लेख

आज चाहिँ भेट्याे हाेला झाँगेले इण्डियन डेढकाे भाउ !

   ‘व्यंग्यनारान पाँडे

   सुत्ने काेठामै दाह्री काटिसक्न लागेकाे थिएँ म,  बरण्डाबाट एकाएक ऐंसेलु झाँगेले घाेर्ले स्वरमा बाेला’काे सुनियाे -“हओ पाँडे भइया ! … पाँडे भइया !…हन एति अबेरसम्म सुतिराख्या छाै कि… बेरामीले सिरेसली भका छाै कि… जे भइराख्या भा नि एछिन्लाई एता बाइर निक्स त, हामी दुई धुर्बीकर्ण गरम् ..माथि क्या माधाै नेपाल र पर्चन्नहरले  जैसेइ !…ताेभन्दा नि इनपाेरट्यान टपिक चइँ एउडा अर्जेन्टी परिरा’छ र आकाे म ।…इ त सुतिराख्या पाे छन् कि …ओए पाँडे भइया !… हन हाँ-हुँ पनि छैन हँ…साेर्गतिर  सुइक्याे  कि के याे मान्छे हउ, हाड-एटेकले ! हिजाे त रामदुलारीकै बासातिर जाने बाटाेबड जाँदै गर्या देखेथें ! …तेसबेला चीँ अरू कुनै बेरामी भा’जैसाे त लाग्या थेन मलाई…कि भरम्मा परें म ?  हओ… पाँडे हओ !…”

   उसकाे लिँडे कचकचले मेराे कन्पाराे रनक्क तात्याे र झर्केकाे स्वर काेरल्दै कडकिंएँ  म -” के काम छ ?  म यहाँ दाह्री  बनाउँदैछु । एकछिन् पछि आउनु । कस्ताे एकाबिहानै कुकुरले केजाति पनि नखाई ख्याउँ-ख्याउँ हल्ला गरेकाे !”…

   उसले लगत्तै भन्याे -” छ्याः ! गालामा तेति झरिझट्टै अम्रेकाे दारी खाैरेर चिलिमच्वाँट नाङ्गाे पाखा जैसाे पार्नुलाई पनि ‘दारी बनाउनु’ भनेर भासा बिगार्ने हाे ? काट्नु भन्या दारी बनाउनु हाे कि चाइँनेकेरे सखाप पारेर बिगार्नु हाे ? तपइँले डिसन्यारी नपढी एम्मे-बीए पास  गरेका हाेउ कि क्या हाे ?…याँ मलाई कत्राे अभर पराे र एक्कैछिन् तपइँसित धुर्बीकर्ण गर्न आकाे म ! एछिन् बाइर निक्स कि नभा ढाेका खाेल एक्कैछिन् -पान्दस मिलिट मात्तै तपइँसित धुर्बीकर्ण गरेर म  घुरिहाल्छु क्या । नभा त म कुटाइमा पर्दैछु हय, मेराे रच्छे गर !”….

  उसका कुराले हाँस उठ्याे र आवाज दबाएर हाँसें म । र, भने -“तिमी ढाेका बाहिर बरण्डामा छाै – म भित्र काेठामा छु । याे तिम्राे र मेराे ध्रुवीकरण भइरहेकै हाेइन र  ? भेट्नुलाई त एकीकरण पाे भनिन्छ त ?”

उसले स्वर चर्काएर भन्याे -“थुक्क याे पाँडेकाे बुद्दि ?  हन ‘एक’ भनेकाे एउडा हाे र ताे ‘एक’-सँग ‘कर्ण’ जाेडिएसि त्यसलाई ब्याकर्निकल साइँन्सले ‘भेटाघाटा हुनु’ अथ्बा एक-एक र एक ‘एकजुट हुनु’ बाेल्छ त तपइँका बाजेकाे टाउकाे !  काटमाडुँका रास्टिअ मेडिआ माने अक्बार, रेड्याे-टिबी च्यान्यालहेरू हेरेर केलाई के बाेल्छ भन्ने ग्यान-बुद्दि लिने गर्या भा पाे ! … म काँशी-बनरसमा ‘कउमाेधी ब्याकर्ण’ पढेकाे चाइँनेकेरे विध्वानलाई  के सिकाउँछाै -के गिल्ला गर्छउ र धुर्बीकर्ण भन्या फुट्नु, पुर्भ र पस्सिउँ हुनु हाे भन्ने उल्लु कुराे गर्छउ ? तपइँ जैसा पर्तेगामीका एस्तै उल्टा-उल्टाले त ज्यान्जी सेना जन्मा’काे हाे भन्ने कल्लाई था छैन ? र,  हामेरकाे ‘एकलउटी जिम्दारी कामत’ जैसाे याे देशका ‘माऊ रानु’ हामेरका बा मउसुपलाई खेदा’र उ…कता हाे कता छाउनीमा लुक्न  पुगा’र चाइँनेकेरे याे देश बरबाद पारेर सकाकाे हाे नि ऐले ।  अन्तखेरी म जैसाे लम्बरी कम्रेटलाई पनि कतै काेइसित धुर्बीकर्ण हुन नदिने इ एस्तै जिआजेती गर्ने हिकमत गरेका हाेउ नि ! तर हेर्लाऊ न ! हामेरलाई अब हामेरका बा मउसुपका गुन्डु-रच्छे-कबाचका महेस बस्नेतले फेरि-पुनहँ उत्तिकै पाओरिलाे  नबनाई के छाेड्लान् र !… भइगाे, तपइँ दारी नै खाैरिरऊ । हामेरू र हामेर्का  बा हजुर-का हुकम-फर्माण मानेर सप्पै मिलेर एक-जइन् धुर्बीकर्ण भइकिन  सम्बिर्द नेपाल-सुक्खी नेपालीकाे खेलाे  थालेसि चाख्लाऊ न हामेरकाे झापट-मुड्की गालै-गाला र डँढाल्नै-डँढाल्नामा !…”

