स्वतन्त्र अस्तित्व बचाउनु नै राष्ट्रवाद हो
सम्पादकीय
स्वतन्त्र अस्तित्व बचाइरहेको राष्ट्रको जीवनमा अनेक उतार–चढाउ आउनु स्वाभाविक मानिन्छ । तर, हाम्रो जस्तो भूपरिवेष्टित राष्ट्रका लागि कुनै पनि उतार—चढाउले अतिक्रमणको चिन्ता बढाउने गर्दछ । त्यसमाथि राष्ट्रको नेतृत्व गर्नेहरू नै अस्थिर भइदिए भने राष्ट्रप्रेमीहरू निकै चिन्तित हुने अवस्था आइ—पर्दछ । बृटिश सामराज्यले विशालकाय भारतलाई दास बनाइराखेको कालखण्डमा पनि यो सानो, विपन्न र पछौटे राष्ट्र भनिएको नेपालले सार्वभौम र स्वतन्त्र राष्ट्रको पहिचान बचाइराखेको इतिहास छ ।
यस कारण पनि नेपालले दक्षिणतिरको विश्वास निष्कलंक अनुभूत गर्न पाएको थियो । सन् १९४७ मा भारत स्वाधीन भएपछि त्यो सौहार्दपूर्ण मैत्री सम्बन्ध अझ प्रगाढ होला भन्ने सबैले सोचेका थिए । तर, त्यसो भएन । सन् १९४८ मा हैदरावाद निजाम अधीनमा ल्याएपछि उन्मादित भएर स्वाधीन भारतका प्रथम गृहमंत्री सरदार बल्लभभाइ पटेलले ‘अब नेपाललाई पनि अधीन गरिहाल्नु पर्छ’ भनेर भारतीय चपाउने दाँत देखाएयता लगभग हरेक परिवर्तित सत्ता–कलाखण्डमा भारतले नेपालतिर फिजी, भूटान र सिक्किमलाई हेर्ने नजर नै पार्दै आइरहेको छ । यसकारण पनि यही असन्तुष्टिको धरातल टेकेरै शायद आज नेपाली मनहरू भारतीय सरकारका कथनी र कर्मलाई केलाई–केलाई हेर्न थालिरहेका छन् । कुनै सारभूत कुरामा शंकाको संकेत देखिनासाथ हरेक घटना–परिघटनामा झस्किनु त नेपालीको स्वाभाविक मानव मनोविज्ञानै बनिसकेको छ ।
आज नेपालको बहुप्रतिशत नागरिकका जीवन–व्यवहार अझ चहर्याउने स्थितिमा पुगेको अवस्था छ । शासक आफू जहाँ, जुन र जस्तो स्रोत–साधनले सम्पन्न जीवन यापनको कुण्डलीमा मस्त छ, उसका शासकीय आँखाले समस्त शासित नागरिक समुदाय पनि त्यस्तै जस्तो मस्तीमा छ भन्ने सामन्ती सोच अहिलेको शासक वर्गमा पनि भएको अनुभूत हुन थालिसकेको छ । सत्तामा नपुगुञ्जेल विदेशी दास मनोवृत्तिको राजनीतिमाथि धारेहात लगाउने दल सत्तारोहणसंगै विदेशी हस्तक्षेपलाई परेट खेल्ने मैदान प्रदान गर्न हतारिने प्रवृत्ति विगतदेखिकै रोग हो । अहिलेको सरकारका कतिपय कार्यशैलीले दिन थालेको संकेत पनि त्यस्तै त्यस्तै छन् । सरकारको नेतृत्व गर्नेको बोली छैन तर, भरौटेहरू क्रमभंग भनेर विकृतिको गीत गाउन थालिसकेका छन् ।
अहिले भग्न र अस्तव्यस्त स्थितिमा रहेको यो राष्ट्रलाई नेता–नायक र अगुवाहरूले आफ्ना मृदुल वचनका माध्यमबाट छरिने सपनामा छोपिरहेको अवस्था छ । उनीहरूले स्वेरकाल्पनिक भविष्यरूपी धुस्सा ओडाएर सुताइराखेका छन् । राज्यसत्ताका कुर्सीमा आसीन सबै समृद्धिका रमाइला–रमाइला गीत गाइरहेका छन् । कागजी स्वप्नील विकासे भासमा देशको वास्तविक समृद्धिको विश्वास र आश स्वयम् नाश भइरहेकै छ । खाइजिलोको मेलोमेसो गुम्दै गाएर आप्रवासीको भीडले ज्याला–मजदूरी पनि खोसिँदै गएर निसासिएका निम्न वर्गीय नेपालीले ठूल्ठूला आयोजना बन्ने, नेपाली पानी–जहाज समुद्रमा तैरिने, उत्तर र दक्षिण दुवैतिरबाट रेल आउने इत्यादि–इत्यादि सपनाका महलहरू सुन्दै आए । विदेशमा दास बन्नु पर्दैन ।
स्वदेशमै समृद्धि पाइन्छ भनेको पनि सुनिरहेकै छन् तर, बाँच्नका लागि विदेशमै ज्यान बेच्ने दिन बढ्दो छ । यी र यस्ता समस्यामा अल्झिरहेका सर्वहारा श्रमजीवि नेपालीले नेपालमा समृद्धि ल्याउने कुरो कसरी बुझुन् ? प्रधानमंत्री, मंत्री र सत्तापार्टीका सांसदहरू जतिसुकै बर्बराए पनि ती बर्बराहट एउटा कानबाट भित्र पस्नासाथ अर्को कानबाट बाहिरिने परिपाटी छिप्पिइसकेको छ । कोही कसैसँग डराउने गर्दैनन् । आफू आफ्नै कमजोरीको पर्दाफास हुने डरले आफू आफै डराएका छन् । रात्रीकालीन फेसबुकको अक्षरले भ्रष्टाचार हटाएर राष्ट्रवाद जन्माउँछ भन्ने कसैले विश्वास गर्ने अवस्था छैन । छिमेकी भारत सरकारले गे्रटर भारतको नक्सा टाँस्दा नेपाल सरकारले ग्रेटर नेपालको कुरो किन गर्न नसक्ने त ? छिमेकले जन्माएको उतार—चढाउ छिचोल्न सक्नु नै राष्ट्रवाद हो भन्ने सरकारले नबुझेको हो कि ? बुझ्न बाँकी छ । लिपुलेक—कालापानीमा छिमेकी भारत र चीनले व्यापारको बाटो बनाइ सके तर सरकार रोक्ने कुटनीतिमा पुग्नै सकेको छैन ।
