हरिराम कमरेड पनि ड्रग्स ओसार-पसारकाे धन्धामै पाे थिएछ त !
व्यंग्यनारान पाँडे
माैसमी हास्य-व्यंग्य
पाँँडेकाे आँगनतिर छिर्ने गेटकाे ठीक बाहिर दुई थान तीस-पैंतीसे चुल्ठे र कमरेड हरिराम पुरेत बाजे गफिंदै स्वर उरालेर हाँसेकाे पाँडेले बार्दलीबाट देख्याे-सुन्याे । एकजना भूतपूर्व ‘क्याम्पस चीफ साहेब’-काे केही वर्षदेखि खाली रहेेकाे थाेत्राे घरलाई बीचमा दुर्व्यसनीहरूले उपयाेग गरिराखेका बेला अक्सर ती दुई थान चुल्ठेकाे त्यहाँ हुने गरेकाे चलखेल याे पाँडेले मात्र देखेकाे कहाँ हाे र ! ती दुई अहिले ‘लागू ओैषध दुर्व्यसनी’ सेवाबाट निवृत भइसकेका छन् भनिहाल्न पनि नसकिने वा हाेइनन् भनेर ढुक्क हुन पनि नसकिने उत्पात उत्ताउला छटा देखाइरहेका थिए । तर, सँधै अर्कालाई बाेल्ने माैकै नदिने अर्थात् ‘पाेल्दापाेल्दै उम्केकाे’ भने झैं पटटटट बाेल्ने – ती क्या त, उसले ‘बा’ भन्ने गरेकाे एउटा चर्चित वाचाल नेता जस्ताे, हरिराम आज कम बाेलेकाे र धेरै हाँसेकाे देखिन्थ्यो । ती के भनिरहेका थिए र हाँसिरहेका थिए भन्ने चाहिँ पाँडेलाई यकिन भइरहेकाे थिएन तापनि बार्दलीमा एक्लै बसिरहेका बेला परेकाले, ती तीनजनाकाे रमाइलाे पाँडेलाई पनि रमाइलै लागेकाे थियाे ।
दश-पन्ध्र मिनेट त्यसरी छिल्लिएपछि ती दुई चुल्ठे छुटे । र, कमरेड हरिरामले सरासर पाँडे भएनेर आएर कुर्सीमा बस्तै भन्याे -“रामरमाइला कुरा गरेर रिल्यास गराउन त मेरा फ्रेनहेरू उधुमै च्याम्पेन छन् । एता आइराखेका ट्याममा कैलु ब्यारीकाे दुकानमा छ्यास्स निक्सेर उसिनेका गाेडा चारेक अन्डाकाे नस्ता खाँदैथें, इ दाेडा साथी पनि पुगे । अनिखेर उँधेरले मेरै छेउमा बसेर कैलुसित एकेक खिली भनेर मागेर सल्काएपछि गन्दबड था भइगाे -ती दाेडाले कुन जिनिसकाे धुँवा फस-फस उडाउँदैछन् भन्ने । उँधेरका आँखा साना हुँदै गएसि गफ बढ्दै जानू नेचुरल कुरा थ्याे । तेसपछि तिनले पारि इण्डेतिर पनि झापाकै जैसा भामट कडा एस्पी पुलिसमा आकाले गर्दाउँदी ‘माल’ इज्जिलै पाइने सिझ्यान गएकाे हुँदा गाँजाले छाक टार्नु परिरएकाे पीडा बताए । तिनका भनाइ अन्सार आज्कल इण्ड्याका बाेडरिआ बजारका पान दाेगान, माेची र हजामका दाेगानहेरू,च्या दाेगान र कतिपए छाेडेर धेरैपए भइँमा बाेरा ओछ्या’र साकसब्जी बेत्ने दाेगानमा समेत इसारा गरेर माङ्दा लद्दी पाइने परिपरि र थरिथरिका डग्स पाइन छाडेछ बिचारा !तेसाे भकाले मैले नयाँ ट्याउटिसमा ‘माल’ पाएर सँद्दै कमाल गर्ण सकिने ट्याउटिस् भन्दै ल्याकाे क्या पाँडेजी !”
पाँडेले त्यसका कुरा सुनेपछि आङ जुर्काउँदै भन्याे -“तिमी पनि यश धन्धाका पुराना खेलाडी हाेउ कि क्या हाे ?”
