बिर्तामोड खानेपानी चुनावमा काँग्रेसका दुई समूह भिड्दै
बिर्तामोड । बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मंसिर १४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका दुईवटा पक्ष अध्यक्षको उम्मेदवार उठाएर पार्टीको आन्तरिक शक्ति परीक्षणमा लागेका छन् ।
हरेक निर्वाचनमा बिर्तामोड खानेपानी संस्था, बिर्तामोड उद्योग वाणिज्य संघ, विरता जेसीजको नेतृत्व लगातार नेपाली कांग्रेसले जितिरहेको भए पनि यस पटक काँग्रेस काँग्रेस अन्य दलको सहयोगमा भिड्न लागेका हुन् ।
नियमित महाधिवेशन र विशेष महाधिवेशनको ट्यागमा वडा तहबाटै प्रष्ट विभाजित कांग्रेसले खानेपानीजस्तो सामाजिक संस्थाको नेतृत्वका लागि पनि ‘सजातीय’ प्रतिष्पर्धा रोजेको घटना पहिलो पटक देखिदैछ ।
उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीसहितको पाँच दलीय गठबन्धन बनाएको कांग्रेसको नियमित महाधिवेशन पक्षधर, नेकपा एमाले लगायतका दलले अध्यक्षका उम्मेदवार देवीभक्त श्रेष्ठको पराजय निश्चित देखेर मनोनयन नै नगर्ने निर्णय गरेपछि कांग्रेस कार्यकर्ता देवेन्द्र सिटौलालाई एकाएक अध्यक्षमा मनोनयन गर्न लगाएका थिए । त्यसैकारण अध्यक्ष पदमा कांग्रेसको नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर बीच प्रतिष्पर्धा जुरेको हो ।
काग्रेसको विशेष महाधिवेशन पक्षबाट हालका सचिव पारस मैनालीको नेतृत्वमा राप्रपा सम्मिलित दुई दलीय प्यानल चुनावी मैदानमा उत्रिएको छ । सो प्यानलबाट उपाध्यक्षमा शैलेन्द्र सिटौला, कोषाध्यक्षमा आनन्द गुरुङ्ग, सदस्यमा बिरणकुमार कोइराला, कमला अग्रवाल, शोना श्रेष्ठ र किरण सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सचिवमा राप्रपाका खगेन्द्र थापा र सदस्यमा राप्रपाका बिकाश रिजाललाई उम्मेद्वार बनाएको छ ।
आफ्नो समूहलाई राष्ट्रवादी प्रजातान्त्रिक प्यानल नाम दिएको यो प्यानलमा काग्रेसको विशेष महाधिवेशन पक्षले सात र राप्रपाले पाँच पदमा उम्मेदवार उठाएका छन । यता नियमित महाधिवेशन पक्षधर नेतृत्वको समूहलाई स्वतन्त्र समावेशी प्यानल नाम दिइएको छ । सो प्यानलबाट देबेन्द्र सिटौलाको नेतृत्वमा नेकपा एमाले, श्रम संस्कृति पार्टी र नेपाली कम्युनिष्ट पार्टीले संयुक्त प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छ्न ।
दलीय भगबण्डा अनुसार काग्रेस अध्यक्ष र कोषाध्यक्षसहित चार, एमाले सचिवसहित दुई, श्रम संस्कृती पार्टी उपाध्यक्षसहित दुई र नेपाली कम्युनिष्ट पार्टीले एक सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।
सो प्यानलबाट एमालेका प्रदिप खरेलले सचिवमा र सदस्यमा निर्मला खरेल ओडारीले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले कोषाध्यक्षमा केशव श्रेष्ठलाई उम्मेद्वार बनाएको छ भने सदस्यमा राम प्रसाईं र गजेन्द्र ओलीलाई उठाएको छ ।
त्यसैगरी सो प्यानबाट श्रम संस्कृति पार्टीका सुबास मोक्तान उपाध्यक्ष र गङ्गादेबी कन्दङवाले सदस्यमा उम्मेदवारी दर्ता गराए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पुनम अधिकारी लिम्बूले सदस्यमा उम्मेदवारी दर्ता गराइन् ।
कांग्रेस नेतृत्वका दुइवटा समूहबीच भिडन्त हुने भएको छ । नेपाली कांग्रेस विशेष र नियमित महाधिवेशन खेमामा बिभाजित भएर अलग–अलग महाधिवेशन गर्न लागेपछी त्यसको प्रभाव विभिन्न जिल्लाका संघ संस्थाका चुनावहरुमा देखिन थालेको छ ।
