आँधीहुरी आउन सक्ने भन्दै धनकुटामा सशस्त्र प्रहरीको माइकिङ
शक्तिशाली आँधी, असिना र चट्याङको उच्च जोखिमका कारण सशस्त्र प्रहरीले बजार क्षेत्रमा माइकिङ गर्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।
काठमाडौँ — जल तथा मौसम विज्ञान विभागको चेतावनीपछि धनकुटामा स्थानीय प्रशासनले सतर्कता सूचना जारी गरेको छ। विभागले शुक्रबार र शनिबार धनकुटा, धरान र विराटनगर लगायतका क्षेत्रमा शक्तिशाली आँधी, असिना र चट्याङको सम्भावना रहेको जनाउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
विभागका अनुसार हावाको गति प्रतिघण्टा ११९ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। बदलिँदो मौसम प्रणालीका कारण केही दिनसम्म मेघगर्जनसहित चट्याङ, हावाहुरी तथा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको जनाइएको छ।
सशस्त्र प्रहरी बल नेपालअन्तर्गत छिन्ताङ गुल्म धनकुटाले जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन बजार तथा आसपासका क्षेत्रमा माइकिङ सुरु गरेको छ। गुल्मपति प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देलका अनुसार धनकुटा बजारसँगै मूलघाटस्थित बेस क्याम्पबाट समेत सूचना प्रवाहका लागि टोली परिचालन गरिएको छ।
चट्याङ पर्ने सम्भावना भएका बेला खुला ठाउँ, खेतबारी, डाँडा तथा अग्ला स्थानमा नबस्न र एक्लो रुख, बिजुलीको पोल वा टावर नजिक नजान विभागले सुझाव दिएको छ। सम्भव भएसम्म घरभित्र सुरक्षित स्थानमा बस्न तथा विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ। स्रोत : ekantipur.com