उसले एकपल्ट नाक घ्वाँक्क उँभाे तान्याे र सायद घाँटीबाट पग्रिएर मुखमा आएकाे ‘माल’ घुटुक्क निलेपछि भन्याे -“क्यार्नी त अन्खेरी ? रभि लाम्छाने- बालिनहरकाे सर्खारले हामेरकाे रा’नीतिककाे पाेल्टिकल खेलेर गइन्द कमाइ गर्णे बेबसाएकाे चिलिम फर्का’र पिण्ड ख्वाइहाले ! र, मैले तुरन्ताकाे तु पाटीबड रिजाएन गरिहालें । एउडाे उनै बा मउसुपबड केइ हाेला र फेरि कम्रेटेली गतिबिदि गरुँला र पैला जैसै आफ्ना जेजेमानलाई निचाेरुँला भन्ने आस थ्याे । ताे आस पनि खै !…बा मउसुपलाई पनि दिपक भट्ठ र बिस्नु पउडेललाई खँदारेकै खाेरमा काेच्ने चर्चाे सुन्दैछु । अनि के गरिखानु त ?… अब्बकाे ट्याममा म मात्तै हाेइन, मैले जम्मेर कम्रेटी गतिबिदि गरेर खल्तीभरि काँचा रुप्पे टन्न हुने गरेकाे ट्यामका मेरा दाेस्तीहेरू समेत मै जैसाे भाेका’र निस्सास्सिनेवाला छन् केरे ! हेर्लाऊ नि अज्ज भाेलि-भाेलि !”
हरिरामकाे आनीबानी-बेहाेरा काटीकुटी उसले ‘बा’ भन्ने गरेकाे नेताकै जस्ताे अरिमठे छ भन्ने पाँडेलाई भलिभाँती थाहा थियाे । ऊ आफ्ना कुराले जितेर-पेलेर पनि उसकै अनुकूल बनाएर बखान्न सकिहाल्थ्याे । यसकारण उसलाई पन्साउने साेच्तै पाँडेले भन्याे -“कडा एसपीकाे कमाण्डमा प्रहरी सक्रिय भएकाे याे बेला ड्रग्सकाे काराेबारमा पक्रा परिएला भन्ने डर लाग्दैन ? पराैला नि झ्यालखानमा !”
उसले पहिला ओठ चुच्चाे पारेर लामाे “उस्…!” भन्याे र भन्दै गयाे -“खालै सार्छ याे नाथे सर्खारले !…तेसरी जाे पा’तेससँग जे पा’तेइ टपिकमा ‘पर्तिसाेद’ लिन थालाे भने त निक्सिजान्छ नि सडकमा याे सर्खार ढाल्ने जुलुस र टाेडफाेड । हामेरका ‘बा’-बड के भनिबक्सिँदैछ ? तेता पनि अलिक ध्यान-दिस्टी राखेर बाेल्ने गर न हओ पाँडेजी । म जैसाे जान्ने मान्छेले के भन्दैछ भन्ने नबुजी आँखा चिम्लेर बाेल्ने तपइँकाे बानी सुदार गर्ने गर हइ । एसरी आर्काकाे नउनारी गल्ने अन्करेक कुरा बाेलेर किन ओभ्भर जान्न ओजी भाका तपइँ ? “
उसले उल्टै चराइँदाे उपदेश छाँटेकाले पाँडेकाे कान तात्याे र ‘याे सिनाेलाई के काेट्याइरहनु !’ भन्ठानेर केही भनेन । उसैले एकछिन नाक काेट्याउँदै घाेरिएपछि भन्याे -“इण्ड्याका र नेपालैतिर ढुँकेर टन्न बसेका अप्धुल कलाम, सल्लिम अन्साडी, राेइमत सेक, रुब्बत रुइमारी, अभ्भु कि ढब्बु हुइस्यान, राेमत रम्मान र क्याति-क्यातिले उइ जिनिसकाे बर्खउँदेखरन् उत्राे बेपार-बिख्नेस गरिसक्ता मात्तै पक्डिने सर्खारसँग किन ड्राउनु परेकाे छ र ? मैले र ती मेरा फ्रेनहरले केइ मैनादेखुन् घर-बेबहार र फुर्मासी खर्च चलाउने सानाे खाले काम न गरिराख्या हाे । तीमद्दे म सिन्यार भकाले अग्वा गरेकाे हुँ । किन एसरी आरिस् गर्छाै हओ, सके आफै एसै धन्धामा लागेकाहरकाे गुरुप बना’र धम्माधम लाग न बरु ! के बेगारी बस्छाै !”
