राजनीतिसमाचारस्थानीय

प्रेस क्लब भद्रपुरको कार्यालय भवन उद्घाटन

भद्रपुर । प्रेस क्लब भद्रपुरको १५ औं स्थापना दिवसको अवसर पारेर कार्यालय भवन उद्घाटन तथा दाता सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा नवनिर्मित भवन उद्घाटन तथा दाता सम्मान गरिएको हो ।

क्लबको कार्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरुले सकारात्मक समाचारलाई प्राथमिकता दिनसके समाजमा नकारात्मक सोच कम भएर जाने धारणा राखेका थिए ।

 

पछिल्लो समयमा नकारात्मक समाचारले प्राथमिकता पाउँदा समाज गलत दिशातर्फ गएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले समाजलाई सही ढंगले अगाडि बढाउनका लागि पनि पत्रकारहरूको खोज अनुसन्धान सकारात्मक समचार प्रेरित हुनु पर्ने बताएका हुन् ।

पत्रकारहरूकै योगदानका कारण अहिलेको व्यवस्था आएको जानकारी दिँदै यो व्यवस्थालाई बलियो बनाउनका लागि पनि पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने प्रष्ट पारे । देशमा केही भएन र केही गरिएको छैन भन्ने भ्रम छरेर केही सञ्चारकर्मीले सञ्चार माध्यमलाई दुरूपयोग गर्दा समाजमा वितिष्णा फैलिएको जनाउदै कार्कीले अहिलेको विकास निर्माणलाई हेर्ने हो भने त्यो भाष्य गलत हुने दाबी गरे ।

३० वर्षमा हुन नसकेको विकासको काम प्रदेश सरकारले ७ वर्षमा गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले मात्रै ७ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको जानकारी दिएका छन् । देशकै पुरानो नगर भएर पनि भद्रपुर पछिल्लो समयमा पछाडि परेकोमा चिन्ता व्यक्त गर्दै यसलाई अगाडि बढाउनको लागि सबै लाग्नुपर्नेमा उको जोड थियो ।

 

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्का, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई लगायतले कार्यक्रममा मन्तव्य राख्दै झापाको समृद्धिसित सञ्चार जगतको महत्वपूर्ण योगदान रहेको स्मरण गरेका थिए । सो कार्यक्रममा अग्रज पत्रकार नकुल काजी तथा योविन्दचन्द छेत्रीलाई नगद सहित दीर्घ सेवा सम्मान गरिएको थियो भने दातालाई प्रमाणपत्रले सम्मान गरिएको थियो । कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय समाजसेवी समेतको सहकार्यमा सो कार्यालय भवन निर्माण गरिएको हो । २२ लाख रुपैयाँको लगानीमा सभाहल सहित कार्यालय भवनको निर्माण गरिएको छ ।