अबैध बाटोबाट विदेश जान रोक
सम्पादकीय
देशमा पर्याप्त रोजगार सिर्जना हुन नसक्दा वेरोजगार युवा युवती रोजगारका लागि विदेश रोज्न बाध्य छन् । यस अवस्थाको फाइदा लिदै दलालहरू वैदेशिक रोजगारीका लागि अबैध बाटो देखाएर घर छोडाउने अधिकाम्स नेपाली युवा युवती कामको बाहनामा बेचिनु पर्ने अवस्था भयावह बन्दै छ । राम्रो काम र दाम पाउने आशमा अबैध बाटो हुँदै घर छोडेर हिड्ने अधिकाम्स कामदार युवा युवती नेपालदेखि गन्तव्य मुलुकसम्म पुग्दा कम्तिमा तीन पटक बिक्री हुने गरेको घटना विवरणले देखाउने गरेको छ ।
विपन्न परिवारका सामान्य साक्षर महिलाहरूलाई राम्रो कामको लोभ देखाएर गाउँगाउँबाट भेला गर्दै दलालहरूले भारतीय बाटो हुँदै खाडी मुलुक पठाउँदा भारत, दुबइ हुँदै जुन देशमा पठाउने हो सो देश समेत गर्दा महिला कामदार कम्तिमा तीन पटक बेचिनु परेको अवस्थाले खुलाउछ । भारत र दुबइ नेपाली महिला कामदार किनबेचको मूल केन्द्र बन्दै गएका छन् भने बेचिनु पर्ने बाध्यतामा परेका महिला कामदारलाई अबैध बाटो रोजेका कारण सरकारी स्तरबाट उद्धार गर्न पनि निकै कठिन बन्दै गइरहेको छ । यस्तै पुरूष कामदारको हालत पनि उस्तै छ ।
स्वदेशबाटै विदेश काममा जाँदा समेत भिजिट भिसा बनाएर दलालहरूले दुबइ पुर्याएर विभिन्न देशका लागि बेच्ने गरेका छन् । भारतीय बाटो रोज्नेहरू त भारतबाटै बेचिएर दुबइ हुँदै पटक पटक बेचिदा फन्दामा पर्ने अवस्था छ । यी घटना हेर्दा दुबइ विदेशमा कामका लागि जाने नेपाली कामदार खरिदबिक्री केन्द्र बन्दै गइरहेको छ । सरकारी पक्षदेखि स्वयम रोजगार खोज्ने युवायुवतीसम्म दलाललाई विश्वास गर्ने वातावरण निरन्तर रही रहँदा समस्या बढ्दै गएको छ ।
बेचिने महिला कामदार घरेलु कामका लागि मध्य एसियादेखि युरोपियन देशसम्मनै एक देशको दलालले अर्को देशको दलाललाई बेच्ने गर्दछ । पटक पटक बिक्री हुँदा समेत महिला कामदारले बेचिएको चाल भने पाउँदैनन् । जब गन्तव्य स्थलबाट कार्यस्थलमा पाइला राख्छन् तब आफू बेचिएको प्रष्ट बुझ्छन् । आफू बेचिएर कष्ट खप्दै घर फर्किएपछि ती महिला वैदेशिक रोजगारीमा जानेभन्दा आफैं दलाल भएर नेपालको एजेन्ट बन्दै विदेशतिर महिला कामदार बेच्ने काममा लागेको समेत पाइन्छ । नेपाली महिला कामदार सुरक्षित कामका लागि वैदेशिक रोजगारमा निकै कम पुग्ने अवस्थाले देखाउँछ ।
सरकारले प्रतिबन्ध लगाएको ठाउँमा अबैध बाटो हुँदै जान तयार हुने अधिकाम्स महिला कामदार घर परिवारलाई समेत जानकारी नदिइ दलालको भरमा जाँदा सहजै बेचिने अवस्था छ । यस अवस्थालाई स्थानीय तह, प्रदेश र संघीय सरकारसम्म आउने उजुरीले प्रमाणित गर्ने गरेका छन् । वैदेशिक रोजगारमा पठाउने एजेन्ट नै नरहने कानुनी व्यवस्था भए पनि गाउँगाउँमा एजेन्ट हुँ भन्दै ठग्ने गिरोह सकृय रहेको अवस्था छ । सामान्यतया वैदेशिक रोजगारमा जाने श्रमिकलाई रोजगारदाता कम्पनीले लाने ल्याउने प्रबन्ध कानूनमै किटान गरिएको छ तर, नेपालमा गाउँगाउँमा दलाल खटाएर मेनपावर कम्पनीहरूले महिलाका हकमा ४० हजारदेखि एक लाख रूपैयासम्म तथा पुरूष कामदारको हकमा ८० हजारदेखि एक लाख ५० हजारसम्म रकम अबैध तरिकाले असुली रहेको अवस्था छ ।
बिना प्रमाण असुलेको रकम मध्ये आधा रकम एजेन्टले पाउने र आधा रकम मेनपावर कम्पनी सञ्चालकले लिने गरेको अवस्था छ । पहिलो पटक वैदेशिक रोजगारमा जाने श्रमिक नेपालमै बिक्री भएको पहिलो प्रमाण अबैध असुलीले पुष्टि गर्छ । वर्तमानकानून अनुसार वैदेशिक रोजगारमा जाने श्रमिकबाट सेवा शुल्क वापत मेनपावर कम्पनीले १० हजार रूपैया मात्र लिन पाउने व्यवस्था छ । तर, यो व्यवस्था नेपालका कुनै पनि मेनपावर कम्पनीले पालना गरेका छैनन् । उनीहरूले असुल्ने अबैध रकम बिल, भौचरविनै अवैध बाटोबाट दलाल मार्फत लिने गरेको अवस्था छ । ठगिएपछि सरकारी निकायमा उजुरीका लागि आइ पुग्ने व्यक्तिले प्रमाण पुर्याउन नसक्दा ठग्नेहरू कानुनी दायरामा आइपुग्दैनन् । यस्तो अव्यवस्था रोक्न सरकारसंगै नागरिक पनि जिम्मेवार हुनै पर्छ ।