ऊ एकाेहाेराे भन्दै गयाे- “याे बिख्नेस गर्णे अनेकउँ ट्याउटिस् छन् । सर्भपर्थम उता इण्ड्या गल्गले, पानीटएङ्की, बतासी, खाेर्बारीतिर जाने । सर्भदित्ते एउडाे एक किलाकाे माछा किन्ने । सर्भतिर्त्य ताे माछालाई चाेक्टा नपारी भुँडी मात्तै चिरेर आन्द्राहेरू सप्पै खात्खुत्त झिक्न लाउने । सर्भतचाैथा डग्स माने चरेस-हिराेनी वा अन्ने मातक टपलेट-सुइयाहेरूकाे हाेल्सेल अड्डामा जाने । सर्भपाँचम् एति रुप्पेकाे फल्नाे माल याे माछामा लाेठ गर्देऊ भन्ने । अन्तखेरी कालाे प्लास्टिसमा माल पाेकाे पार्ने, माछाकाे खाली पेटमा हाल्ने अनि चिरेकाे चाेट गमले टाँसेर माछाकाे नकाटेकाे ठाउँभन्दा पक्का बनाइदिने गर्छ उसैले । अनित्याँड ताे माछाे हातमै तुन्द्रुङ्ग झुण्डाएर हल्लाउँदै प्ररी र ससस्रसँग भेट भए हाइ-हलाे गर्दै मेची पुलमाथिबडै भन्सारकै कराँसै-कराँसाे हुँदै सानसँग आउने । एता आउनासाथ ताे माल टापटिप-टापटिप बिकीजान्छ केरे, ट्यान्सिनै नट् नि । लु भन तपइँ नै अनि कता पक्रा पर्नु र तपइँ मलाई तर्छाउँछाै ? कथङकदाची माछा पाइएन भने साकसब्जी हाटमा जाने र लउकाे, फर्सी, म्यावा जे पाइन्छ तेइ किन्ने र सानाे चाेट पारेर चिराउने अनि भित्र्याम्स फ्याँक्न ला’र उसरी नै युज गर्णे नि ! अनि प्ररीहरले पत्ताे पाउन् न पक्रुन्… नाे पाेरिब्लेम ! … एस बेपारमा पाे छ त टु हण्डेड फाेर्टी-फाएब्टी परसिन नाफा ! हट्टामा ए’खेप एउडाे माछाे वा एउडा-एउडा फर्सी, काँक्राे वा लाैकाे, म्यावामा आउने ‘प्याचे माल’-काे नाफाले मलाई त झन्नै बार-पन्ध्रेक दिनलाई छेलाेखेलाे पुगिराख्या छ ।”
कुन्नि कसरी पाँडेकाे मुख थामिएन र फ्यास्स भन्याे-“यसरी ड्रग्स ओसार्ने ट्रिक भन्दै हिन न अनि प्रहरी-प्रशासनकाे चेतना नेपाल शाखा प्रमुख इन्द्र ओलीले थाहा पाए भने दश ठाउँ भाषण गर्ने टपिक बनाउँछन् अनि प्रहरीले तिमीलाई …”
उसले पाँडेलाई ओभरटेक गर्दै भन्याे -“एस्ता नाथे ट्याउटिस् सइकडउँ छन् हामेरूसँग, च्यान्जका च्यान्ज भइहाल्छ क्या ! भासन गाउनेहेरू गाउँदै हिन्छन् नि, इन्टेस् हुनेले सुन्छन् ।काेर्नाले सिरेस बेरामी मधउराेलाई झाँक्रीकाे झ्याङझ्याङमा इन्टेस् नभए जैसै हाे हामेरका लागि ओल्ली साहेपहरका भासन पनि । अनित्याँड… ती देख्याै न मेरा फ्रेनहेरू कस्ता पाखुरे र हेर्दै डरलाग्दा लट्टे-चुल्ठे छन् भन्ने ।…एएएए तपइँ नै लागेर पक्राउने पर्तिसाेद खेल्याै भने पनि नाे ट्यान्सिन ! भाेलि-पर्सि नै साे पर्तिसाेदकाे एगेनेसमा सडक तातेर हरिताल-टाेडफाेडमा उत्रिने विद्धार्थी-विद्धार्थिनी लगायत हाेल-टाेट्टल हामेरका गाहाक-गाहाक्नीकाे कत्राे जन-साघर छ हामेरका पच्छेमा ? झाँपा डिस्टिसमा मात्तै बीस हज्जार भइसके हामेरका गाहाकी भन्ने सर्खारी आँक्डा त मेडिआहरले नै भनिसकेका सुनेकै हाेउलाउ ! सर्खारले हेपेर हाेला, हामेरलाई साेद्दा पनि नसाेदी, हामेरका गाहाक-गाहाक्नी याे दस लाक जन्सङ्खे भ’काे जिलाँ फाएब्टी-सिक्टी थाउजेनभन्दा कम छ पाे भन्दाेर’छ ! थैट्, कस्ताे रेल्ला गरेकाे हओ ! छिः एस्ता फाेकट्या कुरा के गरिरनु हओ ! लाै म हिंडें पनि बरू ! तै बरू तै, एसाे ङुमफिर गरेर हामेरका बेपारकाे कुन आइटिमकाे खपत कति र’छ साे बुद्दै हिन्छु बजार गल्ली-गल्छिँडातिर फन्फनी, लाेफर चक्करै सै !”…
र, अरू पनि के-के भन्दै हरिराम हिंड्याे । पाँडेकाे कपालै हलुका भयाे र मनमनै भन्याे -” मान्छेलाई कुमान्छे बनाउने याे पापी-पाखण्डी धन्धाले महामारीकै रूप लिने लक्षण पाे देखायाे त हँ ? यसमा कमरेड पुरेत बाजे समेत पनि लागे भनेपछि याे धन्धामा ब्रेक लाग्ला के हँ ?”….
