सम्पादकीय

प्राकृतिक विपत्ति रोक्न सवै जुटौं

सम्पादकीय
पछिल्लो पटक भोटेकोशी बाढीको वितण्डाले मानिसलाई सोच्न बाध्य बनाएको छ । खासगरी प्रकृतिलाई मानिसले नियन्त्रण गर्न नसके पनि सही रूपमा उपयोग गर्न सक्छ । प्रकृति मानवका लागि सुखमय जीवन पनि हो तर, मान्छे आफ्नो जीवनका रूपमा रहेको प्रकृतिमाथि अतिक्रमण गरेर विजय हाँसिलको दौडमा लाग्दा प्रकृतिले प्रकोपको स्वरूप धारण गर्ने गरेको छ । प्राकृतिक प्रकोप भन्नाले बाढी, पहिरो, वर्षा, खडेरी, हिमपात, हुरीबतास जस्ता कुराहरू पर्दछन् ।

प्राकृतिक प्रकोप मानिसहरूको बसमा हुदैन तर मानिसले चाहेमा यसको न्यूनीकरण गर्न सक्दछ । धनजनको क्षतिबाट जोगाउन सक्दछ । प्राकृतिक प्रकोपको ख्याल नगर्ने हो भने यसले धनजनको विनाश गरी मानव जीवनलाई तहसनहस बनाउँदछ । नेपालको सन्दर्भमा प्राकृतिक प्रकोपमा सबैभन्दा बढी जनमानसलाई दुःख दिने बाढीपहिरो प्रमुख रूपमा रहेको छ ।

त्यसपछि खडेरीका कारण हुने आगलागीले धेरै मानिसको धनजनको क्षति गर्ने गरेको छ । हरेक वर्ष हिउँद सकिने बित्तिकै खडेरी लम्बिने र आगलागीका घटना हुने गरेको पाइन्छ भने वर्षा लागेपछि बाढीपहिरोका कारण धेरै धनजनको क्षति भएका समाचार हामी सुन्दै आइरहेका छौं । यही भदौ १० गते रसुवाबाट सुरू भएको भोटेकोशी बाढीले आसपासका रसुवा, धादिङ र नुवाकोट जिल्लाका भौतिक पुर्वाधार विकासका सयौं संरचना ध्वस्त भएको अवस्था छ । आधारभूत ज्ञान हामीले ग्रहण नगर्दा हरेक वर्ष सयौंले ज्यान गुमाउने हजारौंले घरबास छोड्नु पर्ने, हजारौं रोपनी खेती योग्य जमीन सधैंका लागि गुमाउनु पर्ने विषम परिस्थिति सही रहेको अवस्था छ । यस्तो विपतजन्य अवस्था कम गर्न राज्यले पनि उचित योजना, नीति नियम निर्माण गर्न सकेको अवस्था छैन । योजनाबद्ध नीति लिएर राज्य अगाडि बढ्दै प्राकृतिक विपत रोक्न लाग्नै पर्ने समय आइसकेको छ ।

अत्यधिक जनसङ्ख्या वृद्धि, वातावरणीय सन्तुलनको अभावमा नेपालमा हरेक वर्ष अत्यधिक वर्षा तथा खडेरी पर्ने क्रम बढ्न थालेको छ । यस विषयमा हामी नेपालीले सजग र सचेत भएर सोच्न जरुरी भइ सकेको छ । त्यस्तै वातावरणीय सन्तुलनको अभावमा जताभावी हिमपात हुने र अनावश्यक हुरीबतास आउने क्रम पनि बढ्दो छ । यस्ता प्राकृतिक प्रकोपबाट बच्न, आउने सम्भावित खतराबाट बचाउन सुरक्षित बसाइको व्यवस्था गर्न जरुरी छ । यदि बसाइ सुरक्षित भएन भने मानवको जीवन र धनको क्षति हुन सक्छ भन्ने तथ्यलाई भुल्नु हुँदैन । अहिलेको बाढीबाट छुटकारा पाउन पहिलो चरणमा मानवीय क्षति र उद्धार मुख्य विषय बन्नु पर्छ ।

मृत्यु, बेपत्ता व्यक्ति, बगेका घर, पुल र सडक तथा घटनास्थलमा फसेका पर्यटकको अवस्थाबारे सचेत भएर राज्यले खोजी गरिदिनु पर्छ । दोस्रो चरणमा विपत्तिको वास्तविक कारण खोज्नु पर्छ । प्रारम्भिक रूपमा बाढी आउनुमा भूकम्प वा सामान्य पहिरोको सम्भावनाबारे चर्चा भए पनि वैज्ञानिक प्रमाणहरू सार्वजनिक हुँदै जाँदा हिमनदीको ठूलो भाग भत्किनु, चट्टान तथा बरफ खस्नु र त्यसबाट विनाशकारी बहाव सिर्जना हुनु सम्भावित कारणका रूपमा अगाडि देखिएकोले आगामी दिनका लागि सचेतना समेत खोजिन जरूरी छ ।

तेस्रो चरणमा जलवायु परिवर्तन र हिमाली जोखिमतर्फ केन्द्रित भएर हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमनदीको अस्थिरता, पहिरो तथा आकस्मिक बाढीजस्ता एकपछि अर्को जोडिने प्राकृतिक प्रक्रियाले भविष्यमा यस्ता विपत्तिको जोखिम बढाउन सक्ने विषय बहसको केन्द्रमा राखेर आगामी रणनीति तय हुनु पर्छ । हिमाली क्षेत्रमा यस्ता आकस्मिक र सीमापार विपत्तिबाट हुने मानवीय तथा आर्थिक क्षति कम गर्न नेपालसहित हिमाली मुलुकहरूले पूर्वसूचना, वैज्ञानिक निगरानी, जोखिम मूल्यांकन र उद्धार संयन्त्रलाई कति प्रभावकारी बनाउन सकिन्छ भनेर विस्तृत अध्ययन अति आवश्यक छ । रसुवागढीको विपत्तिले तत्कालीन क्षतिको मात्र होइन, बदलिँदो हिमाली वातावरण र भविष्यमा आउन सक्ने चरम प्राकृतिक जोखिमका विषयमा पनि गम्भीर बहस आवश्यक रहेको संकेत गरिसकेको छ । यसकारण पनि सरकारी निकाय जिम्मेवार भएर आगामी दिनमा आउन सक्ने प्राकृतिक विपत्ति न्युनीकरण गर्न जुट्नै पर्छ ।