पिँजडामा छट्पटाइ रहेका बूढो बाघ प्रचण्ड

काठमाडौं । कुनैबेलाका सहयोध्दा विद्यावारिधि बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘खड्गप्रसादको पिँजडामा फसेर छट्पटाइरहेको बूढो बाघ’ भनेर सार्वजनिक रुपमै आलोचना गरेका थिए । आफूलाई ससाना दलमा बसेर निस्सासिनुभन्दा नेकपामा आउन दाहालले गरेको निमन्त्रणाको जवाफमा भट्टराईले आफ्नो ट्वीट मार्फत दाहाललाई कडा व्यंगवाण प्रहार गरेका थिए । भट्टराईले ट्वीटरमा पंचतन्त्रको कथाको पात्रलाई जोडेर दाहाललाई यसरी व्यंग गरेका थिए– ‘पंचतन्त्रको कंकड़ लुब्ध पान्थ कथामा शिकार गर्न नसक्ने बूढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिँजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिँजडामा आउन आग्रह गरेछन् ! आफैं त महादेव उत्तानो टाँग कसलाई दिने वर ?’

के गर्लान् बूढो बाघ ?

कार्यकारी अध्यक्षका हैसियतमा प्रचण्डले चालेका प्रायः सबै कदम अवरुध्द भएका छन् । तीमध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण रणनीतिक कदम थियो– नेता बामदेव गौतमको सत्तारोहण । पहिला त गौतमलाई उपनिर्वाचन जिताएर प्रतिनिधि सभामा प्रवेश गराउने योजना थियो प्रचण्डको । अनेक प्रयाशपछि पनि यो योजना सफलिभूत हुन सकेन या पाएन । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दवाव बढाउन विभिन्न किसिमका परामर्श र गुप्त भेलाहरु पनि नगरेका होइनन् उनले । ती गतिविधिले राजनीतिको ठेकीमा दाउपेचको दही जतिसुकै मथेपनि नौनी निस्कन सकेन । तर प्रचण्ड हारेनन्, थाकेनन् पनि ।

राजनीतिको शान्त तलाउमा ढुंगा हानेर उठेको तरंगमा विपक्षलाई अल्मल्याएर शक्ति संचय गर्न सिपालु प्रचण्डले फेरि बामदेव गौतमलाई अघि सारेर तरंग उठाए । आवश्यक परेमा संविधान नै संशोधन गर्ने र गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरी प्रधानमन्त्री बनाउने सर्वथा नौलो प्रस्ताव लिएर उनी मैदानमा उत्रिए । संविधान संशोधन गर्न भनेर कार्यदल बनेको भनेर प्रचार पनि गरियो तर कार्यदलकै सदस्यहरुले आपत्ति जनाएपछि त्यो छिचिमिरा झैं आयो र हरायो । गौतम राष्ट्रिय सभामा मनोनित समेत हुन सकेनन्, प्रधानमन्त्रीले उनको नाम शितल निवास पठाएनन्, रोकेर राखे । प्रचण्डको एउटा वाण निशानामा नलागी खेर गयो ।

यसबीचमा अनेक राजनीतिक घटनाहरु आए गए । ओलीले आफू विरुध्द बढ्दै गएको आलोचना मत्थर पार्न मन्त्री मण्डलमा हेरफेर पनि गरे । अरु आलोचकलाई समेत शान्त पारे । तर प्रचण्ड त चूप लागेर बस्ने नेतामा परेनन् । उनले फेरि ओलीमाथि दवावको आयतन बढाएर प्रहार गरे नेकपाका शीर्ष नेताहरु माधव नेपाल र झलनाथ खनाल सहितलाई साथ लिएर । यसमा गौतम त थिए नै । सचिवालय बैठकहरु चलिरहे तर ओली गलेनन् । रातारात दुइवटा महत्वपूर्ण अध्यादेश ल्याएपछि भने ओली सर्वत्र आलोचनाको तारो बने, जसमा आमजनता र विपक्षी दलहरु समेत एकढिक्का भएर उनीमाथि जाईलागे । विरोधको आगो समन गर्न नसकेपछि ओलीले ती अध्यादेश फिर्ता लिए । तर उनकै पार्टीका प्रचण्ड सहितका नेताले ‘फलाम तातेकै बेला पिट्नु पर्छ’ भन्ने लोकोक्ति झैं प्रधानमन्त्री पदबाटै हटाउने प्रयाश गरे । ओली यसपटक भने निकै झस्किए ।

