भएको थियो । त्यसपछि क्रमशः हाम्री फुपू महाकाव्य २०७४, महावीर कर्ण काव्य २०७६, रित्तिएका आँशु सामाजिक काव्य २०७८, देवव्रत महाकाव्य २०८१ भदौ र रमा स्मृति काव्य २०८१ चैत्रमा प्रकाशित भइसकेका कृति हुन् ।

संस्कृत साहित्यमा पूर्वमध्यमासम्मको अध्ययन पूरा गर्नु भएका न्यौपानेले जीवनका कालखण्डमा शिक्षणदेखि न्याय सेवासम्मका क्षेत्रमा काम गरेर जीवन गुजारा चलाउनु भएको छ । ७० वर्ष उमेरको छेउछाउमा आइपुगेपछि कम्युटर चलाउन सिक्नु भएका न्यौपाने आफ्ना रचना आफैं कम्प्युटरमा लेखेर राख्न सक्ने क्षमता बनाइसक्नु भएको छ भने आफ्नो पेशा कानुनी सेवाका लागि लेखिने कागजपत्र समेत आफैं कम्प्युटरमा लेख्न सक्ने न्यौपाने पौढ उमेरसंगै सिर्जनामा जवान हुँदै जानु भएको सर्जक पनि हुनुहुन्छ ।

साहित्यलाई समाजको सत्य चित्र मान्ने न्यौपानेका सिर्जनाले तत्कालीन समाज चिनाउने प्रयास गरिरहेको पाइन्छ । साहित्यमा विगतका इतिहास जोडेर वर्तमानका अमिल्दा मानवीय कृयाकलापप्रति व्यंग्य कस्ने न्यौपानेले समाजमा सभ्यता निर्माणमा साहित्यको सहभागिता खोज्ने प्रयास गरेको पनि देखिन्छ । पैसामुखी बन्दै गएको नेपाली समाजलाई मानवतावादी भाव पस्कने न्यौपानेले प्रचार होइन प्रभाव छोड्ने साहित्य पस्किरहनु भएको छ । असल पाठक बाहेकले चिन्न नसकेका सर्जक न्यौपाने प्रगतिशील विचारक पनि हुनुहुन्छ ।

न्यौपानेका कविता काव्यले देशमा शासन सत्ताका नाममा शोषण, दमन भइरहेको संकेत गर्दै नेपालीको सुरक्षा गर्न सपूतसित आग्रह गर्छन् । कविता काव्यभित्र नेपाल देश असल शासक नरहेकै कारण सिमाना मिचिएको, स्वाभीमान गुम्दै गएको, भ्रष्टाचार, दुराचार, अन्याय र अत्यचार बढिरहेकोमा आक्रोस पनि पोखिएको पाइन्छन् । युवाहरूलाई आफ्नो मातृभूमि उजाड बनाएर अर्काको भूमि उर्वर बनाउन विदेसिने प्रवृत्ति त्याग्न कविता काव्य मार्फत सफल न्यौपानेले नेपाली युवा युवतीसित संघीय लोकतान्त्रिक गणतन्त्र जनमैत्री बन्न नसक्नुमा शासकीय सिद्धान्त कमजोर भएर शासक बलियो बन्दै गएकोमा शक्ति खोसेर लिन आग्रह गरिरहेका हुन्छन् । उनले देश र माटो सम्झन जन्मथलो, कर्मथलोदेखि मानवतासम्म समेटेर ६ वटा कविता काव्यका कृतिभित्र नेपाली समाजको वास्तविक चित्र प्रस्तुत गरेका छन् ।

कविता काव्यमा मात्र सिमित सर्जक नभएर न्यौपाने कथा, लघुकाव्य र संस्मरणात्मक आलेख लेखनमा पनि उत्तिकै सफल रहनु भएको छ । प्रकाशनका लागि तयार भएर बसेका तीन कृतिमा ससुराली यात्रा कथा संग्रह, अभिलेख लघु काव्य र नयाा झोला कविता संग्रह रहेका छन् । यी कृतिले पनि अहिलेको जल्दोबल्दो नेपाली समाजलाई शब्दको माध्यमबाट यथार्थ चित्रणको प्रयास गरेको पाइन्छ ।