मैले आफ्नै सुरमा उसका कुरा सुन्दै र हाँस्तै  दाह्री काटिसकें र सरासर बरण्डामा निस्कँदै भने -“अस्ति भदाै २४ गते रातीदेखि त तिमेरू र हामी जनतामा कित्ताकाट भई धुर्बीकरण भयाे हाेला, तिमेरका भगाैडामा ऐतिहासिक कीर्तिमानी बाका पाउभक्त बुख्याँचा तिमेरका दग्धी र थिचाेमिचाेबाट मुक्त भइयाे हाेला भन्या त खाेइ ? पाओर खाेसिएपछि तिमेरकाे लाचार र निर्लज्ज लिचढ्याइँ अर्काे दग्धी भएर पाे थपियाे कि क्या हाे यार ऐंसेलु झाँगे ?”

उसकाे अनुहार अँध्याराे पारेर आँखामा आँशु भर्दै र घाँटीमा बाेली अड्काउँदै के भन्न आट्तैथ्याे – सँधै मकहाँ पुराना पत्रिका किन्न आउने कुँडाकर्कटे बिहारी अरू दाेडा उस्तै अनुहारका अझ टुइँक्क मातेका ज्याङ्गालाई लिएर आइपुग्याे र  भन्न थाल्याे -“…देख्नु त सर, आज् दु घण्ट आगेकाे बेहानमे याे आइँसिलु झाङ्गे मान्छी, मइले ओैर  याे दाेडा मेराे  साथी ने खाइराकाे जुँठाे दारु हाम्नेरूकाे नपुछी पक्रेर ठान्डा पानी जैसाे पटापट खाइहाल्याे ओैर इता भागेकाे, साला ! इसकाे इता भेटेंछुँ हाम्नेरू ! इसकाे इतादिखि पक्रेर लेजाएर चाेरी केशमे ठानामा पुगान्छँ साला हाम्नेरू ! सर टेन्सन नकर्नु !…कस्री खटाखट खाइलियाे तीन गेलास, साला हारामी !”…उसले यसाे भनिरहँदा झाँगे थरथर काम्दै “इइइस नापिस् तैले, मलाई पक्रा’र ! तँ इण्डेन बेहारीलाई नै खँदार्छु पाे झ्यालखानमा… मलाई चिनेकै रैनछस्…तँ-तँ-तँ मुस्मुन्ध्रे बज्या…”  र के-के भन्दै नजिक के पुगेकाे थियाे , तिनैजना समरस्वाँठहरूले घ्याप्प गमर्क्याएर मुन्ट्याउँदै घिसारिहाले बाटातिर !  …

म त  हेरेकाे हेर्यै  ! मेराे दिमागले अरू केही साेच्नै भ्याएन  तापनि मेराे भित्री मन भन्दैथ्याे -“ठीकै पनि हाे क्यार, अलिक हाेश राख्नु पर्दैनथ्याे त याे बिहारीले स्याउँस्याउँती बुक्याइराखेकाे भद्रपरमा ? त्यही पनि चुनाउकाे समय  आइराखेका बेला ? नेताका असली भाेटरलाई हेपेर तिनले मागेर किनेकाे जुठाे ठर्रा-रक्सी फटाफट लुटेर खाने ? त्यसरी भदाै २३ गतेअघि जस्तै दादागिरी देखाउनु हुन्थ्याे त अन्तखेरी  ?!?”…