समाचारस्थानीयस्वास्थ्य

समुदायको अध्ययन गर्दै पाथिभरा नर्सिङ कलेजका विद्यार्थी

भद्रपुर । प्रयोगात्मक ज्ञान अन्र्तगत भद्रपुर ७ स्थित ओम साई पाथिभरा नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरू पढ्दै समुदायको समस्याको अध्ययनमा जुटिरहेका छन् ।

नर्सिङ विषयमा अध्ययन गरिरहेका ४० जना छात्र छात्राहरू मध्ये २० जनाले परियोजना कार्य अन्र्तगत सामुदायिक स्वास्थ्यका क्षेत्रमा स्थलगत अध्ययन गरी आर्थिक, सामाजिक, लैंगिक अवस्था र सरसफाई, चेतना स्तरलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेका हुन् ।

छात्र छात्राहरूले यस पटक भद्रपुर ६ बंगाली टोललाई अध्ययनको केन्द्र बनाएर एक महिनायता गरिरहेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानकर्ता वर्षा राई, अनिसा लुईटेल र गंगा डाँगीले दिएको जानकारी अनुसार परम्परागत जीवन शैली र आधुनिक सुविधा सम्पन्न जीवन शैली बीच आर्थिक, सामाजिक र स्वास्थ्य जीवनमा अन्तर पाइएको छ । नमुना छनौट विधि अपनाएर एक सय परिवारका ५ सय ८१ जना स्थानीयको अध्ययन गर्दा आधुनिक प्रविधि अनुसारको जीवन शैली ८० प्रतिशतमाथि तथा परम्परागत जीवन शैली २० प्रतिशत हाराहारीमा रहेको छ भने स्थानीयको अध्ययनको निष्कर्ष अनुसार बदलिदो जीवन शैली र बढ्दो विषाक्त खाद्यन्नका कारण समाजमा नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव बढाउन थालेको छ ।

भद्रपुर ६ स्थित शारदा आधारभूत विद्यालयमा कलेजद्वारा आयोजित सामुदायिक स्वास्थ्य कार्यक्रम अन्र्तगत स्वास्थ्य चेतना कार्यक्रम एवम् निशुल्क एक दिने आँखा जाँच स्वास्थ्य शिविर समेत सम्पन्न गरिएको थियो ।

विद्यार्थीहरूले स्वास्थ्य जीवन शैलीका लागि आवश्यक विभिन्न खाद्य पदार्थ, औषधी लगायतको निर्माण, उपयोग बारेमा विविध जानकारी दिँदै सामग्री प्रदर्शनी समेत गरेका थिए । आँखा जाँच स्वास्थ्य शिविरमा विद्यालयका विद्यार्थी लगायतले सयौं स्थानीयले लाभ समेत लिएका थिए भने प्राविधिक तथा विशेषज्ञ सेवा ओम साई पाथिभरा अस्पतालका डाक्टरहरूको रहेको थियो ।

विद्यार्थी नतशा राजवंशीको सभापतित्व रहेको कार्यक्रमको उद्घाटन अस्पतालका निर्देशक बालकुमार पोखरेल तथा कलेजकी प्रिन्सिपल उपमा शिवाकोटीले सम्युक्त रूपमा गरेका थिए भने सहजीकरण विद्यार्थी आयुष लामिछाने र अञ्जली भट्टराईको रहेको थियो । कार्यक्रममा विद्यार्थीद्वारा विविध चेतना मुलक नृत्य तथा नाटक समेत प्रदर्शन गरिएको थियो ।