रैथाने हात्तीको उचित व्यवस्थापन हुनुपर्छ
सम्पादकीय
दशकौदेखि चल्दै आएको हात्ती र मानव बिचको द्वन्द्व रोक्न विभिन्न समयमा सरकारी स्तरबाट विभिन्न प्रयास भइरहेको भए पनि आशातीत परिणाम प्राप्त हुन सकिरहेको छैन । पछिल्ला वर्षहरूमा संघीय सरकारसंगै कोशी प्रदेशमा हात्तीमैत्री वातावण निर्माणका लागि वन तथा वातावरण सम्बद्ध संस्था लागिरहेका छन् । यसैको प्रभाव हुन सक्छ झापामा रहेका रैथाने हात्तीको संख्या तीन गुणाले बृद्धि भएको वन डिभिजन झापाको तथ्याङ्कले देखाउँछ ।
पछिल्लो पाँच वर्षयता जिल्लामा रैथाने हात्तीको संख्या झण्डै तेब्बर बृद्धि भएको डिभिजन वन कार्यालय झापाकाको अनौपचारिक अध्ययनले प्रमाणित गरिरहँदा स्थायी रूपमा झापा भित्रै बसोबास गर्ने हात्तीको व्यवस्थापन कसरी हुने हो प्रश्न उठेको छ । २०७५ सालसम्म १३ वटाको संख्यामा रैथाने हात्ती रहेको झापामा वर्तमान अवस्थामा ३५ भन्दा बढी संख्यामा हात्ती देखिएका छन् । हरेक वर्ष चरनको खोजीमा भारतबाट नेपाल प्रवेश गरेका हात्ती स्थायी रूपमा यतै बस्न थालेपछि रैथाने हात्तीको संख्या बढ्दै गएको अनुमान छ । संख्यात्मक रूपमा बढ्दै गएको हात्तीको घनत्व अनुसार आहाराको प्रबन्ध नभएपछि मानव बस्ती तथा अन्य जनवारका लागि पनि यी हात्ती समस्या बन्दै जादै छन् । सरकारी निकायदेखि सामुदायिक संस्थासम्मले यस तथ्यलाई बुझेर रैथाने हात्तीको व्यवस्थापनमा जुट्नु पर्ने अवस्था देखिएको छ ।
पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती अचेल जिल्लाभर देखिन थालेका छन् । यिनीहरू पनि विभिन्न झुण्ड बनाएर बाहुण्डाँगीदेखि कचनकवलसम्मका कृषि उर्वर क्षेत्र आसपास चरिचरण गरिरहेका छन् । झापामा धान, मकै लगायत बालीको व्यवसायिक खेती बढेसंगै हात्तीबाट जनधनको क्षति पनि बढ्दै गएको छ । यसअघि कहिलै नपुग्ने ठाउँमा समेत हात्ती पुगिरहेको अवस्थाले आहाराको खोजीका क्रममा हात्तीको उपद्रो बृद्धि भएको अनुमान गर्न सकिन्छ । हात्तीले प्रयोग गर्ने जैविक मार्गमा पुल, सडक लगायतका संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ । हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको छ । झापामा पछिल्लो समय हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि प्रभावित क्षेत्रबाट बसाइ सर्नेको संख्या समेत बढ्न थालेको छ ।
दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । राज्यबाट सुरक्षाको प्रत्याभूति नभएको भन्दै दक्षिणी ग्रामीण झापाली घना बस्ती भएका बजारतिर बसाइ सर्न थालेका छन् । जंगल नजिकका बस्तीमा प्रवेश गरी घर भत्काउने, बाली खाइ दिने तथा बोट विरुवा र जनवारमाथि आक्रमण गरी क्षति पुर्याउन थालेपछि हात्ती नियन्त्रण गर्न स्थानीय जाग्राम बस्नु पर्ने बाध्यतामा छन् । यस बाध्यता रोक्न प्रकृति संरक्षण कोष मार्फत प्रभावितलाई राहत दिने गरिएको भए पनि क्षतिको तुलनामा राहत निकै कम रहेको पीडितको गुनासो छ । राज्य पक्षले हात्तीको सुरक्षाका लागि भए पनि क्षतिपूर्तिको दायरा बढाउनु पर्छ । क्षतिपूर्ति भरणमा राज्य चुक्न गए अकालमा हात्तीले ज्यान गुमाउनु पर्ने परिस्थिति बढ्न सक्छ । पछिल्ला वर्ष वार्षिक रूपमा ३ देखि ४ वटा हात्ती मारिन थालेको अवस्थाले मानिस र हात्ती बिच निकै ठूलो द्वन्द्व रहेको प्रमाणित हुन्छ । विसं २०६७ देखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ८० जना मानिसले ज्यान गुमाएका छन् भने यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती पनि मारिएका छन् । यस्तो विकराल अवस्था रोक्न पनि सरकारले योजनाबद्ध काम अगाडि ल्याउनै पर्छ ।
हात्तीले बसोवासका लागि झापामा १५ हजार ८३१ दशमवल २४ हेक्टरमा ५९ वटा सामुदायिक वन रहेका छन् । दुई वटा कबुलियत वन (११३ दशमलव ६ हेक्टर), रतुवामाइ वृक्षरोपण आयोजना (२ हजार ८५३), एग्रो फरेष्ट्री प्रमोसन (९८ दशमलव ६) र स्काउट वन (१५ हेक्टर) क्षेत्रमा सहज चरिचरण गर्न पाउँछन् । रैथाने भन्दा चार गुणा बढी पाहुना हात्ती प्रवेश गर्ने झापामा चरन क्षेत्र कम हुँदा गाउँ बस्तीका अन्न बाली क्षतिको सामना गरिरहनु परेको छ । यस परिस्थितिको प्राकृतिक मार्गबाट निरोध गर्न नीतिगत अवधारणा सहित सरकार अगाडि बढ्नैपर्छ ।