तर ओलीले सबैलाई आश्चर्यमा पार्दै एकदमै नौलो प्रस्ताव राखे । उनले सचिवालय बैठकमा बामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तृतीय अध्यक्ष बनाउन आफू तयार रहेको अनौठो भनाई राखेपछि नेकपाको राजनीति झन् तातेको छ । तर प्रचण्ड र उनको साथ रहेका नेपाल र खनाल भने क्रुध्द देखिएका छन् । ओलीको प्रस्तावको पासा कसको पक्षमा पल्टिन सक्छ भन्ने बारेमा प्रचण्ड समूह प्रष्ट हुननसकेको देखिन्छ । माधव नेपालले तृतीय अध्यक्षको प्रस्तावलाई आफ्नो व्यक्तित्वको अवमूल्यनको अर्थमा बुझेका छन् भने गौतमले पनि ओलीलाई पत्याई हालेका छैनन् । ओलीको यो प्रस्ताव नेपाल र गौतम भन्दा पनि बढी प्रचण्ड लक्षित हो भन्ने कुरा राजनीतिको कखरा जान्नेले समेत बुझेको छ । अरुलाई प्रयोग गर्न सबैभन्दा सिपालु मानिएका प्रचण्ड यसपटक अपेक्षाविपरित जवाफ पाएर निकै तनावमा परेको बताईन्छ । अर्को सूचना नआएमा भोलि वैशाख २० गते सचिवालयको बैठक बस्दैछ । भोलिको बैठकमा प्रचण्ड समूह कसरी प्रस्तुत होला, त्यो अहिले नै भन्न सकिँदैन । तर उनीहरुले बैठकको नयाँ रणनीति तयारी गरिरहेको जानकार सूत्रहरु बताउँछन् ।

चीनको चासो

सत्तारुढ दलमा चर्किएको शक्ति संघर्षले अन्योल सिर्जना गरेकै समय छिमेकी चीनको सक्रियता बढेको छ । नेपाल र चीनका राष्ट्रपतिवीच भएको टेलिफोन सम्वादको औपचारिक सन्देश सरकारले प्रचार गरेजस्तो मात्र भएको कुटनीतिका चतूर खेलाडिहरु पत्याउन तयार छैनन् । कोरोना महामारी पछिको विश्व राजनीतिक परिदृश्यको सम्भावित परिवर्तनसँग जोडेर अर्थ लगाईएको छ नेपाल र चीनका समकक्षीहरुको फोन वार्तालाई । लगत्तै काठमाडौंस्थित चिनियाँ राजदूतले शितल निवासमा राष्ट्रपतिसँग एक्लै भेटेको बिषयले पनि कुटनीतिक वृत्तमा निकै चर्चा पाएको छ ।

यद्यपि शितल निवास र सरकार दुवैले त्यो भेटको विवरण सार्वजनिक गरेका छैनन् । यसैवीच चिनियाँ राजदूतले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग पनि उनीहरुकै निवासमा गएर आज भेटेकी छन् । यसका साथै द्वन्दकालिन मुद्दा सम्बन्धमा हालै सर्बोच्च अदालतबाट सरकारको निवेदन खारेज भएपछि उत्पन्न हुने परिस्थिति पनि प्रचण्डका लागि निकै प्रतिकूल हुने बताउँछन् कानुनविद्हरु । जघन्य अपराधको कोटीमा पर्ने मुद्दालाई सम्बन्धित अदालतमै टुंग्याउनुपर्ने सर्बोच्चको आदेशले प्रचण्डमात्र होइन द्वन्दकालमा दोषी देखिने सबैलाई तान्ने भएपनि तत्कालका लागि प्रचण्डको राजनीतिक यात्रामा बढी नकारात्मक असर पर्ने बताईन्छ ।

उनको राजनीतिक यात्रामा एम्बुस थाप्न खोजिरहेका प्रधानमन्त्री ओलीले अदालतको आदेशको उपयोग गर्न सक्ने सम्भावनालाई भने नकारी हाल्न मिल्ने देखिँदैन । यी सबै गतिविधिको सेरोफेरोमा हेर्दा प्रचण्ड उनकै पूर्व सहयोध्दा कमरेड बाबुरामले भने झैं ‘खड्गप्रसादको पिँजडामा फसेर छट्पटाइरहेको बूढो बाघ’ त हुन गैरहेका त छैनन् ? अहिले राजनीतिक वृत्तमा यस्तो टिकाटिप्पणीले निकै महत्व पाएको देखिएको छ ।