असारे विकास बन्द गर
सम्पादकीय
नेपालको भौतिक पूर्वाधार विकासमा किन स्तरीय प्रगति हुन सकेन ? भन्ने प्रश्न निकै ठूलो बहसका रूपमा आइरहेको छ । यस प्रश्नको उत्तर खोज्दै जाँदा परिवर्तनका निकै लामा रेखाहरू पार गरेको नेपालको उन्नति सोचे अनुरूप भइरहेको भेटिदैन । मानव विकास होस् या भौतिक पूर्वाधार विकास समय अनुकुल हुन सकिरहेको छैन ।
सामान्य मानिसले पनि सहजै भन्न सक्छ, नेपालको भौतिक पूर्वाधार विकासको बाधक नीति र नेतृत्व बीचको तालमेल अभाव हो । नीतिले समयमै काम हुने निर्देशन जारी गर्छ भने नेतृत्वले आफू अनुकुल र व्यक्तिगत लाभमा केन्द्रीत विकास गतिविधिमा जोड दिइरहेको देखिन्छ । यसले गर्दा विकासका काम स्तरीय हुनेभन्दा झारो टार्ने शैलीमा अगाडि बढिरहेको देखिन्छ । साउनबाट सुरू हुने आर्थिक वर्षको खर्च गर्न पाउने अधिकार भौतिक पूर्वाधारका क्षेत्रमा आइपुग्दा बैशाख जेठमा स्थलगत कामको प्रारम्भ बन्न पुग्छ । अझ प्रष्ट भन्दा रकम खर्च गर्ने अन्तिम किस्ताको समयमा विकास निर्माणको प्रारम्भ र अन्त्य गर्ने प्रचलन निरन्तर स्थापित जस्तै छ । यस्तो कार्य विकास नभएर झारो टार्ने खेल मात्र भन्न सकिन्छ । यस्तै कारणले गर्दा नेपालको भौतिक पूर्वाधार विकास पछाडि परेको प्रष्ट छ । समय सकिने बेलामा कामलाई तीव्रता दिने तर समय रहुञ्जेल ख्याल नगर्ने प्रथालाई राज्य संयन्त्रले संरक्षण गर्दा कमसल पूर्वाधार बनिरहेका छन् ।
यो समय सधैं उस्तै रहँदैन भन्ने सत्यलाई नेपाली राजनीतिले मनन गरेर अगाडिको यात्रा तय गर्नु पर्ने थियो । संकल्प, दृष्टिकोण, एकता, सामूहिक चाल, मिहिनेत, त्याग र अन्तरविश्वास अनिवार्य बोक्नु पर्ने थियो । त्यसबाट शक्ति हासिल गरेर आत्मविश्वासलाई उचाइमा र अन्तरविश्वासलाई गहिराइमा जब राजनीतिले पुर्याउने अठोट गर्छ, तब देशले विकासको गति लिन्छ भन्ने भाव अहिलेसम्म नेपाली राजनीतिले नलिएकै कारण विकास आयोजनाका काम परम्परा जस्तै असारे झरीमा तीव्र छन् । दशकौंदेखिको यस समस्याले नेपालको विकास कागजमा जति राम्ररी भएको छ व्यवहारमा उतिनै कम्जोर अवस्थामा छ ।
माथिको कथनले भनेझैं समय सधैं उस्तै रहँदैन भन्ने भाव असारे विकास गर्ने राजनीतिले बुझेन । हिजो पनि नबुझेको अवस्था थियो भने आज पनि नबुभेकै हो भन्ने अवस्था छ । कार्तिकदेखि बैशाखसम्म सुनसान हुने विकासका काम जेठको रापतापको घामसँगै क्रमशः तीव्र हुन थालेपछि असारमा भ्याइ नभ्याइ गतिमा विगतदेखि वर्तमानसम्म उस्तै छ । समय निरन्तर परिवर्तनशी छ अनि त सन्सारले सजिलै उन्नति गरिरहेको हो भन्ने सम्म राजनीतले बुझेको छैन । तर पनि सत्तासिनहरू परम्परा भत्काएर हिजोका सवै गल्ति आजबाट सत्तामा सच्याइरहेका छौंं भन्न भने छोडेको अवस्था छैन ।
विगतभन्दा वर्तमान अन्तर रहेको उदाहरण नेपाली राजनीतिक संरचनामा आएको आमूल परिवर्तनलाई हेर्दा पनि थाहा हुन्छ । एकात्मक राज्य संरचनाबाट संघीय संरचनामा रूपान्तरण समयले ल्याएको परिवर्तन हो । संघीय लोकतान्त्रिक राजनीतिको मर्म र धर्म बुझ्न सत्ता राजनीतिमा पदासीनहरूलाई निकै समय लागिसकेकाले अहिलेसम्म अभ्यासकाल नै चल्दैछ । तर, कतिपय समयका कतिपय घटनापरक विषय हेर्दा र निरूपण गर्दा उनीहरूमा यो व्यवस्था फैलने गरी ‘चिल्लो पात’ देखिंदैन । पार्टीमा चलखेल गर्दाकै मानसिकता विद्यमान पाइन्छ । संघीय लोकतान्त्रिक व्यवस्थाको विभिन्न तहको जिम्मेवारीलाई आफ्नो पार्टीको या समूहको अनुभव र आदर्श लादेर ‘सबैको हुन’–बाट मोड दिइरहेको पाइन्छ ।
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका यस्ता क्रियाकलापले आम अपेक्षाको पूर्ति संभव हुँदैन । हिजोका सत्ताधारी खराव भए भनेरै आज नयाँ दललाई बलियो जनमतका साथ सत्ताको चावी दिएका नेपालीले हिजोकै विकृति विसंगति ल्याउने सरकार खोजेका थिएनन् । यसकारण पनि सरकार असारे विकास बन्द गर । हिलोमा कमल फुल्छ भन्दैमा मकैको घोँगो फल्दैन । त्यसकारण असारमा गरिने काम दीर्घकालिन नहुने हुँदा अबिलम्ब बन्द हुनै पर्छ ।
