झापाका प्रमुख जिल्ला अधिकारी गेलालको शुसासनको प्रतिबद्धता
भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विकृतिरहित झापा निर्माण गर्न शान्ति सुव्यवस्थाका लागि अपराध नियन्त्रणमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
धनकुटाबाट झापा प्रशासनको नेतृत्व गर्न आइपुगेका प्रजिअ गेलालले आसन्न निर्वाचन भयरहित सम्पन्न गर्न पनि अपराध नियन्त्रण अनिवार्य रहेकाले विकृतिरहित झापा निर्माणका लागि प्रतिबद्धता जाहेर गरेका हुन् ।
कार्तिक १३ गतेबाट झापा प्रशासनको नेतृत्व सम्हालेका गेलालले झापाली सञ्चारकर्मीहरूसित कार्यकक्षमा सम्क्षिप्त कुराकानी गर्दै खुल्ला सिमानाका कारण हुने गरेका चोरी तस्करी पूर्ण बन्देज गर्दै अपराधमा संलग्नमाथि कानुनी कारवाही गर्ने बताए । प्रजिअ गेलालले सरकारी कार्यालय आसपास हुने गरेको बिचौलिया प्रबृत्ति पूर्ण रोक्ने जनाउँदै सडक अतिक्रमण गरेर कार्यालय आसपास भइरहेका व्यापार अबिलम्ब बन्द गराउने जानकारी दिए ।
प्रजिअ गेलालले जिल्ला प्रशासन कार्यालयसित जोडिएको साविकको सहकारी डिभिजन कार्यालय कब्जा गरेर भइरहेको अवैध व्यपारदेखि बिचौलियाका कारोवार तुरून्त हटाउने समेत प्रष्ट पारेका थिए । प्रजिअले अनाधिकृत रूपमा प्रवेश गर्ने भारतीय सवारी साधनको निगरानी बढाउने, कवाडी संकलनका नाममा गाउँ गाउँ गएर जासुसी गर्ने, अटो तथा इ रिक्सा नियमन गर्ने, भन्सार छली, चोरी तस्करी नियन्त्रण गरी शुसासनको वातावरण निर्माण गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
